१ आश्विन २०८१, मंगलबार | September 17, 2024

नागढुङ्गा-मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढ्यो



काठमाडौं । काठमाडौं उपत्यका भित्रिनेरबाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा-मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढाइएको छ । यहाँका साँघुरा र घुमाउरो सडक तथा पुल सवारी दुर्घटनाको कारण बनिरहेकाले सडक विस्तारसँगै सुधार गर्न लागिएको हो ।

झण्डै ९५ किमी लम्बाइको सडक तीन प्याकेजमा गरी निर्माण गर्ने योजना बनाइएको छ । यी तीन प्याकेजमा सडक र पुल दुवैको विस्तार र सुधार समेटिने नागढुङ्गा–मुग्लिन सडक योजनाका प्रमुख किरण कार्कीले बताए । यो सडक निर्माणका लागि अहिले अध्ययन सकिएर ठेक्काको चरणमा छ । सडक विभाग, विकास सहायता समन्वय महाशाखाले ठेक्का प्रक्रिया अघि बढाएको हो ।

विभिन्न प्याकेजमध्ये कुनै मूल्याङ्कन त कुनै मूल्याङ्कन सकाएर खोल्ने चरणमा रहेको प्रमुख कार्कीले बताए । नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखुमा आवेदनका लागि आगामी मङ्सिर ९ गतेसम्म अवधि छ भने मलेखु मुग्लिन प्राविधिक मूल्याङ्कन भइरहेको छ । उनले भने, “अवधि सकिएपछि नै प्रक्रिया अघि बढाइनेछ ।” नौबिसे-नागढुङ्गा, नागढुङ्गाबाट मलेखु र मलेखुबाट मुग्लिन गरी तीन प्याकेजमा गरी निर्माण अघि बढाइने योजनाले जनाएको छ । सडक निर्माणका लागि निर्माण कम्पनीसँगै परामर्शदाता छनोट भइरहेको छ । डेढदेखि दुई महिनामा गरिसकिने बताइएको छ ।

सडक विभागले सोही सडकमा जोडिने मुग्लिन-नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ-बुटवल सडक निर्माणाधीन छ । यी सडक चारदेखि छ लेनसम्म विस्तार गरिएको भए पनि नागढुङ्गा-मुग्लिन सडक अधिकांश स्थानमा दुई लेनको नै हुने योजनाले जनाएको छ । यो सडकमा विस्तारसँगै भइरहेका सडक र पुलको सुधार तथा मर्मतमा पनि ध्यान दिइने प्रमुख कार्कीले बताए । बजार क्षेत्रमा चार लेनसम्म विस्तार हुने भए पनि अधिकांश स्थानमा पहाड भएकाले दुई लेनमा नै निर्माण गरिनेछ । मलेखु, गजुरीलगायतका क्षेत्रमा चार लेनसम्म विस्तार हुनेछ ।

तराईमा सडक विस्तार गर्नुभन्दा पहाड नै पहाड भएको स्थानमा विस्तार गर्न गाह्रो हुने प्रमुख कार्कीले बताए । पहाड नै काटेर बनाउन नसकिने हुँदा भइरहेकै सडकलाई स्तरोन्नति गर्न प्राथमिकता दिइनेछ । उनले भने, “सडकमा आवश्यक संरचना निर्माण पनि सँगसँगै हुनेछ ।” सडकसँगै एउटै प्याकेजमा पुलको निर्माण र मर्मत हुँदैछ । कतिपय स्थानमा पुल बाङ्गो भएकामा त्यो हटाइने प्रमुख कार्कीले बताए । सडक सुरक्षित बनाउनकै लागि मोड सुधार गर्न लागिएको छ । दुर्घटना कम गर्नेसँगै सडक निर्माण पछि यात्रामा लाग्ने समय र खर्च घट्ने उनले बताए ।

अध्ययनअनुसार तीन प्याकेजमा निर्माण अघि बढाउँदा दुई वर्षमा निर्माण सम्पन्न हुने योजनाले जनाएको छ । निर्माण सकिएपछि पाँच वर्ष मर्मत अवधि रहनेछ । सडक निर्माणपछि पनि बिग्रिए वा भत्केमा त्यो अवधिसम्म पनि पुनःनिर्माण वा मर्मत निर्माण कम्पनीले नै गर्नुपर्ने प्रमुख कार्कीले बताए । कानूनीलगायतका अरु समस्या नआएमा ठेक्का प्रक्रिया टुङ्गो लागे पनि निर्माण सुरु गर्न लामो समय नलाग्ने उनको भनाइ छ । उनले भने, “सरासर काम भएमा ठेक्का खुलेको डेढ दुई महिनामा काम सुरु हुनेछ ।”

यो खण्डमा अधिकांश स्थानमा सडकको चौडाइ झण्डै १० देखि ११ मिटरसम्म हुनेछ । ‘डेडिकेटेड’ दुई लेन भन्नाले चौडाइ सात मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एकएक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ । यसले गर्दा सडक सुरक्षित हुनेसँगै गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिने उनले बताए ।

सडकसँगै पुलको निर्माण र सुधारलाई जोड दिइएको योजनाले जनाएको छ । नयाँ पुल निर्माणसँगै जोखिमयुक्त पुल हटाइने प्रमुख कार्कीले बताए । चार ठाउँमा रहेका पुल रेखाङ्कन परिवर्तन गरिने उनले बताए । अरु ठाउँमा भइरहेको पुल मर्मत गर्ने र सँगै अर्को पनि थपिनेछ । उनले भने, “पुल पनि एउटै ठेक्कामा र दुई वर्षमा सकिनेछ ।”

काठमाडौँ उपत्यकाबाट सबैभन्दा बढी सवारी साधन बाहिरिने सडकका रूपमा रहेको यो खण्डमा सडक विस्तार भएपछि यहाँको चाप कम हुने अपेक्षा गरिएको छ । नागढुङ्गामा सुरुङ बनिसकेर यो सडक बनेपछि यात्रुलाई आवतजावत गर्न सजिलो हुनेछ । रासस

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  २ : ०६ बजे

नेपालगन्ज १० किमि नाइट रनको टिसर्ट सार्वजनिक

नेपालगन्ज । दशौं धारा नेपालगन्ज म्याराथनको प्रिइभेन्टका रुपमा हुन लागेको

अमेरिकी राजदूत थम्पसनले गरे  स्वर्गीय टेड रिकार्डीबाट सङ्कलित पुस्तकसहितको पुस्तकालय उद्घाटन

भक्तपुर । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भक्तपुरको

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर

माओवादी केन्द्र प्रवास प्रदेशको परामर्श बैठक जुमबाट

काठमाडौ । नेकपा माओवादी केन्द्र प्रवास प्रदेश  समितिको परामर्श बैठक

विश्वप्रकाशको रविलाई प्रश्न: समितिले ‘क्लिन चिट’ दियो कि ‘क्लियर चिट’ ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र