७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रणयिनी (भाग-५)



हामी जङ्गल छिचोल्दै उकालोतिर अलिकति हिडेपछि बाबुले भोक लाग्यो आमु भन्यो । मैले जे जति झोलामा बचेको चिउरा र पानी दिएँ, सकिनै लागेको रहेछ ।

एकपछि अर्को अज्ञात जङ्गलभित्र घुस्दै जाँदा बुरबुरे माटोमा खेलिरहेका च्याखुरा, कालिज,मयुर र डाँफेलाई पनि बाबुले प्रत्यक्ष अवलोकन गर्न पाएकोमा ऊ खुशी भयो ।

फेरि बाल जिज्ञासा पसा¥यो–“यी कुन कुन चरा हुन् आमु ?”
मैले सबै प्रष्ट्याइदिएँ,कालिच,च्याखुरा,वन कुखुरा । अनि मैले रुखतिर हेरेँ जुरेली चरीले भर्खर चल्ला कोरेलिकी रहिछ । ऊ आफना चल्ला ममताको पखेटाले ढपक्क छोपेर गुँडमा बसिरहेकी थिई । भाले जुरेलोले धमाधम चारो ओसारिरहेको थियो,माउ बच्चालाई पुग्ने गरी । जसरी पुरुष मानिसले सुत्केरी श्रीमतीलाई मीठा मीठा खुराकहरु ओसार्छन् । मेरो स्मृतिपटलमा झट्ट आयो,जुन कृया मेरा कमलले म सुत्केरी हुँदा गरेका थिए,वहुथरिका मसलादिहरु,मासु,दूध ओसारेका थिए,कमजोरीमा शक्ति आपूर्ति होस भनेर । मलाई उनीहरुको युगल प्रेम देख्दा खुशी लाग्यो, कृतकृत्य भएँ । धन्य, मानिसहरुको जस्तै उनीहरुको मातृ पितृ वात्सल्यता र पतिपत्नी प्रेम । अनि आफनो एकल जीवन सम्झदा विरक्तीले बेस्सरी चिमट्यो । बिरहको झ्याँउकिरी बास्यो,मनभरि । अलि अगाडि गएपछि बनेल र मृगको बथान पनि राम्रै अनुगमन गर्न पायो, बाबुले । ती पनि हामीभन्दा अलि टाढै थिए । नजिक भए बनेलहरुले पनि हामीलाई अनिष्ट गर्थे होलान् ।

कथाकार

अनिश्चयको भुमरीभित्र हाम्रो जङ्गल यात्रा छिरेको थियो । बाबुको हातमा काँडाले चिथोरेर घाउ प¥यो । “घोडाटाप्रे” नजिकै रहेछ । मैले त्यो वनस्पति झार उखलेर निचोरी रस लगाइदिएँ, जुन सानो छँदा जडिबुटीका ज्ञाता मेरा बाले मेरो खुट्टा काटेको बेला लाइदिनु भएको थियो । यस्तै जे जे विमार हुन्छ त्यही त्यहीको जडिबुटी राख्नु हुन्थ्यो र आवश्यक परेको बेला उपयोग गरेर सञ्चो पार्नु हुन्थ्यो,बाले ।

निर्जन स्थल । वन्यजन्तुहरुको साम्राज्य । भोक र थकानले क्लान्त पारेको मेरो बाबु थपक्क रोकियो र भन्यो– “आमु, मलाई भोक लाग्यो, थकाई लाग्यो” । मैले रुखको पातहरुले छेकेको वीचबाट आकासतिर नियालेँ, सूर्य पूर्ण वयस्क भैसकेछन् । नजिक ठूलै ढुङ्गा रैछ, कटुस र रइचको फेदमा अडेस लागेर बसेको । माटो र ढुङ्गाको भर रुख, रुख र माटाको भर ढुङ्गा । प्रकृतिको विधान । त्यसैको छाँयामा हामी ढुङ्गामाथि बस्यौंँ, आमा–छोरा । झोला खोलेँ । घरबाट बोकेको सामल अलिकति मात्र रहेछ । जे जेति भएको चिउरा र पानी बाबुलाई दिएँ । अब पानी सकियो । भोकले मेरो पेटलाई पनि निमोठिरहेको थियो । यताउति हेरेँ, गिठाको लहरा देखेँ र खुकुरीको टुप्पाले खोस्रिएँ, गाना राम्रै रहेछन् । अनि भुइँभरि छापिएका पातहरु संकलन गरेँ र सलै कोरेर आगो सल्काएँ र गिठा पोलेँ,अधकल्चै थियो,भोको छोराले अलिकति खायो अरु केही मैले खाएँ । पानीको प्यास तृप्त गर्न त्यहाँ कुनै खोला,खोल्सा थिएन । एउटा झाङ्गभित्र माटो रसाएको देखेँ, त्यै खुकुरीले सानो बुट्टाको तिदुको हाँगा काटेँ र खोस्रिएँ,अलिकति पानीको रसान देखियो । त्यो श्रोत बढ्दै गयो, त्यसमा खाल्टो बनाएर एकछिन जम्मा गरेँ, सङ्लिन दिएँ । अँजुलीले खाल्टाबाट झिकेर पानी खायौं,आमाछोरालाई भैहाल्यो ।

एकछिन मेरो भावना स्पन्दित भयो, आदिम पुर्खाले खाने गरेका कन्दमुल यिनै रहेछन्–तरुल,गिठा, भ्याकुर आदि,प्रकृतिले दिएको । पौराणिक कथामा वर्णित वनबासी ऋषिमुनीहरु, सीता सहित राम दाजुभाई र द्रौपदी सहित युधिष्ठिर दाजुभाईले खाने गरेका कन्दमुल यही रहेछ भन्ने लाग्यो । जुन आज म वनयात्रीले उपयोग गरेँ ।

मेरो मनको भावना पग्लिएर ताल बन्यो । पानीको श्रोत हिमाल हो भन्ने सुनेकी थिएँ, सत्य यही रहेछ, हिमाल निचोरिएर खोल्सा,खोल्सा बढ्दै खोला, नदी हुँदै समुन्द्र बन्दो रहेछ, नारीको जीवन निचोरिएर समाज बने जस्तै ।

त्यसपछि हाम्रो यात्रा नाक ठोकिने उकालोतिर लाग्यो । तालु खुइलेको पुरुष जस्तै ठाउँ ठाउँमा घनघोर जङ्गलका वीच वीचमा सेतो बुकिका फूलहरु भएको नाङ्गो जमिन । उज्यालो खुलेको आकाशमुनीको खाली चौर । अलि उकालो चढ्दै जाँदा भैंसी गाईका पाइलाहरु भेटिए । घर पाल्तु पशु नै होलान् भन्ने अनुमान लगाएँ । छान्ना लेकतिर गाउँले किसानले खर्कहरु राख्छन् भन्ने सुनेकी थिएँ । मन अलि फुकेर आयो, यहाँ अवश्य पशुपालक किसानहरु होलान् । मैलै सुनेकी थिएँ, पहाडी घाँचका किसानहरु गौँ थन्काउन वित्तिकै भैसीको बगाल लिएर जङ्गलतिर पस्छन् । खर्क बनाएर बस्छन् । पशुहरुलाई जङ्गलमा छोडुवा छोडिदिन्छन् । निग्रानीका लागि आ–आफना भैंसी राँगाका घाँटीमा पहिचान हुने ठूला स्वरका घाँडाहरु झुण्डाइदिन्छन् । दिनभरि चरेर बच्चा हुने, दूधे भैंसीहरु बेलुकी बेलैमा गोठमा फर्किन्छन् । अरु भैंसी राँगाहरु केही दिन नआउन पनि सक्छन् । अर्थात जङ्गलमै उनको बास हुन्छ । यो भैंसी गाई पालक किसानहरुको सालबसाली कार्य तालिका भन्ने सुनेकी थिएँ । हामी तिनै भैंसीका पाइला पछ्याउँदै मध्यम उकालोतिर लाग्यौँ ।

बैंसालु वशन्त । ढकमक्क जोवन फुलेको लाली गुराँस । हिड्दा हिड्दा पश्चिमतिर ओर्लिएका सूर्यले क्षितिज तरेपछि प्रकृतिले सेतो पहिरन फुकालेर कालो घुम्टो ओड्न लागेकी थिइन् । विरहले ओइलाएको,मेरो जीवन । हराएको भाग्यको खोजिमा तड्पेको मेरो जिन्दगी । थाकेको मन र तनलाई घिसार्दै छोरालाई बोकेर अगाडि बढेँ । निशाको कालो पछ्यौरी आकासबाट खस्नै लागेको थियो । लुरुलुरु हिड्दै हामी एउटा धुवाँ पुत्ताइरहेको नजिकको खर्कमा पुगिएछ । अलिअलि समथल भूभाग थियो । जङ्गलछेउको खुला डाँडामा खर्कै खर्कले भरिएको थियो, करिब दश पन्द्र जति । मैले छेउको खर्कका वयस्क गोठालालाई सम्बोधनको औपचारिकता पसार्दै मन गडन्ते नाता सम्बोधन गर्दै भनेँ,बुढाबुढी दुबै रहेछन्–

“काका ! साह्रै थाकियो । हिड्दा हिड्दा साँझ पनि परिसक्यो । ह्याँ बास पाइएलाकी ?”
साँझको पाहुनालाई सम्मानजनक स्थान दिने संस्कृति रहेछ । बच्चा सहितकी मसंग त्रसित हुने कुनै निशानी थिएन । अलिकति करुणा देखाउँदै उनले भने– “भैहाल्छ नि नानी क्या कुडा हो र ? साँझउदो आयाइ पाउनीकन काँ जाउ भनुँ । ऊ.. त्याँ बस । गुँणैसंँ हिनेइ रहिछौ अझ । विचरी नानी यैथो बच्चासंग जङ्गलौदो हिडिकन कहरी आयौ त ? नानीको घर काँ पड्यो नि?”बासको अनुमतिसंगै मेरो परिचय मागे,जो स्वभाविक थियो ।

उनले इङ्गित गरेको स्थान स्याउलामाथि कम्मल ओछ्याएको एकछेउमा बाबुलाई बसाउँदै आफू पनि बसेँ । अब मैले ती ग्वालाको जिज्ञासामा आफनो एक टुक्रो परिचय दिएँ, ढाकछोप पारेको बेदनाको घाउलाई उजागर गर्दै देखाउन खोजेँ, एकछेउबाट थोरै खोलेर–

“काका मेरो घर दैलेख बजार हो । माइत किउँगाउँ हो । धर्मप्रसाद अचार्जकी छोरी हुँ…… ।” भन्दै थिएँ । यति भन्नासाथ उनको मुखमण्डलमा अलिकति कान्ति झल्कियो । साथमा रहेकी महिला पनि आकर्षित भइन् । जो उनकी श्रीमती रहिछन् । उनले मेरो कुरालाई वीचैमा काटेर आफैले परिचयको पोका खोल्न थाले –
“ए …नानी ! तिमी त मित छोरी पो रहिछौ लौ । तिम्रा बा धर्म अचार्ज दाईसंग त मेरा दाइले मित लाया हुन् त । ह्वाँ हाम्मा गाउँमा घिउ, जडिबुटी लिन आउनु हुन्छियो । मेरा दाइ पनि बजार गयाबेला त्यँैं बस्तथ्या । मेरा दाई म¥यापछि र धर्म दाइले पाठशाला खोल्यापछि हाम्मो आउ हुन सक्या नाई । सारै खास्सा मान्ठ हुनुहुन्छ ह्वाँ । ए..तिमी उनकै छोरी हौ ? त्यै बेला तिमी सानी छियौ,कहरी चिन्नु । अनि क्यान आयौ त नानी,काखौ,न बच्चा च्यापिकन ?क्या काम पडो ?
भावुक, शून्यता । जब मेरो मुख खुल्यो,उनको मुखमा देखिएको कान्ति क्षणभरमै ओइलायो । मेरो हृदयभित्र भरिएको वेदनाको ओठ सकिनसकी फरफरायो–

“काका ! मेरो माइतिलाई त चिनिहाल्नु भो । मेरो बिहा हाम्रै गाउँबाट बजार बस्ती गएका कमलबहादुर बिष्टसंग भएको थियो । भएको हैन, गरेकी थिएँ । अन्तरजातीय भएकोले म आफैले । कति राम्रो, मुना मदनको जस्तो हाम्रो प्रेमिलो जोडी थियो । चाणक्य जस्ता न्यायवादी उनी थिए, अन्याय नगर्ने, नसहने । स्कूलबाट अपहरण गरेर आफूलाई क्रान्तिकारी भन्ने तत्वले लगेछन् । एक बर्ष जति भयो काका, अहिलेसम्म अत्तोपत्तो छैन । यो बाबुले पनि बाबाको जिज्ञासामा रट हालिरहन लाग्यो । सरकारी निकायबाट खोजी भैरहेकोछ भनेर झुण्डाएको पनि बर्ष नाघिसक्यो । केइसिप लागेन । त्यै भएर दुस्साहस गरेर आफै खोज्न निस्केकी । उनै कमलको निशानी छोरालाई काखी च्यापेर आएँ काका । म हिड्दा यसले पनि संगै जान्छु भन्यो, त्यै भएर लिई आएँ ।
मेरो कुरा सुन्दा काकाको हृदयको छालमा तरङ्ग उठेछ । उनी पनि पग्लिए,आँखैदेखि ।
ती आततायी तत्वहरुबाट भएका गाउँलेहरुले भोगेका प्रताड्ना र हिंसात्मक भोगाईहरुको बेदना सांकेतिक रुपमा उनले पोखे–“ तिनका कुडा क्या अन्नु नानी? भनौँं भन्या मुरीएक जति छन् रुन्या कुडा । आज राती भैगो भोली कुडा अरौंला नानी । म भैँसीकन घाँस हाली आउँछु तिमीहरु थाक्याछौ । खाना खाँदै अर ।”

काकाको गला अवरुद्ध थियो । अनुहारको रङ्ग पानी भरिएको बादल जस्तो थियो ।
सन्ध्यादेवीको कालो पछ्यौराले धर्तिलाई ढपक्क ढाकिसकेकी थिइन्,हामीले खाना खाँदा । काकीले गौंका बाक्ला रोटी,सिन्कीको झोल र फुकेको काँसको कचौराभरि बाक्लो दही ल्याएर हामी आमाछोरालाई दिइन् । बाबुले मीठो मानेर बाक्ला एक रोटी र दही खायो,पेटभरि । अनि उसका आँखा तार नमिलेको बल्ब जस्तै झिमिक झिमिक गर्न थाले । बाबुलाई सुताएँ । एकछिन पछि काका आए । दुःखम,सुखमका सुक्खा गफहरु केही भए । तर मेरो कुतुहलताले मलाई घोचिरहेको थियो । खाना खाने क्रम सकियो । मैले काकीले लाइदिएको ओछ्यानमा बाबुलाई सुताएँ । मैले मुस्किलले अलिअलि सबैथोक खाएँ ,दही,अचार र रोटी ।

क्रमशः

काकाले भोली भनेर झुण्डाएका अधुरा कुराहरुले मलाई निद हराइसकेको थियो । रात्रीको करीब उत्तराद्र्धमा निद्रादेवीको दबाबमा एकघण्टाजति सुतेछु –

कमलमय मेरो जीवन । निन्द्रामा उनी मृत्यु सागरबाट डुबुल्की मार्दै आइपुगे, मकाँ । मेरा कमल, कमल जस्तो कोमल र ढुङ्गा जस्तो कठोर पनि थिए । जलक्रिडा गर्दै आएर उनी भन्दै थिए, “मेरी प्रिया प्रणि ! तिमी मलाई खोज्न आइहौली तर तिम्रो यो आकांक्षा आकासको फल हो, कहिल्यै टिप्न सक्तिनौ,तिम्रो जिन्दगीमा अब । बरु छोरा सहितको आफनो बाँकी जिन्दगीलाई रङ्गिलो फूलोद्यान बनाएर बसे, म मौरी बनेर चुम्न आउँला । मायाको सागर बनेर सुते,म पौडी खेल्न आउँला । तिमी हिमालका लालीगुराँस बनेर फुले, म भँमरा बनेर चुस्न आउँला । तिमी आफना सारा तन,मन,धन छोरामाथि केन्द्रित गरेर आनन्दीको शैयामा सुते, त्यो स्वप्नील संसारमा म पति बनेर आउँला । मेरो आलोकलाई श्रृजनाको बुट्टा भरेर देशको आलोक बनाए । बस् । अब जाउ तिमी जहाँबाट आएकी थियौ उतैतिर जाउ ।” …..

स्वप्नको अन्तरिक्षबाट व्युझिएपछि म भयङकर गर्तमा भास्सिएँ । उता मित काकाको अपूरा कुरा, यता स्वप्नका कमलका कुरा….। मेरो कौतुहल, छताछुल्ल भएर पोखिन थाल्यो । हृदयको धडकन गतिवान भएर उम्लिन थाल्यो । रोक्दा रोक्दै आँखाबाट आँशु उम्लिएर आयो ।

झल्यास्स व्यूँझदा मिर्मिरे थियो,परिवेश । पंन्छीहरु विहानी गाइरहेका रहेछन् । थकानग्रस्त बाबु सुतेकै थियो । म उठेर काकीले बताएको स्थानतिर सिलाबरे लोहोटामा पानी सारेँ,र शौचादि गर्न जङ्गलतिर गएँ । माटोले हात धोएँ । खर्कमा आएर आफूले ल्याएको साबुनले हातमुख धोएर फ्र्रेस भएँ ।

म फर्किएर आँउदा काका काकी दुबै जना उठेर भैँसीहरुलाई कुँडो पकाउने तर्खरमा लागेका रहेछन् । काकाले बाँधेको पाडो छोडेर दूध ख्वाए । ऊ आफनो आमाको दूध फिज काड्दै चुस्दैथियो,काकाले त्यसलाई तानेर खाँबोमा बाँधे र आफूले ठूलो ठेकीमा दूध दुहुन थाले,घर्रर घर्रर गरेर । एकछिनपछि उनले मरेको पाडाको खोस्टो अर्को भैंसीको अगाडि राखिदिए । पशु न हो भैसीले आफनो बच्चा जिउँदैछ भन्ने ठानेर त्यसलाई चाटिरह्यो । उनले अर्को ठेकीमा सबै दूध दोएर निखारे । अनि कुँडो लगेर दुउटै भैंसीलाई खुवाए ।

त्यसपछि उनले ठूलो ठेकामा ठूलो मदनी हालेर घर्रर घर्रर पारे । मोई पारिसकेपछि नौनी जति झिकेर मोइजति लगेर मोलखादमा सप्पै खन्याइदिए ।

नौनी पगाली घिउ बनाई हाट लगी हाटबाट परिवारलाई लुगा,फाटो र नुन,भाँडा किनेर ल्याउँदा रहेछन् । हुन त हाम्रा बाहरु को पनि हाटको लागि घिउ बनाउने कृया उस्तै थियो । तर मोइ पोख्ने हैन ।

उनी अब फुर्सदिला भएर सुल्फामा कक्कड तान्न बसे । मैले कुरा खोस्रिएँ –“काका अब हजुरलाई फुर्सद भए हिजोका अधुरा कुराहरु निकालौंँ कि ?
उनले भने– “लौ हुन्छ नानी, अर्नि खाउँ सबैजना । बाबुलाई भोक लाग्यो होला ।”उनको कुरा मनासिव भए तापनि मेरो मुटुमा कुतुहलताको गाँठोले कसेको थियो । काकीले दूध दही र रोटी ल्याइदिन्,बाबुलाई र मलाई । बाबुले ओठभरि सेतो लगाएर रोटीसंग बाक्लो दही दुध खायो । मैले सकी नसकी एक रोटी र अलिकति दही खाएँ ।

त्यसपछि मतिर ध्यानावस्थित भएर काकाको बिरह शुरु भयो–
“ नानी ! भनिसाद्दे नाइ । ती राक्षसहरुले कोइबेला बाआमा भनिकन चिल्ला कुडा अद्दाथिया । पछि“हामीहरु तिमीहरुकै मुक्तिका लागि क्रान्तिमा लाग्या हौं, हामीलाई खान चाहियो,पैसा चाहियो, बास चाहियो,भैसा चाहियो,पाडा चाइयो,खसी चाहियो लेउ । नत्र तिमीहरुको खैरात छैन,” भनीकन बन्दुक,भाला,खुकुरी देखाइकन हैरान पाड्डा थिया । तिनका भाका हामी आधा बुझ्थ्यौँ,आधा बुझ्थेनौँ । धेरैजसो नबुझीकन हामी चुप हुन्थ्यौं, तिनका धम्कीले । बुझ्या,नि हामी केइ अन्न सक्न्या नाई । कतिचोटी हाम्मा गोठौन आया । हाम्मा गोठका रांगा रह्यानन्,घरका बाख्रा,अनाज रह्यानन्, तरुना छोराछोरी रह्यानन् । क्रान्तिकारी बनाउन्या भनिकन हाम्मा गाउँका तरुनादेखि बच्चासम्म कतिकन उतै लैगया कति भागीआइकन लुकी बस्याछन । कतिकन सरकारी वर्दीका मान्छहरुले मारीफाल्या । कतिकन उनैले मारीफाल्या । सारै अन्याय भयो नानी,क्या भन्नु र खै,ती विध्वंसकारीहरुकन । यैथै अरीकन हाम्मो गाउँको कति जिउ धनको नोक्सान भैगयो नानी ।

नानी ! शायद तिम्ले खोज्या मान्ठ ज्वाइँ उनै हुन कि क्या हो ? बजारका मास्टर भन्ना छिया । उनी कहिलेकाँही हाम्मा गाउँमा आउँथ्या,साथीसंग । गाउमा उज्यालो बालिकन जान्थ्या । हाँस्थ्या, हसाँउथ्या । मीठो मसिनो खाइकन धेरै कुडा सिकाइकन जान्थ्या । कति राम्मो भाका हालिकन गाउँथ्या,नाच्तथ्या नचाउँथ्या । बच्चाहरुकन भन्नाछिया, “बाबु नानीहरु ! तिम्रा घरको पुख्र्यौली सम्पत्ती, तिम्रा बाबु,बाजेले जस्तै तिमीहरुले पनि दाजु भाई सबैलाई बराबर भाग लाउनु पर्छ । तर तिमीले पढेको विद्या सम्पत्ति कसैलाई भाग लाउनु पर्दैन । बरु राम्रोसंग पढ्दै गयौ भने त्यसले तिमीलाई नाम र दाम दुबैथरीको सम्पत्ति दिन्छ ।”
मित काकाले मनको कुनामा साँची राखेर मन नलागी नलागी मलाई पस्केको चिन्तातुर बाणीले मेरो कुतुहलता झन छचल्किन थाल्यो । मनको गरुङ्गो भारी उचाल्दै उनको वाकधारा अगि बढ्यो– “नानी ! क्या भन्नु र खै ? उइकन..उइकन..उइकन ..
नानी,… गाउलेहरु मास्टरकन छोडिदेउ भनिकन कराउदै थिया । हात जोरी विन्ति अद्दाछिया । ती राक्षसहरुले छोड्या थियानन् । उनी पनि आम्नो अडानदेखि पछि हट्न चाह्यानन् रे । ती राक्षसहरुले गाउँल्या’न बन्दुक तेस्र्याई भगाया । मास्टरकन डोरीले घाँटीउदो बानीकन तली रानी वनको जङ्गलउदो लगी गया थ्या रे । हुँई कुटिकुटि अधमर्दो बनाइकन खाल्टो खनी अइअ अइअ अद्दाअद्दै उनीकन खाल्टाउँदो पु¥या भन्न्या चाल पाइयाथ्यो नानी । ती राक्षसका जन कारबाइ रे त्यो……. । उनकन त्यैथो अन्नेमा यै गाउँका गुण्डा केटाहरु पनि थिया रे धेरैजसो ।
हेर त नानी, कैथा हुन् ती, मान्ठकै अनुहारका राक्षसहरु । उनीहरु आम्नो ज्यान जोगाउन सरकारी फौजदेखि लुकी लुकी हिड्दाछन् । अक्काको ज्यान भन्या ज्यानै हैन जइथो अद्दाछन् । मान्छेरुपी ती जङ्गली पशुहरु निर्मम भैकन माण्ठकाकन कुटिकुटि माद्दाछन् ।
जनता जति सकिकन,दुश्मन बनाइकन कैथो राज्या अन्न खोज्याहुन ती राक्षसहरुले ? क्यान्नु नानी कैथो जमाना आयो सम्झिना नि साह्रै मुटु हल्लिदोछ मेरो त ।”

काकाको बयानमा नाम छुटेकोले मलाई एकछिन विश्वस्त हुन सकिन र काकालाई रिपिट गरेंँ–“काका नाम केरैछ नि त्यो अभागीको ?
काकाले भने–“खै नानी कमल भन्नाछिया रे । गोरा अग्ला खुब राम्मा छिया । बजार त बजारकै हुन् क्यार । बिष्ट हुन कि क्या हुन् नानी,मु,न त्यति था भएन । कठैबरा विचारा अभागी रैछन् ।

काकाको प्रष्टीकरणबाट मेरो आँखामा मेरा कमलको तस्वीर मात्र आएन । आततायीहरुबाट उनले पाएको निर्मम,अत्यन्त दारुण्य यातनाको रैबारबाट म विक्षिप्त भएर बेहोस भई ढलेछु । मेरो बाबु, आमु आमु भन्दै रुँदै मेरो छातिमा टाउको ठोकाउदै रहेछ । काकी,काकाले पानीले मेरो कपाल लुछुप्प पारेर पनि नभएपछि चीसो भएको पैताला हातले मोलेर तताउनु भएछ । विस्तारै बाँधिएको दाँत पक्क खुलेछ । बल्ल स्वास रुपी जैवीक इन्धन शरीरमा सञ्चार भएछ । अनि सबैले उठाएछन् मलाई । मेरो बाबु रोदनको थकानपछि सुँक्क सुँक्क गर्दै थियो । मेरा आशाका ताराहरु सबै बादलभित्र विलीन भए । छोराले भन्यो–आमु किन त्यसो गर्नु भयो ? को मान्छेलाई जङ्गलमा मारेको ? उसको जिज्ञासाको पुनरावृत्तिले मलाई फेरि घायल त बनाएको थियो नै,सत्यलाई उजागर गरेर उसलाई पनि घायल बनाउनु थिएन,मैले । त्यसैले गुमेको होसलाई बटुलबाटुल पारेर उसलाई फेरि भूmटको लेप लाउँदै भनेँ–बाबु केही हैन । गाउँका मान्छेलाई आतङककारीहरुले जङ्गलमा लगी हानेछन । बाबा घर जानु भयो कि ? हामी पनि जाउँ अब ।

म एक्लै भएको भए कमलकै बाटो जाने थिएँ । साथमा छोरो थियो । उसलाई मैले ओडाइदिएको झूठको पर्दा अझै खोल्न भएको थिएन । त्यो रोदनको आँशु आफै पोखिने थियो,कुनै दिन । त्यसपछि मैले लत्रिएको स्वरमा काकालाई विदा माग्दै भनेँ–अब मेरो यात्रा सकियो काका, अब घर जान प¥यो,बाबुलाई लिएर ।
आँखाको कोशबाट बगिरहने आँशुलाई संयमताको दुवालीले थुनथान पारेर रोकेँ,छोराको लागि । कुरा बुझेका काकाले मलाई एक्लै जान दिन चाहेनन्,हिड्ने शक्ति क्षीण भैसक्यो । बाटामा संकट आइपर्ला भनेर । खर्क बस्ने गाउँलेलाई आफनो बुढीलाई सहयोग गरिदिने आग्रह गरेर उनी हामीसंगै पछि लागे ।

विदीर्ण त्वीनमा टङ्गिएको मेरो जिन्दगी । आफैमा हराएकी नारी । रित्तिएको निराधार मेरो जिन्दगीलाई थाम्ने एउटा टेको थियो, कमलको प्रतिबिम्ब– छोरा आलोक । उसलाई मित काकाले नै पिठ्युमा बोके । मेरा अस्थिर,शक्तिक्षीण खुट्टा र बरालिएको व्यग्र मनस्थितिलाई साथ दिन काकाले बेला बेलामा सहानुभूतिद्वारा धक्का लाइरहन्थे,बाटो हिड्दा–

“नानी क्यार्ने जिन्दगी भन्या रुखौनो झुण्डियाओ पहेंलो पात रछ,जो उमेर पुग्याछि हावाले झाड्डोछ र त्यसमा नयाँ पालुवा पलाउदाछन् । तर विध्वंसकारी ठूलो हावा हुरी लाग्यो भन्या पहिल्यै सोहोरी लैजादोछ । यैथै अरिकन माण्ठका आयु सकिनमा एउटा एउटा निउँ बन्याया हुन् रे,भगवानले । चिन्ता भन्या बाँच्नेका लागि मात्तै हो, जाने त गैगया । आयु कोसंग कतिछ ? कसैकन थाहा नाई । जानाखेरि एउटा न एउटा निउँ हुदोछ । सबैका एकेक वटा निउँ हुदाछन् । बाँच्न्याले आफू’न समालिकन आम्नो जिन्दगी आफै चलाउनु पड्डोछ । जोडी र सन्तान भन्या एक मुठी सास रहुञ्जेल देखिन्या,रमाउन्या,खुशी हुन्या,दुःखी हुन्या सब हुँदोरछ नानी जिन्दगानीमा । जसरी हामी हाट जाँदा सबै जम्मा भैकन साथै जानाछौं,रमाइलो अरिकन । गाउँ आयापछि सबै आम्ना आम्ना घर जाँदाछौं । त्यैथै हाम्मो आयु पनि आम्नो आम्नो दिनमा केही न केही निउँमा भुर्र उडिकन जान्या हो नानी । बाच्न्याले चित्त बुझाउनु सिवाय अरु केही अर्न सकिदैन । उहिले उहिले सति भन्नाछिया रे,लोग्नेका लागि जबरजस्ती स्वाइनीले मर्नु पड्न्या । त्यो पनि बेकार । जाने आम्ना ठाउँमा पुगिसक्या हुन्छ । फछिका कुडा व्यार्थै । कि गैकन भेट हुन्या भया पो । व्यार्थै । तिमीले चिन्ता मान्यानी उनी फर्की आउन्या नाइ । अब आफूकन समाल,आम्नो बच्चाकन समाल । अब यही तिम्मो सम्पत्ति हो,सन्तान हो,भोलीको उज्यालो सूर्जे हो । यैकन पढाई लेखाई अरिदेउ भोली तिम्मो घर येले उज्यालो पाड्नेछ ।”

काका निरक्षर थिए । तर अनुभवले भुक्तभोगी । उनीमा सचित्र ज्ञानको ठूलै गाथा रहेछ । उनका अभिव्यक्तिहरुले, शिक्षाको डिगृ बोकेर “निरक्षरहरु अज्ञानी हुन्छन्”भन्नेहरुलाई चुनौति दिइरहेका थिए । उनले परिवेश र समाजको चलनको चित्रण गरिरहेका थिए । उनले जीवन र जगतका ज्ञान, अनुभवको गाथा पस्किरहेका थिए,नैतिक,नैतिक स्वच्छ संस्कृतिको ।

क्रमश:

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १ : १० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल