७ मंसिर २०८३, सोमबार | November 23, 2026

नेपाल-भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री शाहको प्रस्ताव



नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सम्बन्धलाई नयाँ युगको आवश्यकताअनुसार रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने बताएका छन् ।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्तापछि सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा आपसी विश्वास, सहकार्य र साझा समृद्धिका आधारमा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताएका हुन् ।

उनले नेपाल र भारतबीचको सम्बन्ध पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित रहेको उल्लेख गर्दै यस सम्बन्धको केन्द्रमा दुवै देशका जनता रहेको बताए । नेपाल–भारत सम्बन्धलाई हिमालझैँ अटल र महासागरझैँ विशाल आत्मीय सम्बन्धका रूपमा व्याख्या गर्दै उनले प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा भारतले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।

प्रधानमन्त्री शाहले प्रतिनिधिमण्डलस्तरीय वार्तामा द्विपक्षीय सम्बन्धका विभिन्न आयामबारे गहन छलफल भएको जानकारी दिए । ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ र समयानुकूल बनाउन विभिन्न क्षेत्रमा महत्त्वपूर्ण समझदारी हुनुका साथै पूर्वाधार आयोजनाको उद्घाटन तथा शिलान्याससमेत गरिएको उनले बताए ।

दुई देशबीच भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल आम नागरिकको जीवनमा देखिनुपर्नेमा जोड दिँदै उनले किसानले समृद्धि, युवाले रोजगारी र अवसर, विद्यार्थीले नयाँ सम्भावना तथा उद्यमीले बजार, लगानी र व्यावसायिक विस्तारका अवसर प्राप्त गर्नुपर्ने बताए ।

उनले नेपाल र भारतबीचको सहकार्यलाई आर्थिक समुन्नतिको आधार बनाउन भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वानसमेत गरे । नेपालमा स्थापना हुने ‘आईआईटी’मा भारतीय विद्यार्थीले अध्ययन गर्न आउने वातावरण निर्माण गर्नुपर्ने र दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्न पनि नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको बताए । हिमालयबाट बग्ने नदीहरूले यस क्षेत्रका करोडौँ मानिसलाई जीवन दिइरहेको उल्लेख गर्दै उनले जलस्रोत र वातावरण संरक्षणमा साझा प्रयासको आवश्यकता औँल्याए ।

नेपाल र भारतबीचको सम्बन्ध भगवान् श्रीराम र माता जानकीको पावन युगदेखि नै ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत आधारमा गाँसिएको उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्धलाई थप जीवन्त बनाउन रेल सेवाको शुभारम्भ गरिएको बताए ।

उनले दुई देशको साझा समृद्धिका लागि तयार गरिएको ‘जोइन्ट भिजन डकुमेन्ट’ तथा साझा उपलब्धि समेटिएको ‘जोइन्ट प्रेस रिलिज’ सार्वजनिक गरिएको जानकारी पनि दिए ।

यसै अवसरमा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । उनले भारतीय जनतालाई पनि मुक्तिनाथ, पशुपतिनाथ, जानकी मन्दिर, जीवित देवी कुमारी तथा भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल भ्रमण गर्न आग्रह गरे ।

नेपाल र भारतबीचको मित्रतामा विश्वास हिमालझैँ अग्लो, सहकार्य नदीझैँ अविरल र दुवै राष्ट्रको समृद्धि साझा आकाशमुनि फक्रिनुपर्ने कामना गर्दै प्रधानमन्त्री शाहले आफ्नो सम्बोधन टुङ्ग्याएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ३ : ३४ बजे

Your email address will not be published.

नेपाल-भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री शाहको प्रस्ताव

नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सम्बन्धलाई नयाँ

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । केही दिनदेखि लगातार घटेको सुनको मूल्य आज बढेको

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

नयाँ दिल्ली । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री