१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कोरोना महामारीमा लुम्बिनीका १४ सरकारी अस्पताल नेतृत्वविहीन



बुटवल । कोरोना महामारीकै बेला लुम्बिनी प्रदेशका १४ सरकारी अस्पताल नेतृत्वविहीन छन् । अस्पताल नेतृत्वविहीन हुँदा कोरोना संक्रमितको उपचार सेवा पनि प्रभावित भएकाे छ ।

सरकार हेरफेर भएसँगै हटाइएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र सदस्यकाे नयाँ नियुक्त नहुँदा अस्पताल नेतृत्वविहीन भएका हुन् । अस्पतालमा व्यवस्थापन समिति नै नेतृत्वविहीन भएपछि उपचार सेवाका लागि प्रभावकारी व्यवस्थापन हुन सकेकाे छैन ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोनाका लागि छुट्टयाइएका ६० बेड भरिएका छन् । तर, व्यवस्थापन समितिमा नयाँ नियुक्ति हुन नसक्दा उपचारका लागि अस्पताल प्रशासनलाई चुस्त बनाउनुपर्ने काममा समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।

लुम्बिनी प्रदेश सरकारले केही समयअघि प्रदेशभरका अस्पतालमा विकास समितिका अध्यक्षसहित सदस्यलाई हटाएको थियो । हटाएका ठाउँमा नयाँ नियुक्ति गरिएको छैन ।

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि भारत पुगेका नेपाली घर फर्किरहेका छन् । भारतबाट आएका अधिकांश व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । जसका कारण अस्पतालमा बिरामीको संख्या बढ्न थालेको र यस्तो बेलामा अस्पताल नेतृत्वविहीन हुँदा उपचार प्रभावित भएकाे लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष सूर्यबहादुर भट्टराई बताउँछन् ।

लुम्बिनी प्रदेश सरकार मातहतमा अहिले २५ अस्पताल छन् । जसमा तीनवटा साविक अञ्चल अस्पताल, ११ जिल्ला अस्पताल, एक सरकारी अस्पताल र ११ आर्युवेद अस्पताल छन् ।

अस्पतालका पदाधिकारी हटाएको सरकारले प्रदेशका १२ वटै जिल्लामा कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनका सम्बन्धमा जिल्लागत अनुगमन गर्न मन्त्रीह संयोजक रहेको अनुगमन समिति गठन गर्ने भएको छ । जसअनुसार सबै मन्त्रीलाई जिम्मा दिएर अस्पताल अनुगमनदेखि रोकथामका काम गरिने सरकारका प्रवक्ता तिलकराम शर्माले बताए ।

प्रदेश सरकारले भारतसंगको सीमा नाकामा एन्टिजेन परीक्षण र निगरानीलाई कडाइ गरिएको जनाएको छ । तर, सीमा नाकामा रहेका हेल्थ डेस्कमा कार्यरत कर्मचारी नै संक्रमित भएपछि स्वास्थ्य परीक्षण समेत प्रभावकारी हुन सकेको छैन । हेल्थ डेस्कमा जनशक्ति अभाव हुँदा कतिपय परीक्षण नै नगरी नेपाल प्रवेश गरेका छन् । लुम्बिनी प्रदेशका सबैजसो अस्पतालमा कोरोना संक्रमितको चाप बढ्न थालेको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सूर्य भट्टराई तथा भीम अस्पताल भैरहवामा नारायण प्रसाद भण्डारीले कोरोना महामारीमा अस्पताल व्यवस्थापनको राम्रो पहिचान बनाएका थिए । तीन वर्षको लागि अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भए पनि करिब आठ महिना मात्र काम गर्न पाएको भीम अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष भण्डारीले बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संक्रमण रोकथाम गर्ने समयमा सबै अस्पताललाई नेतृत्वविहीन बनाउनु आमनागरिकमाथिको खेलवाड भएको आरोप लगाएको छ । एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले गठबन्धन सरकारले आफ्ना पार्टीका नेता कार्यकर्ता भर्ती गर्नका लागि अस्पताललाई नेतृत्वविहीन बनाएको भन्दै तत्काल पदाधिकारी नियुक्त गर्न माग गरे ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चारमन्त्री शर्माले अस्पतालमा अध्यक्ष तथा अन्य पदाधिकारी नभएर कुनै काम नरोकिने बताए । यद्यपि, व्यवस्थापनको कार्यमा भने केही समस्या भएको उनको भनाई छ । ‘सरकारले छिटै नयाँ व्यक्तिलाई नेतृत्वमा ल्याउने तयारी गरेको छ,’ उनले भने ।

अस्पतालका नियमित काम नरोकिएको भन्दै मन्त्री शर्माले पहिलेको भन्दा थप व्यवस्थित बनाइने दावी गरे । यसअघिदेखि नै सञ्चालनमा रहेका अस्पताल, आइसोलेशन, अक्सिजन प्लान्टहरू सबैको राम्रो व्यवस्थापन गरिने उनको भनाई छ ।

 

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ७ : ४८ बजे

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा