१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

केन्द्रको निर्णयले बाँधिएको कांग्रेस सुदूरपश्चिम प्रदेशमा असमञ्जसमा



धनगढी । केन्द्रीय गठबन्धनका कारण सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसलाई सकस परेको छ । जनस्तरमा एक्लै चुनाव लड्न दबाब बढे पनि केन्द्रका कारण कांग्रेस सुदूरपश्चिमको नेतृत्व तह भने द्विविधामै छ ।

‘जनस्तरमा एक्लै चुनाव लड्नुपर्ने दबाब आइरहेको छ,’ नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले भने, ‘तर केन्द्रीय निर्णयका कारण हामी स्वविवेक प्रयोग गर्ने अवस्थामा पनि छैनौं, जनअपेक्षा विपरीत जानुपर्ने बाध्यता छ ।’

नेपाली कांग्रेसले केन्द्रीय मर्मअनुसार सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो सहभागिता हुनुपर्ने माग राख्दै आएको छ । तर सरकारमा सहभागी एकिकृत समाजवादी पार्टी र माओवादी केन्द्र भने तत्काल कांग्रेसलाई सरकारमा ल्याउन चाहिरहेका छैनन् । उनीहरूले कांग्रेसलाई सरकारमा नल्याउनुको तात्पर्य पनि केन्द्रीय गठबन्धन नै रहेको बुझ्न सकिन्छ । केन्द्रले तालमेल गर्ने निर्णय गरेपछि प्रदेश तथा जिल्ला तहको नेतृत्व सोही निर्णयलाई मानेर जानेमा दुई दल ढुक्क छन् । जसकारण उनीहरूले कांग्रेसलाई सरकारमा लैजान आनाकानी गरिरहेका छन् ।

‘स्थानीय तहको निर्वाचनअघि सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई सहभागी गराउने सम्भावना देखिँदैन,’ एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभाकी प्रमुख सचेतक दुर्गा कामीले भनिन्, ‘अहिले त्यस विषयमा कुनै छलफलसमेत भएको छैन ।’ स्थानीय तहको निर्वाचनअघि प्रदश सरकारमा आफ्नो पार्टीले त्याग गर्न नसक्ने उनले प्रस्ट्याइन् ।

२५ चैतदेखि चुनावी आचार संहिता लागू हुने भएका कारण पनि चुनावअघि कांग्रेस सरकारमा जान सक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘आजभोलि नै कांग्रेसलाई सरकारमा लैजाने विषयमा केन्द्रमा छलफल भइहाले पनि त्यसअघि हामीसँग छलफल भइहाल्छ,’ कामीले भनिन्, ‘तर अहिलेसम्म केन्द्रबाट त्यसतो छलफल भएको छैन, प्रदेशस्तरमा पनि त्यस विषयमा कुनै छलफल भएको छैन ।’ आफूहरूले कांग्रेसलाई सरकारमा ल्याउन चाहेको तर स्थानीय निर्वाचनअघि त्यो सम्भव नरहेको उनि बताउँछिन् ।

उनले कांग्रेस दोहोरो चरित्र देखाउने गरी आफ्ना क्रियाकलाप गर्न थालेको बताइन् । जनताका पक्षमा भन्दा पनि आफ्ना स्वार्थका लागि कांग्रेसले सदनमा बार्गेनिङ गर्ने गरेको उनको आरोप छ । ‘आफ्ना योजनामा बजेट हाल्न होस् वा अन्य व्यक्ति केन्द्रित स्वार्थलाई मध्यजनर गरेर मात्रै कांग्रेसले सदनमा आफूलाई प्रस्तुत गरिरहेको छ,’ प्रमुख सचेतक कामीले भनिन्, ‘जनताका पक्षमा अहिलेसम्म कुनै एजेन्डा कांग्रेसले ल्याएको छैन, अहिले तालमेल तोड्ने भन्दै आवाज उठेका छन्, त्यसमा पनि बार्गेनिङ नै देखिन्छ ।’

केन्द्रमा पाँचदलीय गठबन्धनका कारण बाँधिएका कारण प्रदेशमा कांग्रेस एक्लै हिँड्नसमेत सक्ने स्थितिमा छैन । सरकारमा सहभागी दलहरूले स्थानीय तहको निर्वाचनपछि मात्रै कांग्रेसलाई सरकारमा सहभागी गराइनुपर्ने धारणा राखेका छन् भने कांग्रेसले चुनावअघि नै सरकारमा सहभागी हुनुपर्ने अडान राखेको छ ।

‘केन्द्रदेखि देशका ६ वटा प्रदेशमा गठबन्धन दलहरूले सरकार सञ्चालन गरिरहेका छन्,’ नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बलायरले भने, ‘सुदूरपश्चिममा पनि कांग्रेसले भाग पाउनु पर्छ भन्ने हाम्रो माग हो, त्यसका लागि छलफल भइरहेको छ ।’ उनले केन्द्रीय स्तरमा त्यसबारेमा छलफल भएको बताए । ‘केन्द्रले जतिसुकै वेला पनि सरकारमा जाने सहमति गर्न सक्दछ,’ उनले भने, ‘त्यो निर्णय गर्ने अधिकार हामीसँग छैन, तर २५ चैतअघि नै कांग्रेसलाई सरकारमा लैजाने सहमति हुन सक्दछ ।’

कांग्रेस सरकारमा गए बदनाम भएको सरकारलाई छिट्टै जनताको आशाको केन्द्र बनाउन सक्ने उनले बताए । ‘कांग्रेसले जनताको पक्षमा काम गर्ने छ,’ उनले भने, ‘जनतालाई प्रदेश सरकार भएको अनुभूति दिलाउने छ, हाम्रो पार्टी सरकारमा गएको दुई(तीन महिनामै जनताले सरकार भएको अनुभूति पनि गर्ने छन् । सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसले तीन मन्त्री मागेको छ ।

नेपाली कांग्रेसलाई सरकारमा सहभागी नगराए स्थानीय तहको निर्वाचनमा तालमेल नगर्ने भन्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कमिटीले सार्वजनिक रूपमै धम्की दिइरहेको छ । कांग्रेस सुदूरपश्चिम प्रदेश महामनत्री मेघराज खड्काले भने सरकारमा सहभागिताबारे छलफल अगाडि बढेको बताए ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्री, अन्य दुई मन्त्री र एकजना राज्यमन्त्री, एकीकृत समाजवादीबाट चार मन्त्री र तीन राज्यमन्त्री सहभागी छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ४ : ०६ बजे

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान