पोखरामा नदीको मापदण्ड मिच्दा…

खबर कुरा
५ मंसिर २०७८, आईतवार
                 

कास्की । पोखरा-१५ अमिनतरास्थित सेती नदी किनारको बस्ती पोहोरसम्म जोखिमपूर्ण मानिँदैनथ्यो। पोखराको मुख्य बजारबाट कुनो पर्ने भएकाले घडेरी पनि केही सस्तै थियो । यही कारण धेरैले अमिनतरा रोजे । तर, गत वर्ष हिउँदमा सबैलाई त्रसित बनाउँदै नदीको डिल फुसफुस खस्दै बग्न थाल्यो । बस्तीनजिकै जमिन चिरा पर्‍यो । दुई घरको आधा भाग नै सेतीमा मिसिन पुग्यो ।

यो वर्ष वर्षायामयता घरै छाडेर डेरामा बस्दै आएको स्थानीय कमला विक सुनाउँछिन् । उनी बिहानै उठेर घर के भो भनेर हेर्न जान्छिन् । विकले कतारमा श्रीमान्ले श्रम गरी पठाएको पैसाले घडेरी किनेर घर बनाएकी थिइन् । तर, आडमै छिमेकीको घर सेतीको डिलसँगै आधा खसेपछि उनको निद्रा हराएको छ ।

सेतीको डिल गत जेठ ३१ गतेदेखि पुनः खस्दा एउटा काठ उद्योगसहित दुई घरमा क्षति पुर्‍यायो । त्यसपछि किनारका ६ घरपरिवारलाई सुरक्षित ठाउँमा बस्न भनिएको वडाध्यक्ष प्रकाश पौडेल बताउँछन् । सेतीको खोच खस्न नरोकिएपछि गत हिउँददेखि नै पोखरा महानगरपालिकाले मापदण्डभन्दा वरसम्मै घर बनाउन रोक लगाइएको वडाध्यक्ष पौडेलको भनाइ छ । महानगरपालिकाले नदीका दायाँ-बायाँ ठाउँअनुसार १०, २५ र ३० मिटर मापदण्ड तोकेको छ ।

दायाँ-बायाँ ७५/७५ मिटरमा भौतिक संरचना बनाउँदा जोखिम हुने सन् १९९८ को एक अध्ययनले देखाएको छ । उक्त अध्ययन टोलीको सुझावलाई बेवास्ता गर्दै महानगरपालिकाले मापदण्ड घटाइरहेको छ । सेतीको डिल खस्न थालेपछि भने ३० मिटरभन्दा वरसम्म कुनै संरचना नबनाउन महानगरले भनेको हो ।

पोखराको सेती किनारमा सबैभन्दा बाक्लो बस्ती पुरानो बजार महेन्द्रपुलमा छ । पुरानो बजार भएकाले धेरै घर मापदण्ड तोकिनुअघिकै छन् । नयाँ घर पनि नदीको मापदण्डले तोकेको क्षेत्रभित्रै बनेका छन् । महानगरपालिकाले महेन्द्रपुल क्षेत्रमा पुराना घरको हकमा किनारबाट पाँच मिटर मापदण्ड तोकेको छ ।

त्यसपछिको मापदण्डभित्र बनेका सेफ्टिटंकी, सोकफिटलगायत अन्य भौतिक संरचना जग्गाधनीलाई नै एक महिनाभित्र अनिवार्य हटाउन लगाउने भने पनि २०७५ पुस ६ को निर्णय अझै कार्यान्वयन भएको छैन । यसरी हटाइएका स्थानमा फुटपाथको ट्र्याक खोल्ने निर्णय पनि महानगरपालिकाले गरेको छ । तर, त्यो निर्णयअनुसार संरचना नै नहटेपछि फुटपाथको ट्रयाक खोल्ने सम्भावना नै देखिएको छैन ।

