१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

२५ लाख तिर्न नसकेर साउदीमा बन्धक



साउदी अरेबिया । हरेक युवाको सपना हुन्छ- विदेश जाने, पैसा कमाउने र परिवारलाई सुखसँग राख्ने । यही सपना बुनेर ११ वर्षअघि बुटवल-४ का दामोदर क्षेत्री साउदी अरब पुगे । साउदीको ‘अलहरफी’ कम्पनीमा ‘ड्राइभिङ’ काम गर्न भन्दै इमेज म्यानपावर कम्पनीले उनलाई वैदेशिक रोजगारीमा पठाएको थियो । पासपोर्ट लगायतका सबै कागजात सक्कली थिए, वैधानिक ढंगले नै विदेश गएका थिए। क्षेत्रीलाई हतारो थियो त, कम्पनीमा चाँडो पुग्ने र दुई, चार पैसा कमाएर श्रीमती र छोराछोरीलाई पठाउने ।

क्षेत्री जब अलहरफीमा पुगे । उनलाई ड्राइभर नभई मजदुरीको काममा लगाइयो। उनले पूर्वसम्झौताअनुसार ड्राइभिङ कामको भिसा बनाइदिन कम्पनीसँग आग्रह गरे । कम्पनीले शर्त तेर्स्यायो । २ हजार ५ सय रियाल थप शुल्क तिरे मात्र भिसा परिवर्तन गरिदिने शर्त कम्पनीले राख्यो । त्यसपछि भने क्षेत्रीको मन बदलियो । उनले कम्पनी परिवर्तन गर्ने सोंच बनाए । त्यही बेला, उनलाई साउदीकै एकजनाले आफ्नो कम्पनीमा काम गरे धेरै तलब दिने आश्वासन दियो । लगत्तै उनी अर्को कम्पनीमा जान तयार भए । २०६९ सालमा ‘हमदसाउद अलहाजीरी कम्पनी’ मा ड्राइभर’को काम पाए, गाडी चलाउन थाले ।

क्षेत्रीका पासपोर्ट लगायतका कागजात भने पुरानै ‘अलफरही’ कम्पनीमै थिए । नयाँ कम्पनीका सञ्चालकले आफ्नोमा काम गरे नेपाल फर्कने बेलामा पासपोर्ट बनाइदिने आश्वासन दिएको थियो । त्यही आश्वासनमा वर्षौं काम गर्दा पनि राम्रो कमाइ नभएपछि पासपोर्ट लगायतका सबै कागजात छोडेर नयाँ कम्पनीमा काम गर्न गएको क्षेत्रीको भनाइ छ । अर्को कम्पनीमा काम गरेका कारण उनी त्यतिबेला ‘अबैधानिक’ कामदार बनिसकेका थिए ।

क्षेत्रीलाई बिपत्ती त त्यतिबेला आयो, जब उनले चलाएको गाडी दुर्घटनामा पर्‍यो । उनको गाडी र अर्को गाडी एकआपसमा ठोक्किँदा दुवै गाडीमा आगो लाग्यो । जलेर नष्ट भए । त्यही क्रममा एकजना पाकिस्तानी नागरिकको मृत्यु भयो । दुर्घटनामा दामोदर पनि घाइते भए, उपचारपछि निको भए । दुर्घटनामा परेका दुवै गाडी जलेर नष्ट भएपछि दामोदर पक्राउ परे । तीन महिना जेल सजाय काटे। लगत्तै कम्पनीको काममा फर्किए । तर, कम्पनीले दामोदरलाई दुर्घटनामा जलेको गाडीको क्षतिपूर्तिबापत ७९ हजार साउदी रियाल (लगभग २४ लाख ८० हजार) नेपाली रुपैयाँ माग तिर्नुपर्ने भन्यो । साउदीमा यस्ता दुर्घटनाको क्षतिपूर्ति कम्पनी आफैंले तिर्ने गरे पनि, उक्त कम्पनीले क्षेत्रीसँग माग गर्‍यो ।

दुई चार पैसा कमाउन विदेश गएका सामान्य परिवारका क्षेत्रीसँग यत्रो पैसा तिर्न सक्ने क्षमता थिएन । रकम तिर्न नसकेपछि कम्पनीले दुई वर्षपछि उनलाई जेल हाल्यो । दुर्घटनामा ज्यान गुमाएका पाकिस्तानी नागरिकको तर्फबाट भने कुनै उजुरी परेन ।

विगतमा धेरै सुविधा दिने, नेपाल फर्किँदा पासपोर्ट बनाइदिने आश्वासन दिएको कम्पनीले उल्टै बदमासी गर्‍यो । वि.सं. २०७४ देखि वि.सं. २०७८ सम्म क्षेत्रीले साउदीको जुबेल जेलमा कैदी जीवन बिताए । ४ वर्षपछि जेलबाट त मुक्त भए । तर, कम्पनीले मागेअनुसारको झन्डै २५ लाखको क्षतिपूर्ति तिर्न सकेका छैनन् । जेलबाट छुटे पनि साउदीमा ‘बन्दी जीवन’ बिताइरहेका छन् । कुनै पनि बेला प्रहरीले पुनः पक्राउ गर्न सक्ने चिन्ता भइरहेको क्षेत्री बताउँछन् । क्षेत्रीलाई अब, दुई चार पैसा कमाई गर्नुभन्दा पनि, लफडा टुंग्याएर छिटो नेपाल फर्किन मन छ । तर, कतैबाट पनि आर्थिक सहयोग नपाउँदा निराश र चिन्तित छन् ।

उनी, साउदीमा अलपत्र छन्। साउदीस्थित नेपाली दूतावासले ‘आवश्यक रकम’ तिर्न सके उनलाई नेपाल फर्काउन सक्ने जानकारी गराएको छ । तर, दूतावास आफैंले भने आर्थिक सहयोग गरेको छैन । क्षेत्रीले आफूमाथि भएको घटनाबारे नेपाली दूतावास, एनआरएन, भ्रातृसंगठन तथा विभिन्न सामाजिक संघ-संस्थाहरूलाई जानकारी गराएको बताएका छन् । उनले, आर्थिक सहयोगका लागि सबैसँग गुहार गरेको बताए। क्षेत्रीलाई सहयोग गर्न नेपाली दूतावासले ‘पहल’ गरिरहेको जवाफ दिने गरेको छ ।

परिवारका सदस्य पनि काठमाडौंतिर सहयोगका लागि धाइरहेका छन् । श्रीमती भगवती क्षेत्री र बहिनी माया थापा वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार उद्धारमा सरोकार राख्ने व्यक्ति, संघ-संस्था र मिडिया धाउँदा पनि कतैबाट सहयोग नपाएको बताउँछन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट सहयोग पाउने आशा परिवारका सदस्यमा थियो । बोर्डले सुरुमा १५ लाख सहयोग गर्न सक्ने आश्वासन पनि दिएको थियो । तर, पछि, वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका महानिर्देशकले नगद सहयोग गर्न नसकिने बरु, क्षेत्रीको तर्फबाट मुद्दा लडिदिने कानुन व्यवसायीका लागि मात्र १५ लाखसम्म खर्च व्यहोरिदिने बताएको परिवारका सदस्य बताउँछन् ।

आर्थिक अवस्था कमजोर रहेका क्षेत्रीका एक छोरा र एक छोरी छन्। श्रीमती बुटवलमा ज्याला मजदुरी गर्छिन् । जग्गा जमिन केही नभएका उनको परिवार भाडामा बस्ने गर्छ । अहिले श्रीमानको उद्धारका लागि भौतारिनु पर्दा राम्रोसँग खान पनि नपुग्ने अवस्था उनको छ । श्रीमती भगवतीले आर्थिक सहयोग गरिदिन मनकारी सबैसँग अपिल गरेकी छिन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा विष्णु घिमिरेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ७ : २१ बजे

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौ. । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था