१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

प्रणयिनी (भाग-२)



स्मृतिको उडानमा माइतिघरको आँगन

पहिले, विहापछि चेलीको रुपमा चाडवाडको खुशी साट्न बेलाबेला माइत जाने गर्थेँ । यसपाली बेदनाको ज्वाला सेलाउन गएकी थिएँ, मान्छे हराएको सूचना बोकेर । अन्यौलताको चक्रव्यूह जस्तै । दोश्रो दिनको प्रभात । सूर्य किरणको स्पर्शले धर्ति हाँसेकी समय । मेरो छोरा अबोध आलोक,मावली घरका दाइबहिनीहरुसंग आगनमा बुरुक बुरुक उफ्री,उफ्री खेलिरहेको थियो । कहिलेकाँही बाबुको स्मृति खोतले पनि अहिले समवय आफन्तीहरुसंग बालसुलभता साट्नमा अभ्यस्त थियो । तिनीहरुको मैत्रीपूर्ण भेटको बाल उमङ्गले मलाई थाहै नदिई उडाएर मेरो ओइलाएको जिन्दगीलाई बालविगतको मोहपाशमा पु¥याएछ ।

कथाकार

ढाँक्रेटोल देखि खुर्सानीबारीसम्म लमतन्न सुतेको दैलेख जिल्ला सदरमुकामको डाँडो । वीचमा ढुङ्गा छापेको सडक, दायाँ बायाँ गुजमुजिएको कमिलाको ताँती जस्तै डाँडाभरि छापिएको मन्दिरै मन्दिरको मानव वस्ती, “दैलेख बजार” । त्यही सदरमुकाम बजारमा हाम्रो विवाह पश्चात कमलले मलाई भित्राएका थिए, पत्थरले छाएको पहाडी तीनतले घरमा । समर्पणको मन खोलेर दुलही भेषमा म भित्रिएकी थिएँ, मेरो जीवनको नयाँ संसारमा । भित्राउने र भित्रिने पितृसत्तात्मक संस्कारको बुइ चढेर ।
त्यही बजारको घाँटीनिरबाट बायाँ हात पसारेर सुतेको थियो, अर्को लामो डाँडो किमुगाउँ । चलनचल्ती भाषामा किउँगाउँ । त्यसैमा झुण्डिएका थिए,नयाँ गाउँ,जार्जेखोला,नाउलीदेखि सिमाडासम्मको गाउँ । त्यसैको पल्लो पट्टी महावु हिमाल छेउको उद्गमबाट बायाँ दायाँ पाखाका मूलहरुबाट निस्किएका खोल्साहरुलाई समेट्दै आएको लोहोरे खोलो । बर्खामा बैंसालु उन्मत्त, ताण्डव नृत्य गर्दै वहने, तर शरदको शीतसंग मित लाएर सुत्ने लोहोरे खोलासम्म पसारिएको किमुगाउँ डाँडो । ओल्लो पट्टी काखैबाट निस्किएको सानो गहतारी गाउँ हुँदै ओरालो हिडेको सर्प जस्तै झर्ना,ताल,तलैया हुँदै खोल्साबाट खोलामा परिणत भएको ज्यामिर खोली । ती ज्यामिर खोली पनि मोटाउँदै फस्टाउँदै त्यही लोहोरेमै समाहित भएकी थिइन् ।
आधा शरददेखि आधा गृष्मसम्म लोहोरेको विश्रामकाल हिँउदमा सिनो ढुकेको गिद्धको बथान जस्तै,छुचुन्द्राको ताँती जस्तै नदीभरि घट्टहरुका ताँती हुन्थे । हाम्रा अग्रज पुरुष,महिलाहरु गहुँ,मकै पिन्न त्यहीँ जान्थे । कहिलेकाँहि हामीहरु पनि जान्थ्यौं, उहाँहरुको साथमा ।
त्यहाँ अलि ठूला माछा पाइन्थे । ठाउँ हेरी कुनै ठाउँमा द्वाली थुन्ने, कोहीठाउँमा ढडिया थाप्ने र अधिकांशतः जाल खेल्ने गर्थे,वयस्क पुरुषहरु । पिसान गर्न बाँकी अन्नहरु घट्टालुकै जिम्मा छोडेर जान्थे,मत्स्य शिकारीहरु ।

त्यो हाम्रो किउँगाउ, त्यहाँदेखि उत्तरमा खुर्सानीबारी, सोत,ग्वाती,छान्ना हुँदै महाबुसम्मको भाषाको जरो समातेको,आधाभन्दा बढी दैलेखको प्रतिनिधि किउँगाउको भाषा । ती उत्तरका भाषाहरु भन्दा अलि परिमार्जित,बजारको पूर्वीय भाषाहरुसंग मिल्दोजुल्दो थियो ।

हेमन्न्तले सितेइलो धर्तिमा पाइला टेक्ने वित्तिकै अरु छिमेकी गाउँले जस्तै हाम्रो गाउँबाट मेरा बा लगायतका गाँसिएको र बोलीका नातेदार अधिकांश गाउँलेहरु समूह बनाएर हाट जाने गर्नु हुन्थ्यो । जुटको जाली बुनिएको निगालाको डोकोलाई जुरुक्क उठाएर घँगारुको लट्ठीले पिँध ठोक्दै हटारुहरुको प्रस्थान हुन्थ्यो,नेपालगञ्जलाई गन्तव्य बनाएर । डोकामा दुई दुईवटा घिउको टिन र पाएसम्म कटुस,चिराइतो,रिठा,गिठा आदि केही जरिबुटीहरु र आफूलाई पन्द्र दिनलाई पुग्ने एक थैलो राशन समेत हुन्थ्यो,डोकोमा । घिउ र जडिबुटीको बिक्रीबाट बर्षभरि पुग्ने नून, लत्ताकपडा, तामा पित्तल, काँसका भाँडाहरु र हामी केटाकेटीहरुलाई फुरुङ्ग पार्ने गुँडहरु ल्याइदिनु हुन्थ्यो,बाहरुले हाटबाट ।
हाटको गन्तव्य नेपालगञ्ज पुगेपछि खरिद विक्रीको काम सकेर बजार घुम्ने सिलसिलामा मेरा बाले देख्नु भएछ, त्यहाँको मङ्गलप्रसाद स्कूल । मङ्गलपसाद भन्ने एकजना व्यक्ति (शिक्षक)ले आफनै जग्गा दान दिएर स्कूल बनाएका रहेछन् । उनै दाताको नामबाट स्कूलको नाम मङ्गलप्रसाद राखिएको रहेछ । त्यसैबाट मेरा बालाई प्रेरणा मिलेछ, आफूले पनि कीर्तिको लागि स्कूल खोल्ने । जुन कीर्ति आफूले संसार छोडेर गएपछि पनि नाम बनेर बाँचिरहोस । भानुभक्त बन्न नसके पनि घाँसी त बनुँ भनेर ।

स्वाध्यायनका ज्ञानी मेरा बा भन्नु हुन्थ्यो–
“शून्यता, नश्वर जीवनको गन्तव्य भए तापनि कर्मण्यता मानव जीवनको सार्थकता हो ।”
त्यसैले जीवनमा केही उत्तम काम गरेर मृत्यु परान्त इतिहासको पाना वा समाजको स्मृतिकुञ्जमा बाँचिरहुँ भन्ने धारणा थियो शायद,उहाँको । अनि त्यही कर्मनिष्ठतालाई मूर्तता दिन हाम्रो गाउँमा जनता प्राथमिक पाठशाला स्थापना गर्नु भयो,मेरा बाले । रङ्ग फेर्दै हिडेको समय सापेक्ष विद्यालयले पनि काँचुली फेरेर अहिले माध्यमिक हुन पुगेको छ । हामी पाँचसम्म पढ्दा त्यो प्राथमिक नै थियो । हामी– कमल,विमल,म, कुले,वसन्ते रामे,भक्ते आदि ।
पहिले हाम्रो गाउँमा छोरी र दलितलाई पढाउनु भनेको अलच्छिनको बास थियो । सामन्ती संस्कारले भिराएको अन्धविश्वासको स्थिति । तर वैदिक ज्ञाता मेरा बाले त्यसलाई चिरेर आफनो पाठशालामा भेदभावको बन्धन छिनाएर समानताको बिउ रोप्नु भयो, दलित भनिनेहरुलाई भर्ना गरेर अभिजात भनिनेहरुलाई चुनौति दिँदै । कथित दलित वर्गहरु हाम्रो बादेखि प्रफुल्ल थिए, एउटा सामन्ती समाजद्वारा दमित चिन्तन परास्त भएकोमा ।

अनि हामीहरु सहपाठी पनि भयौं । उसो त हाम्रो बालखेल प्राकृतिक थियो, अङकुशविहीन थियो, प्रेमिलो थियो, रङ्गिलो थियो,उद्दण्ड पनि थियो,कहिलेकाँहि घुस्सम घुस्सा चले तापनि ।
म सानी छँदा आमाले मलाई प्रायः काम गर्न सिकाउनु हुन्थ्यो । पढाइलाई दुत्कार्नु हुन्थ्यो । भन्नु हुन्थ्यो–
“अक्का घर वियाअरि जान्या जातले काँहि पड्डा हुन् त ? विआअरी गयाछि काम अन्न सकिन्यै भन्या तेरी सासुले ठुङया ठुङ्यै अरली, काम अन्ने ढङ्ग नाई, यइथी अल्छिनीले क्यारीन अरिखाली । त्यैभैकन छोरीका जातले माइतैमा काम सिक्नु पड्डोछ भन्या हो”। मेरी आमाको माइत अलि माथि हिमाली गाउँमा भएकोले उहाँको भाषा अलि अपरिमार्जित थियो,विशुद्ध आदि खस भाषा ।
मेरी आमाको चिन्तन, विहा गरी अर्काको घर जाने छोरीले अक्षर भन्दा काम जानेको हुनुपर्छ । महिलाले चुलोचौको देखि लिएर गृहस्थीका अधिकांश कामका भारहरु धानेर बुहार्तन निभाउनुपर्छ । अन्यथा अपजसको बाछिटाहरु माइतीमै उछिट्टिएर आउँछन् । त्यसमा पनि बिशेषतः त्यो बाछिटाले आमालाई नै भिजाउँनेछ, ‘छोरीलाई नसिकाएकी असभ्य आमा भनेर’भन्ने उहाँको आशय थियो । उहाँले त्यही पुरातन संस्कारको पहिरन मलाई भिराउँदै हुनुहुन्थ्यो । वस्तुतः यो उहाँको मात्र चिन्तन थिएन । शिक्षाको उज्यालो नपस्दाको चैतन्य अभाव संस्कृतिलाई उहाँले उजागर गर्नु भएको मात्र हो ।

छोरा भए बाबुको काँध,छोरी भए आमाको काँध थाम्ने, पढेदेखि छोराले मात्र पढ्ने,छोरीले घर मात्र धान्ने भन्ने आमाले बोकेको रुग्ण संस्कृतिलाई झटारो हान्दै बाले मलाई स्कूल भर्ना गर्नु भएको थियो–
“तुलाई क्या था? छोरी पढी भन्या झन राम्रो काम अरली । उसले आफना छोराछोरीलाई जान्ने बनाउली,उइखा छोराछोरी पढीगुनी राम्रो भया,भोली ठूला मान्छे बनलान्, नाम दाम कमाउलान् भन्न्या कुडा तुलाई क्या था ? कतिका छोरीहरुले पढिकन ठूलो नाम कमाएइछन् । अर्को कुडो छोरी ज्ञानी भया दुलाहा राम्रो पाउली,उइखो घरबार राम्रो होला । अहिले दशसम्म नछुटाइकन पढाउन्या हो । तै पछि देखाजाला ।”

मेरो बाको उद्देश्य मलाई दशसम्म पहिले पढाइहाल्ने । त्यसपछि उमेरले घरबार खोजेपछि विहा गरिदिनु पर्ला । तदुपरान्त घरको राय अनुसार पढाईको गति निर्धारण होला भन्ने उहाँको धारणा थियो होला ।

रोमाञ्चित बाल्यजीवनः

रङ्ग फेरेर हरियो हुन लागेको पालुवा उमेर,हाम्रो । मेरा बाले खोल्नु भएको प्राथमिक विद्यालयमा हाम्रो शिक्षा आरम्भ । कमल,विमल,म प्रणयिनी,,कुले,सन्ते, विष्ना,दिपा, लक्ष्मी,सरस्वती,बले आदि कथित बाहुन देखि कथित दलितसम्म,सर्वजात सम्पन्न समाबेसी रङ्गिलो रोमाञ्चकारी बाल उद्यान,हाम्रो ।
अन्य दिन स्कूलको चौरमा हुने हाम्रो खेल । प्रायःशनिबारे छुट्टीको दिन,जलक्रिडाको दिन । किउँगाउबाट गहतारी हुँदै हामीहरु गहतारीको खोलामा पस्थ्यौं, लुगा झोलामा कोचेर,कच्छीको भरमा । अद्र्ध नग्न रोमाञ्चक जलक्रिडा,हाम्रो । माछा मार्दै, पौडी खेल्दै, रम्दै रमाउँदै,घुर्की,हाँसोको व्यङ्ग वासनाहरु छर्दै, सुङदै ज्यामिर खोलीसम्म पुगेपछि सबैले मारेको माछा जम्मा गथ्र्यौं । अनि पर्याप्त भएमा ठूला माछाजति भाग लगाएर सानो बुट्यानको हाँगा भाँची त्यसमा उनेर आ–आफना घर लैजान्थ्यौं भने साना माछा जति कौवाले गुड लाउने झिँजा बटुलेर त्यहीँ पोलेर खान्थ्यौं ।
त्यसपछि बजारको डाँडामा घाम पुग्न करीब पाँचसल्ली जति बाँकी छँदा वा अपराह्णको करीव तीन–चार बज्दा उकालो चढ्थ्यौं । माछा मार्दा खिराको दूधको बिषादीहरु प्रयोग गर्दा साना भुरा माछा र अन्य अखाद्य जीव पनि मर्ने भएकोले हामी त्यस्तो प्रयोग गर्थेनौँ ,अरु कसैले गर्ने गरेको देखे पनि ।

उमेर हाम्रो अलिकति माथि तल भएपनि लिङ्ग हाम्रो फरक थियो । जात हाम्रो फरक भनिए पनि रगतको रङ्ग एउटै थियो । अनुहारको रङ्ग फरक भए पनि भावनाको रङ्ग एउटै थियो । मानौं त्यो हाम्रो बालजगत आदिम साम्यवाद थियो, न जात, न भात,न औकात,न वर्ण,न वर्गभेद ।
परिवेशको सामाजिक संस्कार धमिलो भए पनि हाम्रो बालसंसार सङ्गलो थियो,कञ्चन । घृणा,इष्र्या,कुण्ठारहित । प्रेममय ।
करीब पाँच बर्षे उमेरदेखि हाम्रो त्यो रमाइलो जलक्रिडा सप्ताहमा एकपटक शनिबार हुन्थ्यो,बाँकी दिन आफनै गाउँको स्कूलचौरमा ,भकुण्डो,डण्डीवियो आदिमा । अग्रज पुस्तादेखिको निरन्तरता ।

ओरालो हिडेको सर्प जस्तै, झर्नाबाट झर्दै तलैयामा सुत्दै सुसेलिदै हिडेको ज्यामिर खोली । सुतेको नयाँ बजारको काखी अर्थात किउँगाउ डाँडाको शिरमा ज्यामिर खोलीकै उद्गम (शिर) थियो भने पुछारको मिलन लोहोरे खोला । मूलबाट–कुलो, कुलोबाट–खोलो र खोलोबाट नदी हुँदै, नदीबाट सागर हुने पानीको कर्म–धर्म । महाबु हिमालको छेउछाउमा कुल (मूल)भएको लोहोरे खोलो ।
हाम्रो गाउँकी विस्नादि (विस्ना दिदी) हामी सबै भन्दा सिनियर र रसिली,हँसिली,नसिली थिइन्,जिस्किने, जिस्काउनमा माहिर । खेल्दाखेल्दै जिस्किदा जिस्किदै कहिलेकाँहि केटा,केटीहरुको धोती पेन्टी तानेर गललल हँसाउथिन । कसैलाई रुवाउने कसैलाई हँसाउने गर्थिन । यस्तै हाँस्ने हँसाउने गरेर भरपुर मनोरञ्ञ्जन र स्वास्थ्य लाभ लिन्थिन्, विष्नादि । यही उपक्रमलाई अरुले पनि विस्तारै अनुसरण गरिरहेका थिए, हाँस्ने,हँसाउने बाल मनोरञ्जन र माछा मार्ने क्रम चलिरहन्थ्यो ।
एकदिन,हामी दुवाली थुनेर माछा मारिरहेका थियौ ं। विष्णादिदीको हातबाट एउटा माछा फुत्किएर मतिर सोझियो । उनले भनिन्–“एइ, माछो फुत्किकन आयाछ नि, तेरा कुरौन पसला, छोपेइ” । म अलमलमा परेँ । मैले भनें–कहाँछ मेरो कुर ? उस्तै भन्छिन् यिनी… । उनले भनिन्–“ त्यसो भया पछि थापाउलेइ हुन्दे ऐल”। म रनभुल्लमा परेँ । मेरो जिज्ञासा बरालियो ।
यस्तै यस्तै हसिलो,रसिलो विनोदी प्रेमखेलको आनन्दमा हामी डुब्थ्योैं । त्यो अज्ञात बाल संसारमा उच्छृङलता थियो, कामुकता थिएन । रोमाञ्चकताता थियो,कुटिलता थिएन । पे्रम थियो,इष्र्या थिएन । मेल थियो,फुट थिएन । कति रमाइलो बाल संसार,हाम्रो ।

झर्नाबाट झरेर स्थिर भएको शान्त तलैयाको वक्षस्थलमा हामी छप्ल्याङ्ग छुप्लुङ्ग गथ्र्यौं । त्यस रमाइलो उर्वर बाल्योद्यानमा कमल र मेरो प्रेमको बिउ छरिएको थियो । जीवन रुपी बाली ।

क्रमशः

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ९ : २६ बजे

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।