नारायणस्थान पुल, महेन्द्रपुल, राममन्दिर, तुल्सीघाट ढुंगेसाँघुलगायत स्थानमा किनारबाट ३० मिटर दायाँ-बायाँ भौतिक संरचना निर्माण गर्न नपाइने मापदण्ड छ । तर, महेन्द्रपुल, पृथ्वी चोकलगायत ठाउँमा मापदण्ड मिचेर नयाँ घर बन्ने क्रम रोकिएको छैन । जोखिम क्षेत्रका व्यक्तिको लालपुर्जाभित्रको जमिन अधिग्रहण गरी सुरक्षित ठाउँमा बस्ने व्यवस्था महानगरपालिका, प्रदेश र संघ सरकारले गर्नुपर्ने नागरिक समाज पोखराका पूर्वसंयोजक विष्णुहरि अधिकारी बताउँछन् । किनारमा बनेका घरका फोहोर पानी र अन्य फोहोरसमेत नदीमा सोझिँदा नदी पनि प्रदूषणको चपेटामा पर्दै गएको उनी बताउँछन् ।

सेती नदी, फिर्के खोलालगायत प्राकृतिक स्रोत संरक्षणमा महानगरपालिकाले पहल गरिरहे पनि अतिक्रमण र मापदण्ड मिच्ने काम नरोकिएको प्रवक्ता धनबहादुर नेपाली बताउँछन् । पोखरा-५ का वडाध्यक्ष, नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीसहितको टोलीले गत साता फिर्के खोला अतिक्रमण भएको क्षेत्रको अनुगमन गरेको थियो । सेती नदीजस्तै फिर्के खोला पनि अतिक्रमणमा परेको प्रवक्ता नेपालीको भनाइ छ ।

नदी, खोला, ताल संरक्षण गर्न महानगरपालिकाले अतिक्रमण गरी, मापदण्ड मिचेर बनाइएका संरचना भत्काए पनि त्यही ठाउँमा पुनःर्निर्माणका काम गर्ने गरेकोले समस्या भएको उनको भनाइ छ ।

विज्ञहरूले सेतीमा फेरि ठूलो बाढी आउन सक्ने चेतावनी दिएका छन्। त्यसले किनारमै बनेका बस्ती जोखिममा पर्न सक्ने उनीहरूको भनाइ छ् । इन्जिनियर नारायण गुरुङका अनुसार वर्षायाममा त्यस्तो बाढी आएको भए कल्पना गर्नै नसक्ने गरी जनधनको क्षति हुन सक्थ्यो ।

खानी तथा भूगर्भ विभाग र जर्मनीको भूगर्भ विज्ञान तथा प्राकृतिक स्रोतसम्बन्धी संस्था बीजीआरले सन् १९९८ मा तीन वर्ष अध्ययन गरेको थियो । उक्त अध्ययनले सेती खोचमा मापदण्डभित्र संरचना बनाउनुलाई जोखिम मानेको इन्जिनियर किसानसिंह गुरुङ बताउँछन् । उनी उक्त अध्ययनमा सहभागी थिए। पोखराको सेती नदी अरूभन्दा भिन्न रहेको उनी सुनाउँछन् । अमिनतरामा सेतीको डिल खसेजस्तै अन्यत्र पनि खस्न सक्ने र सेतीको खोच फराकिलो बन्दै जाने भएकाले यसतर्फ सचेत रहनुपर्ने भूगर्भविद् कृष्ण केसी बताउँछन् । अरू नदीमा बाढी आउँदा नदी किनारका बस्तीमा पस्ने हुन्छ । तर, पोखराको बजारभित्र सेती नदी गहिरिएर बगेकाले भित्र-भित्र कटानले डिल नै खसेर बस्ती जोखिममा पर्ने विज्ञले बताएका छन् ।

पोखराको मुख्य बजारमा केआईसिंह पुलबाट ढुंगेसाँगु क्षेत्रमा सेती गहिरिएर बगेको छ । यसैले यो क्षेत्र भूकम्प जाँदा अझै धेरै जोखिम रहेको विज्ञ बताउँछन् । सेती गहिरिएर बगेको स्थान मात्र होइन अन्यत्र पनि किनारमै बस्ती बसेका छन् । यी क्षेत्रमा भने बाढी आउँदा धेरै असर गर्ने गर्छ । पोखरा-१ सेती किनार शान्ति टोलमा २ सय घरपरिवार बस्दै आएका छन् । लालटिन बजारमा २ सय २० घरधुरी छन् । पोखरा-११ रामघाटमा पनि किनारमै १५ घरपरिवार बसेका छन् । वर्षायाममा नदी थुनिँदा घरै डुवानमा पर्ने गर्छ । पोखरा-९ पासपार्क क्षेत्रमा ६ सय ६६ परिवार छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा कृष्णमणि बरालले यो समाचार लेखेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*