९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा भाले गोहीको अभाव



चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घडियाल गोही प्रजनन केन्द्र स्थापना गरेको ४३ वर्ष भयो । प्रजनन केन्द्र स्थापना गरेपछि यहाँ नारायणी नदीबाट गोहीका दुईवटा अण्डा ल्याएर भाले गोही कोरलिएको थियो ।

दुईवटामध्ये एउटा भाले गोही १० वर्षअघि जुधेर मर्‍यो । अहिले प्रजनन केन्द्रमा एउटा मात्रै ४३ वर्षको बूढो भाले गोही छ । उसको प्रजनन क्षमतामा ह्रास आएपछि प्राकृतिक बासस्थानबाटै भाले लागेका गोहीका अण्डा ल्याएर बच्चा कोरल्ने र हुर्काउने गरिएको छ ।

भाले गोहीको मुखमा सुँड निस्किने गर्छ । बाहिरबाट हेरेर गोहीको लिंग पहिचान गर्न नसकिने भएकाले सुँड हेरेर पहिचान गर्ने गरिन्छ । गोही पाँचदेखि छ वर्षको भएपछि मात्रै गोहीको मुखमा सुँड निस्के-ननिस्केको देख्न सकिन्छ ।

प्रजनन केन्द्रमा भाले गोहीको अभाव भएपछि राप्ती र नारायणी नदीबाट भाले लागेका गोहीका अण्डा संकलन गरेर बच्चा कोरल्ने गरिएको हो । प्रजनन् केन्द्रमा विगत पाँच वर्षदेखि भाले गोहीको अभाव भइरहेको गोहीविज्ञ वेद खड्काले बताए । त्यसयता विभिन्न नदीबाट अण्डा प्रजनन केन्द्रमा ल्याएर बच्चा कोरल्ने गरिएको उनले जानकारी दिए । खड्का गोही प्रजनन केन्द्रका पूर्वप्रमुखसमेत हुन् ।

‘पोथीहरूले अण्डा पार्छन् तर बच्चाहरू निक्लिदैन । धेरैजसो बतासे अण्डा पारेको जस्तो छ । भालेकै कमजोरीले हो कि भन्ने छ । बुढो भएर प्रजनन् क्षमताका कमी आएको हो कि भन्ने अनुमान गरेका छौँ’, उनले भने ।

यो भाले गोहीमा प्रजनन क्षमता राम्रो भएका बेला पोथी गोहीले वर्षमा तीन सयवटासम्म बच्चा पारेको उनले बताए । नेपालमा गोहीको प्रजनन् क्षमता परीक्षण गर्ने प्रविधि र चिकित्सक छैनन् । विदेशी गोहीविज्ञले गोहीको प्रजनन क्षमता परीक्षण गर्ने वा नयाँ भाले ल्याउनुपर्ने सुझाएको उनी बताउँछन् ।

केही वर्ष पहिले बर्दियाबाट एउटा भाले गोही ल्याएर भेलौजीमा छाडिएको थियो । प्राकृतिक बासस्थानमा पाँचवटा भाले गोही रहेको उनी बताउँछन् । ‘प्राकृतिक बासस्थानमा हामीले छाडिएका भाले गोहीमा जीन क्षयीकरण हुन्छ । भरसक बाहिरबाटै ल्याउँ न भनेर मैले भनेको छु’, उनले भने ।

मौसमको तापक्रमका आधारमा गोहीको बच्चा भाले वा पोथी निस्किने गर्छ । उनकाअनुसार ३० देखि ३२ डिग्री सेल्सियसको तापक्रममा भाले जन्मिने र त्यो भन्दा माथि र तल तापक्रम हुँदा पोथी गोही जन्मिन्छ । प्रजनन केन्द्रमा भाले गोहीको लागि आवश्यक तापक्रम कायम गरेर विभिन्न नदीमा भाले गोही छाड्ने गरिएको छ ।

निकुञ्ज विभागबाटै गोही विशेषज्ञका रूपमा प्रजनन केन्द्रमा खटाइएका खड्काले नदीको प्राकृतिक बासस्थान नै गोहीमैत्री नरहेको बताउँछन् । गोहीले मुख्यगरी बालुवामा अण्डा पार्ने हो । ‘नदीको इको सिस्टम ब्यालेन्स छैन । किनभने नदीमा हुने ढलापडा काठ माछाको घर हो । माछा गोहीको आहारा हो । नदीमा बग्दै आउने काठ प्रयोगविहीन भनेर मान्छेले प्रयोग गर्ने गर्छन्’, उनले भने ।

बगेर भारत पुग्छन् गोही

चितवन राष्ट्रिय निकुञ्जले वर्षेनी नदीहरूमा घडियाल गोहीका बच्चा छाड्ने गर्छ । नदी नै गोहीको प्राकृतिक बासस्थान भएकाले निकुञ्जले २०३५ सालमा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा छाड्दै आएको छ । तर अहिलेसम्म जति गोही छाडियो त्यसको न्यून संख्यामा मात्रै नदीमा देखिएको निकुञ्जले बताएको छ ।

नदीको पानीसँगै गोही बग्दै-बग्दै भारतसम्म पुग्ने तर फर्किन नसक्नु नै गोहीको संख्या बढ्न नसक्नुको प्रमुख कारण रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन् । नेपालका नदीमा छाडिएका गोही भारतको गंगा नदीसम्म पुग्ने गर्छन् । त्यसकारण ठूलो संख्यामा नदीमा गोहीका बच्चा छाडिए पनि अनुगमनका क्रममा न्यून संख्यामा मात्रै गोही फेला पर्ने गरेको उनी बताउँछन् ।

प्रजनन केन्द्र स्थापनापछि हालसम्म राप्ती, नारायणी र कोसीमा गरी १६ सय ९२ वटा गोही छाडिसकिएको छ । ‘गण्डक ब्यारेज बनाउँदा गोहीलाई पुनः माथि आउन सक्ने खालको संरचना बनाउन नसक्दा पनि जति हामीले गोही छाड्यौँ त्यति संख्यामा हामीले फेला पारेका छैनौँ’, उनले भने । अनुगमनका क्रममा तीनवटा नदीमा करिब तीन सयवटा मात्रै गोही फेला परेको उनले बताए ।

घडियाल गोहीलाई जोगाउन साँच्चिकै चुनौती रहेको उनी बताउँछन् । ‘यो बगेको स्वच्छ पानीमा बस्ने र माछा मात्रै खाने भएकाले पानीलाई प्रदूषणरहित बनाउन सक्यौँ भने यसको दिगो भविष्य सोँच्न सक्छौँ’, उनी भन्छन्, ‘त्यसका लागि निकुञ्जले मात्रै नभएर नदीको माथिल्लोदेखि तल्लो क्षेत्रसँग जोडिएका सरोकारवालाले नदी सरसफाइमा जोडिएर गोहीलाई जोगाउन सक्छौँ ।

चालू आवमा राप्तीको कसरामा ४७, कोसीमा २०, जनकपुरघाटमा २० र नारायणीको दिव्यपुरीघाटमा २० गरी जम्मा १०७ वटा गोही प्राकृतिक बासस्थानमा छाडिएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं वन्यजन्तु प्रजनन् स्याहार तथा वन्यजन्तु उद्दार शाखाका प्रमुख सरोजमणी पौडेलले बताए । ‘गोही छाडेपछि वर्षेनी हामीले अनुगमन गरेका हुन्छौँ । दुई महिना अगाडि गरेको अनुगमनका आधारमा राप्ती र नारायणीमा करिब २५० वटा मात्रै गोही फेला पार्‍याैं’, उनले भने । नदीमा माछा मार्नेले तियारी जाल हाल्ने र त्यही जालमा फसेर गोही मर्ने पनि गरेका छन् ।

गोहीको बासस्थानबाट ढुंगा, गिट्टी र बालुवा निकाल्दा गोहीको बासस्थान नष्ट हुने गर्छ । नदीमा विभिन्न प्रकारका घातक फोहोर फाल्दा नदी प्रदूषित बन्न पुगी गोहीको बासस्थानमा क्षति पुगेको उनी बताउँछन् ।

 

 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ४ : ५० बजे

बुटवल ईलिटमा पुरस्कार वितरण तथा सास्कृतिक कार्यक्रम

बुटवल । बुटवलको शैक्षिक विकासमा योगदान दिएको नीजि क्षेत्रकै पुरानो

सुदूरपश्चिममा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु

सुदूरपश्चिम । धनगढी-डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार

नेपाल पत्रकार महासंघ रुपन्देहीको अपिल : निर्वाचनमा पत्रकारलाई भयरहित वातावरण सुनिश्चित गरियोस्

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले भय रहित बातावरणमा आसन्न

घरदैलोसंगै प्रविधिमैत्री चुनावी प्रचारमा रुपन्देहीका सुरज पाण्डे

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिरहदा उम्मेदवारहरु घरदैलोमा व्यस्त छन

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनको तयारीका क्रममा कैलाली जिल्लाका