काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको चक्काजाम असफल पार्न जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञा जारी गरेको छ । आज (१३ पुष) बिहानको ५ बजेबाट भोली (१४ पुष) बेलुका ५ बजेसम्मका लागि दुई दिन निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।
निषेधाज्ञा अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सुचारु रहनेछ भने बाहिर हिड्डुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने सूचनामा उल्लेख छ । पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पिकेराज इन्टरप्राईजेज (पेट्रोल पम्पसम्म) ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।
आदेश उल्लघन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।
प्रतिक्रिया