१२ बैशाख २०८१, बुधबार | April 24, 2024

अन्नपूर्ण आधार शिविरः ‘मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण



बेनी । म्याग्दीस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग ट्रेल’मा पूर्वाधार निर्माण गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दुई दिनमै आधार शिविर पुग्न सकिने गरी पदमार्ग, आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायतका पूर्वाधार निर्माण गरिएको हो ।

पर्यटन मन्त्रालयबाट विनियोजन भएको रु दुई करोड ८० लाख बजेटबाट गत वर्षदेखि निर्माण सुरु भएको पूर्वाधार निर्माण योजना अन्तिम चरणमा पुगेको छ । नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सडक सञ्जाल पुगेपछि हुमखोलादेखि आधार शिविरसम्म पदमार्ग लगायतका पूर्वाधार निर्माण गरिएको छ । हालसम्म ढुङ्गाबाट ६ हजार ५०० सिँढी बनाइएको छ भने करिब १४ किलोमिटर पदमार्ग निर्माण भएको पाइएको पदमार्ग निर्माण समितिका स्थानीय संयोजक तेज गुरुङले जानकारी दिए ।

अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्षसमेत रहनुभएका गुरुङका अनुसार, २०६८ सालमा पहिचान भएको पदमार्गमा आधारभूत पूर्वाधार निर्माण कार्यले पूर्णता पाउन लागेको छ । नीलगिरिखोला हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको ३८ मेगावाट क्षमताको नीलगिरिखोला जलविद्युत् आयोजनाले अक्करे पहाडमा विस्फोटक पदार्थको प्रयोग गरेर बनाएको दोभानबाट हुमखोला जोड्ने १३ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ । यो सडकले दुई दिनको यात्रा दुई घण्टामा छोटियाएपछि आधार शिविर पुग्न लाग्ने अवधि छोटिएको गुरुङले जानकारी दिए ।

पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी ६ ठाउँका खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ भने ६ स्थानमा आश्रयस्थल निर्माण भइरहेको छ । नीलगिरि हिमालको फेदी हुमखोलाबाट करिब १४ किलोमिटर लामो पदमार्गमा ढुङ्गाको सिँढी चिनिएको छ भने अक्करे पहाड र भिरमा रेलिङसमेत राखिएको छ ।

पर्यटन विभागबाट खानी एन्ड एनवी जेभी निर्माण कम्पनीले ठेक्कामार्फत पदमार्गमा पूर्वाधार बनाउने जिम्मा लिएको थियो । अहिलेसम्म करिब ७० प्रतिशत पूर्वाधार निर्माणको काम सकिएको र दुई महिनाभित्र सबै काम सम्पन्न गर्ने योजना रहेको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर होमराज गौतमले जानकारी दिए । “अनकन्टार जङ्गल, पहाड र भिरमा पदमार्ग लगायतका पूर्वाधार बनाउने काम भइरहेको छ, जङ्गलमै बास बसेर करिब ५० जनाले दैनिक रुपमा पूर्वाधार बनाउने काम गरिरहेका छन्, अब छिट्टै नै हामीले जिम्मा लिएको काम सक्छौँ”, उनले भने ।

पदमार्गअन्तर्गत पाँच ठाउँमा काठको साँघु, १० ठाउँमा चौतारा लगायतका पूर्वाधारसमेत निर्माण भइरहेको छ । यस पदमार्गमा यसअघि पर्यटन विभागसँगै प्रदेश सरकार, गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का समेत लगानीमा पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिँढी लगायतका पूर्वाधार निर्माण गरिएको थियो ।

 

एकै दिन आधार शिविरमा

अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्ग छोटिएसँगै अब आधार शिविरमा एकै दिन पुग्न सकिने भएको छ । पहिले पहिचान गर्दा सात दिनको यात्रा तय हुने गरेकामा अहिले नेपाली आन्तरिक पर्यटकहरु नारच्याङबाट हुमखोलासम्म सवारी साधन र त्यहाँबाट करिब १५ किलोमिटर पदयात्रामार्फत एकै दिन आधार शिविर पुग्न थालेका हुन् । सडक, पदमार्ग लगायतका पर्यटन पूर्वाधारले अब अन्नपूर्ण आधार शिविरमा दुई दिनकै अवधिमा पुगेर फर्कन सक्ने सुविधा भएको अन्नपूर्ण युवा क्लब नारच्याङका अध्यक्ष श्याम पुर्जाले जानकारी दिए ।

सडक यातायातको सुविधासँगै नारच्याङबाट अब बढीमा दुई दिनमा अन्नपूर्ण आधार शिविर पुग्न सकिने भएको छ । अन्नपूर्ण हिमालको आधार शिविर पुग्न सकिने गरी विकास गरिएको यो पदमार्ग छोटो दूरीको पैदलयात्रामा पुग्न सकिने सम्भवतः नेपालको पहिलो आधार शिविर भएको बताइएको छ । यात्राअवधि छोटिएपछि अन्नपूर्ण आधार शिविरमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।

‘मौरिस हर्जोग ट्रेल’लाई व्यापक प्रचार गरिने

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्जोग टे«ल’ लाई व्यापक प्रचारप्रसार र विकास गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा गाउँपालिकाले पदमार्ग सञ्चालन गरेको थियो । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका मौरिस हर्जोगका नाममा तयार भएको यो पदमार्ग आधार शिविर पुग्ने छोटो र सुरक्षित पदमार्ग भएकाले यसको व्यापक प्रचारप्रसार र पूर्वाधार निर्माणमा पहल गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए ।

पदमार्ग तयार भएको, अन्नपूर्ण आधार शिविर म्याग्दीमा पर्ने सन्देश प्रवाह गराउन पदमार्गको प्रवेश विन्दु नारच्याङमा दुई वर्षअघि प्रथम अन्नपूर्ण पर्यटन महोत्सवसमेत गरिएको बताउँदै अध्यक्ष पुनले यो पदमार्गलाई गाउँपालिकाको पर्यटन विकासको नयाँ आयामका रुपमा विकास गर्न लागिपरेको बताए । हर्जोगले १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै आठ हजारभन्दा अग्ला हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ रेकर्ड बनाएको थियो ।

अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ । आधार शिविरको भ्रमण, हिमाल आरोहणसँगै झरना, ताल, वन्यजन्तु, वनस्पतिको सौन्दर्यमा रमाउन पाउनु यस पदमार्गका आकर्षण हुन् । अघिल्लो वर्ष यसै पदमार्ग हुँदै आधार शिविर पुगेर ७० जनाले हिमालको आरोहण गरेका थिए । अहिले गत असारयता मात्रै करिब सात सयभन्दा बढी आन्तरिक पर्यटकहरु आधार शिविर पुगेको अनुमान गरिएको छ । -रासस

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १ : ३६ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको