११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

‘मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं आउने’



सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । बुधवार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान आएका मन्त्री चौधरीले यही महीनाभित्र पानी जुनसुकै हालतमा काठमाडौं पुर्‍याउने दाबी गरे ।

जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै उनले चैत मसान्तसम्ममा जसरी पानी काठमाडौं पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन समेत दिए । मुहानस्थलको निरीक्षण गर्दै मन्त्री चौधरीले अहिले भइरहेको कामको गति चित्तबुझ्दो रहेको बताए । ‘काम निकै दु्रतरूपमा भइरहेको पाएँ, यो गति हेर्दा चैतको तेस्रो साता पानी काठमाडौं पुग्छ ।’ ठेकेदार कम्पनीले काम शरू गरेको ९० दिनभित्र काम सक्ने सम्झौता गरेकाले सोही अनुसार काम भइरहेको उनले बताए ।

केही दिनअघि ठेकेदारले आयोजनाको काम रोकेकोप्रति संकेत गर्दै उनले भुक्तानी समयमै गर्न सरकार तयार रहेको, तर कुनै पनि बहानामा काममा ढिलाइ गर्न नहुने बताए । स्थानीय प्रभावितले गरेको आन्दोलनप्रति चासो राख्दै उनले क्रमशः मागहरू पूरा गरिने बताए । ‘स्थानीय बाढी प्रभावितको मागमा मन्त्रालय, खानेपानी विकास समिति र सरोकारवाला सरकारी निकाय सकारात्मक छन्,’ उनले भने, ‘यो राष्ट्रिय महत्त्वको योजना हो, मागहरू विस्तारै पूरा हुनेछन् । तर यो वा त्यो बहानामा आयोजनाको काम बन्द नगर्न अनुरोध गर्दछु ।’

मन्त्री चौधरीलाई मुहानको अवस्थाबारे जानकारी गराउँदै मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले अम्बाथान पोर्टल अडिटमा बढी गेग्रान थुप्रिएकाले व्यवस्थापनमा केही समय बढी लागेको बताए । सरकारको लक्ष्य अनुसार चैत मसान्तसम्ममा पानी काठमाडौं झार्नेगरी काम भइरहेको जानकारी उनले दिए । मुहानमा थुप्रिएको पहिरो र गेग्रान सरसफाइको काम ७० प्रतिशत सकिएको उनले बताए ।

निरीक्षणका लागि पुगेका हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय बाढी प्रभावितलाई घर बनाउन ५ लाखले नपुग्ने भन्दै रकम थप गर्न मन्त्रीलाई अनुरोध गरे । सामाजिक उत्थान कार्यक्रमको रकम सम्बन्धित पालिकामा पठाउन समेत आग्रह गर्दै उनले स्थानीय पीडितको माग पूरा गर्न सरकार लाग्नुपर्नेमा जोड दिए ।

यता, लामो समयसम्म पनि आफ्ना माग सम्बोधन नगरिएको भन्दै मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढी पीडित समन्वय समितिले आयोजनाविरुद्ध आन्दोलन गर्दै आएको छ । मेलम्ची खानेपानी आयोजना र संघीय सरकारलाई पटक पटक आग्रह गर्दा पनि खानेपानी तथा बाढी प्रभावितको माग सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलन शुरू गरिएको समन्वय समितिका संयोजक उपेन्द्र तामाङले बताए । शान्तिपूर्ण आन्दोलन गर्दा पनि माग सुनुवाइ नभए आयोजनाको सम्पूर्ण काम बन्द गरिने चेतावनी उनले दिए । ‘माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने ।

खेतीयोग्य जमीन बचाउन मुहानदेखि सिपाघाट भीमटारसम्म आयआर्जन कार्यक्रम सञ्चालन गर्नुपर्ने, स्थायी तटबन्ध निर्माण, सडक, सिँचाइ, सार्वजनिक पूर्वाधार निर्माण एवं संरक्षणका लागि मेलम्ची इन्द्रावती नदी कोरिडोर एकीकृत विकास आयोजना सञ्चालन गरिनुपर्ने, बाढीबाट विस्थापित समुदायलाई तत्काल वैकल्पिक व्यवस्थासहित दीर्घकालीन आवास र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने माग उनीहरूले राखेका छन् । आजको आर्थिक अभियान दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ६ : ४९ बजे

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा आयोगको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

मलेखु । दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई

संविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव

भैरहवा । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको

दाङमा बस दुर्घटना, ७ जना घाइते

तुलसीपुर । दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका

धादिङ बस दुर्घटनाको छानबिन गर्न जाँचबुझ समिति गठन

काठमाडौं । धादिङमा गएराति भएको बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश