८ बैशाख २०८१, शनिबार | April 20, 2024

मिलन



खोला वारि–पारी कमला र मेरो गाउँ । वीचमा बर्षा ऋतुमा कहिलेकाँहि उर्लिए पनि अधिकांशतः सुतेको जंङघारे खोला । गाउँको सामाजिक सम्बन्धको माध्यम– घट्ट, माछा र नातागोलाको बाक्लै । हाम्रो पारिवारिक सम्बन्ध, मालिक र बालिघरे मिजारको रुपमा पुस्तैनी ।

फलामे ज्याभलहरु–कोदालो,कुटो, फरुवा, खुकुरी आदि निर्माण, सिप बन्धकी मात्र नभएर मौसमी कृषि पाटामा उनको हलोसंग कुस्ती खेल्नु पनि मेरा बाको नियति । ती सबै काम बापत पाउने चाडवाडमा केही खर्च र सामान्यतया बर्षको दुई पटक अन्न फसल भित्रिने बेलामा, मालिकको चित्तले देखेको र हातले सारेको यथादान ।

कथाकार

उसो त हाम्रो गाउँमा, सामन्तीका पहरेदार बाउनहरुको पेशा पनि करीब हाम्रै जस्तो । सक्रान्तिमा नयाँ महिनाको नाम श्रवण गराएपश्चात मानव जीवनले धर्तिमा अवतरण गरेदेखि बिसर्जनसम्मको चरणमा आइपर्ने यावत कर्मकाण्डीका कार्यहरु गरेर यजमानीहरुकोे पुरेत्याँई कार्यहरु ।

परन्तु कृया सेवामुलक भए तापनि जीवनको मूल्यमा भारी असमानता । उनीहरुसंग माग अनुसारको भाग पाउने परोक्षताको डोरी बलियो थियो,दुर्बोध्य संस्कृतिका मन्त्रहरु थिए भने हामी दलितहरुको चाँही मालिकले दिएको यथादानमा सन्तुष्टीको झोला बाँध्नु पर्ने बाध्यता ।

बाउनहरुको अबोध्य संस्कृत भाषाले उनीहरुको सबै अयोग्यताहरुलाई “बाउनको वाक्यै चोखो” विश्वासभित्र अन्य सबै गौण ।

हामी कथित डुम (कामी,सार्की,दमाई,कसेरा,तमोटा,सुनार)हरुको सिपको मूल्यलाई कथित मालिकहरुको “डुम” शव्दसंग झुण्डिएको हेपाहा कटु वाक्यले खर्लप्प निल्थ्यो । यद्यपी उनीहरुका मुखबाट चुहिएका,कानबाट घुसेका तिनका मर्मभेदी तीक्त वाणीहरुलाई अर्को कानबाट हाँसी हाँसी उडाउँदै हिड्नु मेरा बाको निर्विकल्प वाध्यता ।

खलातीले फुकेको आरनको रातो गोलबाट बनेका पुराना ज्याभलहरु मालिकको बालीघरे सेवा हुन्थ्यो भने काँचो फलामबाट बनाइएका ज्याभलहरु मात्र अतिरिक्त श्रोत हुन्थ्यो, कहिलेकाँहीे । त्यही शेष पारिवारिक रोजीरोटीको आधार, मेरा बाको नियति ।
०००

परिवर्तित कालक्रमले मानिसको चेतनामा सापेक्षित विकासको प्रभावले हाम्रा गाउंका कथित दलितहरुले “डुम”बाट दलितमा भाषान्तरित हुँदा पनि अलिकति शाब्दिक राहतको महसुस गर्न पाएका थिए । चैतन्य विकासका कारण छोइछिटो संस्कृतिमा अलिकति परिमार्जित भई कानूनको किताबमा “भेदभाव र छोइछिटो प्रतिवन्ध”भनिएपछि समाजमा अलिकति रङ्ग फेरिएको थियो,कालोबाट वैजनी । संविधान फेरिए पनि व्यवहारको चोट उस्तै । काल फेरिए पनि रङ्ग उस्तै । भाषा फेरिए पनि चिन्तन उस्तै । नाम फेरिए पनि दृष्टि उस्तै । सोच नफेरिएको संस्कारको जरो उखेल्न नसकिने जब्बर ।

सामन्ती अभिजातहरुले ओझेलमा पारेका हामी जस्ता उत्पीडित वर्गहरुको लागि बस्तुगत परिवर्तनको आभास नभए तापनि मानवीय मूल्य मान्यता र सामाजिक सहअस्तित्वको खोजी । हक अधिकारको खोजी र मानव अधिकारको खोजीको चैतन्य सिविरको ढोका भने केही हदमा ढकढकिएकै हो ।

०००

आफनो गाउँको ज्योति माध्यमिक विद्यालयमा पढ्थिन, धनी बाहुनका तीन छोरापछि लक्ष्मीको रुपमा उदाएकी एकली छोरी कमला शर्मा । म पनि आफनो गाउँको जनता प्राथमिक विद्यालयमा कक्षा पाँच सकेर छ कक्षामा भर्ना हुन खोलो तरेर त्यही विद्यालयमा पुगेँ । जहाँ उनी पनि कक्षा छ मै पढ्दिरहिछन्,ज्ञानज्योति मा.वि. ।

समयको गति जस्तै हाम्रो पढाईको गति अगाडि बढ्दै गयो । शिक्षा विभागको बार्षिक तालिका अनुसार एसएलसीको परीक्षा सञ्चालन भयो । तीन महिनापछि नतिजा आयो । उनी द्वीतिय, म प्रथम श्रेणीमा एसएलसीको लौहद्वार पार गरियो । तबदेखि मसंग तुलना गर्दाखेरि उनको अभिमानको ढुङ्गा अलिकति गलेछ ।

समय सापेक्ष शैक्षिक विकासले फट्को मारेकोले हाम्रो पालादेखि कक्षा बाह्रसम्म आफ्नै विद्यालयमा पढ्न पाइने भयो ।

हाम्रो गाउँमा विजुली वत्ती पुगेको थिएन । कमला पेट्रोमेक्स बालेर पढ्थिन् भने म कहिलेकाइँ मट्टितेल र अधिकांशतः सल्लाको झरो बालेर पढ्थेँ । मेरो कष्टपूर्ण मिहिनतले प्रथम श्रेणीको धर्सो नछोडेकोले छात्रवृत्तिको पोल्टो पनि खाली नभएकोले मेरा बालाई अर्थको बोझ धान्न कुनै गाह्रो पारिन मैले । मेरै पछिपछि दोश्रो श्रेणीको लहरो समातेर हुँकिएकी कमलाको मानसिकतामा खाँद्दिएको जातीय दम्भको दाग खुइलिएर भित्रैदेखि सुन्दरता भरिदै आएछ ।

अब हामीले चढेको माथिल्लो खुट्किलोमा अध्ययन गर्न स्थानान्तर हुनै पर्ने भयो । अतः मैले बासंग आकांक्षा राखेँ । मेरो गतिदेखि पुलकित मेरा बाले कनिकुथी व्यवस्था मिलाइदिनु भयो, पुख्र्यौली हाट बजार नेपालगञ्जमा स्नातक अध्ययनार्थ जानको लागि । निर्विकल्प ।

सम्पन्नशाली कमलाको लागि आर्थिक हैसियतमा सामान्य भए तापनि सामाजिक व्यवधानले उनसलाई छुट दिएको थिएन । यद्यपी अपवादमा शिक्षातिर पाइलो राखेको उनको कान्छो दाजु त्यही क्याम्पसमा अध्ययनरत भएकोले असम्भवमा सम्भव भएर उनी पनि नेपालगञ्जको महेन्द्र क्याम्पसमा स्नातक अध्ययन गर्ने सुनिश्चित भएको थियो ।

हाम्रो सामाजिक रुग्ण संस्कारले त शिक्षाको दैलोभित्र छिर्न म दलितलाई मात्र हैन,नारीलाई पनि संस्कारले छेको हालेको थियो । यद्यपी सापेक्षित समयको घामले त्यसलाई पगालेको थियो ।

संयोगबश हाम्रो ज्ञानको ज्योतिपुञ्ज बन्यो नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस । । हामीलाई अवसर जुट्न गयो, पृथक छात्रछात्राबास ।

 

समयसंग मित्रता गरी काँंडा पन्छाएर फूल टिप्नु मेरा बाको कर्म ।

खलाती फुकेर आरन तताउने र हलो समातेर माटो फुकाउने मेरा बाको कठोर श्रम गाँसिएको थियो,मेरो शैक्षिक गतिमा । क्याम्पसको प्रबेश, मेरा लागि दिवाकरको किरण जस्तै जाज्वल्य रह्यो । फलतः क्याम्पसको प्रतिस्पर्धात्मक छात्रवृत्तिको पोल्टो भर्न पनि म सफल भएँ ।

 

संयोग, अध्ययनको बिषयगत मैदान पनि गासिन पुगेछ,मेरो र उनको । स्नातक पहिलो बर्षको परीक्षासले पनि मलाई माया गरेर प्रथम श्रेणी दिएछ ।

कमलाको दाजु लोकप्रसाद स्नातक पढाइसकेर घर गएका थिए,सुर्खेत । अचानक एकदिन उनी भरिएको बैशालु छाति,कामुक आँखा,दारिमदाने दाँत देखाउदै खुलेको मुख,पूर्णिमाको चन्द्रमा जस्तो उज्यालो भृकुटी लिएर मेरो आँखामा प्रबेश गर्न आइन्,मलाई बधाई दिन “वधाईछ विमल” । उनको हातमा गुलावको फूल र सयपत्रीको माला रहेछ जो मेरो हातमा थमकाइन् । त्यही गुलावको फूल जस्तै उनको मुखाकृति फक्रेको थियो । उनको मुखमा “प्रेमको सम्मान खुलेको देखेँ । मैले पनि खुलेको ओठबाट सेता दाँत टल्काएर दृष्टि घर्षर्ण गर्दै धन्यबाद दिएँ –“हजुरलाई असंख्य धन्यवाद मिस”भनेर । उनिसितको दृष्टि घर्षणले मलाई भावुक तुल्याएको थियो ।

 

समय सापेक्ष राज्यमा आएको सामाजिक,भौतिक तथा शैक्षिक परिवर्तनले डो¥याएको चैतन्य विकासले असम्भवलाई सम्भव बनाएको थियो,दलित केटो म र बाउनी केटी कमलालाई । यो उच्च शिक्षाको संयोग दुबैको लागि ऐतिहासिक ।

हिन्दु वर्गको सामन्तीका हिमायती पण्डितबादले सिर्जना गरेको विभेदकारी, दमनकारी संस्कृतिको शिकार भएका थिए, निर्दोष हाम्रा पुर्खाहरु । परिवर्तित समयले जुराइदिएको यो अवसरलाई सदुपयोग गर्ने भाग्यमानी दलित हाम्रो समाजबाट सम्भवतः म नै अग्रपंक्तिमा परेको थिएंँ, इतिहासको श्रृङलामा ।

०००

नदी जस्त,ै निरन्तर बहने समयको वहाव । अध्ययनमा केन्द्रित आफ्नै लय,आफ्नै वय र आफ्नै ध्येयमा बहेको मेरो जीवन यात्रा । संस्कारले चिरा पारेको हाम्रो साम्प्रदायिक धरातलमा वारिपारिबाट बन्दै आएको सेतु जस्तै सन्निकट हुन पुगिन, अप्रत्यासित उनी,मसंग । पहिले जातीय आँखाले हेर्दा ममाथि कटाक्ष प्रहार गर्ने उनै कमलाको हृदयमा लागेको अभिमानको धब्बालाई शैक्षिक ज्ञानको औषधीले गलाएछ क्यारे ।

मानौं ज्ञानको सागरमा पौडिदै गर्दा संयोगले उनीसंग भेट गराएको थियो, एउटा डुङ्गामा । शायद मप्रति हेर्ने उनको दृष्टिकोणमा समानताको रातो रङ्ग पोतिएर होला । स्थानीय विद्यालयमा हाम्रो लामो समय सहपठन भए तापनि आत्मीय सन्निकटता शायद यो पहिलो थियो । अर्थात यो नै आत्मीय सन्निकटताको सेतु रहेछ ।

मैले सादर प्रत्यूत्तर दिएँ–“धन्यबाद मिस् । तपाईको सुवासित शुभकामना प्रति ।”

उनको प्रतिकृया– “शुभकामना त तिमीलाई मेरो सदाको लागि रहनेछ,शुभचिन्तकको नाताले । तिम्रो बौद्धिक क्षमतालाई सलामछ । यसैगरी तिम्रो निरन्तर प्रगति भैरहोस,शुभ कामना ।”

म अलिकति पुलकित भएँ ।

त्यो उनको बधाईले मेरो मानस कताकता बलेको आभास भयो,मलाई ।

मैले भनेँ– मप्रति दर्शाएको सदाशयताप्रति हजुरलाई पुनःसाधुबाद । मबाट केही सेवा, सहयोगको खाँचो परे म गाउँले,सहपाठीलाई सम्झिनु होला ।”

कामुक आँखा फुकाल्दै उनले भनिन्–“सेवा हैन मेवा । बुझ्यौ त विमल ? अब मैले जातको घोडा चढेर बुर्कुसी मार्न छोडिसकेँ । शिक्षाले डो¥याएको बाटोमा हिड्दै जाँदा मैले देखेँ, त्यो सबै मिथ्या रहेछ बिनसित्तीको ढोङ । मान्छे– मान्छे वीचको दरार । ममा अब पहिलेको त्यो बाउने दम्भ स्खलित भएर सकियो, घामको प्रकाशले । अब मलाई तिमीले त्यो “हजुर”भन्ने पदावली पनि नभिडाउ, स्वहीनताको टाङ्गमुनी छिरेर । तिमीले पनि मलाई तिमी नै भन्ने गर ल?”

उनको त्यो अभिव्यक्तिले कता कता मेरो छाति पुनः पुलकित भयो । अनि खुलेको मुखबाट दाँत टल्काउँदै मैले भने–“धन्यबाद, तिम्रो भावाभिव्यक्तिबाट मलाई लाग्यो–

बलेर आको शिक्षाको टुक्की समाजै झल्काउन,

उघ्रेर आको समयको आकाश संसारै चम्काउन ।

क्रमशः

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १२ : ४७ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले