२३ बैशाख २०८१, आइतबार | May 5, 2024

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमण बढ्दो



चितवन । चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । सोही अवधिमा विभिन्न जनावरको आक्रमणमा परी २९ जना घाइते भएका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा गैँडा, हात्ती, बँदेल र गौरीगाईको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको हो । यस्तै सोही समयमा हात्तीको आक्रमणबाट चार, गैँडाको आक्रमणबाट १५, बाघको आक्रमणबाट तीन, भालुको आक्रमणबाट चार, जङ्गली बँदेलको आक्रमणबाट दुई र मगर गोहीको आक्रमणबाट एक जना घाइते भएका छन् ।

घाइतेमध्ये १६ सामान्य तथा १३ जना गम्भीर भएको उनले जानकारी दिए । चालु आवमा मानवीय क्षति, घरगोठ क्षति र भण्डारण गरिएको अन्नको क्षतिवापत निकुञ्जले रु ८० लाख ७३ हजार क्षतिपूर्ति तिरेको छ । निकुञ्जले वन्यजन्तुबाट भौतिक तथा मानवीय क्षति भएका पीडित परिवारलाई आव २०७५/७६ देखि आव २०७८/७९ को कात्तिक मसान्तसम्म रु ६ करोड २५ लाख ४४ हजार राहत वितरण गरेको छ ।

निकुञ्जभित्रका वन्यजन्तुले मानव, पशु तथा अन्नबाली र भौतिक संरचनामा क्षति पुर्याएमा पीडित परिवारलाई राहत वितरण गरिँदै आएको छ । चालु आवको चार महिनामा मृत्यु भएका चारै जनाको परिवारलाई रु ४० लाख राहत रकम वितरण गरिएको छ । त्यस्तै वन्यजन्तुबाट सामान्य घाइते भएका पीडित परिवारलाई रु तीन लाख सात हजार र गम्भीर घाइते भएका पीडित परिवारलाई रु १३ लाख १६ हजार उपलब्ध गराएको तिवारीले जानकारी दिए ।

त्यस्तै पशुधन क्षति शीर्षकमा रु सात लाख ८५ हजार तथा घरगोठ शीर्षकमा रु ४२ हजार वितरण गरिएको छ । वन्यजन्तुले अन्न भण्डारण र खाद्यन्न बालीमा क्षति पुर्याएका परिवारलाई रु १६ लाख २१ हजार प्रदान गरिएको छ । निकुञ्जबाट निस्कने बाघ, चितुवा, हात्ती, गैँडा, गोही, बँदेल, भालुलगायत जङ्गली जनावरले मानवीय तथा भौतिक क्षति पुर्याउने गरेका छन् ।

निकुञ्जभित्रका वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा पीडित परिवारलाई रु १० लाख दिने निकुञ्जको निर्देशिकामा उल्लेख छ । त्यस्तै सामान्य घाइतेको अवस्थामा रु २० हजार, गम्भीर घाइतेको न्यूनतम रु दुई लाख वा सरकारी अस्पतालको सिफारिसमा घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गर्दछ । जङ्गली जनावरले अन्नबालीमा क्षति पुर्याएमा बढीमा रु १० हजार, घरगोठ भत्काएमा रु १० हजार र पशुधनको क्षति गरेमा रु ३० हजारसम्म राहत रकम उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ ।

वन्यजन्तुको आक्रमणबाट आव २०७३/७४ मा १०, आव २०७४/७५ मा पाँच, आव २०७५/७६ मा १२, आव २०७६/७७ मा नौ र आव २०७७/७८ मा १२ जनाको मृत्यु भएको थियो । निकुञ्ज र स्थानीयवासीबीच द्वन्द्व बढेपछि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अवधारणा ल्याएर निकुञ्जको आम्दानीको ५० प्रतिशतसम्म मध्यवर्ती क्षेत्रमा खर्च गर्न थालिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले स्थानीयवासी र निकुञ्जबीचमा द्वन्द्व घटाउँदै लगिएको बताए । पहिले–पहिले राहत रकम वितरणमा ढिलाइ हुने भए पनि पछिल्ला वर्षमा तत्काल राहत रकम वितरण गर्न थालिएको छ ।

मध्यवर्ती क्षेत्रमा हुने क्षतिको राहत निकुञ्जले दिने गर्दछ । निकुञ्जले चितवन, पर्सा, मकवानपुर र नवलपरासीको बर्दघाट सुस्तापूर्वलाई समेटेको छ । विसं २०३० मा स्थापना भएको यस निकुञ्जसित जोडिएका क्षेत्रलाई समेटेर २०३० मा मध्यवर्ती क्षेत्र घोषणा गरिएको हो । मध्यवर्ती क्षेत्र ७२९ दशमलव ३७ वर्ग किलोमिटरमा फैलिएको छ भने निकुञ्ज ९५२ दशमलव ६३ वर्गकिलोमिटरमा फैलिएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १२ : १९ बजे

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच