४ बैशाख २०८१, मंगलबार | April 16, 2024

रुप फेरिएको रुपन्देही



रुपन्देही । पाँच वर्षअघि भैरहवादेखि लुम्बिनी पुग्न एक घण्टा लाग्थ्यो । गौतम बुद्धको जन्मस्थल जान लालायित पर्यटक साँघुरो र भत्किएको सडकका कारण  दिक्क हुन्थे । त्यसमाथि पुराना  र थोत्रा बसको यात्राले पर्यटकीय स्थल पुग्ने पर्यटकको यात्रा पट्यार लाग्दो हुन्थ्यो । लुम्बिनी प्रवेशद्धारमै परेका खाल्डाखुल्डीले साना सवारी साधन सडकमै फस्ने अवस्था थियो । तर, अहिले बुद्धचोकदेखि लुम्बिनी पुग्ने सडक ६ लेनको बनेको छ ।

सडक फराकिलो भएपछि भैरहवा–लुम्बिनीको दूरी छोटिएको छ । अहिले १५ मिनेटमै भैरहवादेखि लुम्बिनी पुग्न सकिन्छ । फराकिलो सडक, डिभाइडरमा राखिएका गौतम बुद्धका मुर्ति र रङ्गिचङ्गी फूलहरुले सडक सुन्दर देखिएको छ ।  फराकिलो बनेको बुटवल– बेलहिया र भैरहवा–लुम्बिनी सडकले रुपन्देहीको रुप फेरिएको छ । यही सडक छेउमै बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलले रुपन्देहीको सान र मान बढाएको छ ।

रुपन्देही जिल्ला गौतमबुद्धको जन्मस्थल पनि हो । यस जिल्लाको नामाकरणको सम्वन्ध पनि गौतम बुद्धसँग जोडिएको छ । गौतम बुद्धकी आमा मायादेवीको जन्म पनि रुपन्देहीको देवदहमै भएको हो । तीनै मायादेवी अत्यन्त सुन्दरी भएकाले उनलाई रुपदेवी भनिन्थ्यो । रुपदेवीबाट अपभ्रंस भएर पछि रुपिदेवी,रुपिन्देही, हुंदै रुम्मिनीदेही भएको मान्यता छ । लुम्विनीलाई अहिले पनि स्थानीय बुढापाकाहरु रुम्मिनीदेही भन्दछन् । त्यही रुम्मिनीदेहीका नामबाट जिल्लाको नाम रुपन्देही रहन गएको हो भन्ने मान्यता छ । लुम्विनी स्थित सुन्दर बगैंचामा विश्राम लिन पुगेकी मायादेवीका कोखबाट बुद्धको जन्म भएको थियो । बुद्ध जन्मिएपछि स्थानीयले रुपदेवी मायादेवीका नामबाट लुम्विनीको नाम रुम्मिनीदेही राखेर अन्ततः सिंगो रुपन्देही जिल्लाको नाम रुपन्देही रहन गएको हो । त्यही रुम्मिनीदेहीको क्रिडास्थल लुम्विनीबाट विस्तार भएको रुपन्देहीको आजको विकास पनि लुम्विनीकै वरिपरी केन्द्रित छ । लुम्विनीलाई केन्द्रमा राखेर यहांका पूर्वाधारहरु बनिरहेका छन् ।

केही समय अघि नेपाली धनाढ्य विनोद चौधरीले भैरहवा–बुटवल सडकखण्डको यात्रा गर्दैगर्दा सामाजिक सञ्जालमा आफु यूरोप पुगेको अनुभूति भएको भन्दै प्रतिक्रिया दिएका थिए । संसार घुमेका चौधरीले दिएको उक्त प्रतिक्रिया हेरेर बुटवलको विषयमा सकारात्मक धारणा बनाउनेहरुको संख्या बढ्यो । छोटो समय पर्यटनमन्त्री बनेका नेकपा एमालेका नेता भानुभक्त ढकालले बुटवल देखि लुम्विनी पुगेपछि यहांँको विकास देखेर आफु आश्चर्य चकित भएको प्रतिक्रिया दिएका थिए । उनले पनि बुटवल भैरहवा क्षेत्रको विकासले युरोपको झल्को दिएको वताएका थिए ।

संसारका ५० भन्दा बढी देश घुमिसकेका युवा अर्थशास्त्री विज्ञानवावु रेग्मीले शनिवारमात्रै बुटवलमा पत्रकार सम्मेलन गरेर नेपालमा युरोपको जस्तै लाग्ने विकास बुटवल क्षेत्रमा देखेको बताए । अमेरिका वस्दा बुटवल क्षेत्रको विकासका विषयमा सुनेका रेग्मीलाई नेपाल आएका बेला बुटवल घुम्ने रहर जागेर आएको प्रतिक्रिया दिनुभयो । बुटवलबाट मुलुकको विकास र सम्मृद्धि शुरु भएको अनुभूति उनले गरे । पछिल्ला ५ वर्षयता बुटवल र आसपासका क्षेत्रको विकासले गति लिएको छ । नेकपा एमालेका उपाध्यक्ष तथा २ पटक अर्थमन्त्री भइसकेका यस क्षेत्रका सांसद विष्णु प्रसाद पौडेल यहांँको विकासका परिकल्पनाकार हुन । आफु अर्थमन्त्री भएको मौकामा उनले यस क्षेत्रका ठूला ठूला पूर्वाधारहरुमा बजेट विनियोजन गरेर काम अघि बढाए ।
विकासे नेता भनेर चिनिने पौडेललाई यहाँका पालिका प्रमुख उपप्रमुखको पनि साथ रह्यो । पौडेलले परिकल्पना गरेका आयोजनाहरु सम्पन्न गर्न बुटवल, तिलोत्तमा, सैनामैना, देवदह र भैरहवाका जनप्रतिनिधिहरुले कम्मर कसेर काम गरे । जसका कारण पौडेलले नेतृत्व गरेका विकासे मुद्धाहरुले सार्थकता पाउंदै गए ।

नेपालकै दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनमा आएसँगै बिमास्थल भित्रिन र बाहिरिन आवश्यक पर्ने सडक सञ्जालहरुको परिकल्पना पौडेलले शुरुमै गरेका थिए । जसअनुसार अहिले जिल्लाका १६ वटै पालिकालाई जोडेर सडक सञ्जाल बनेको छ ।  कतिपय ठाउँमा ढिलासुस्ती भए पनि अधिकांश ठाउँमा काम सम्पन्न भइसकेका छन् ।

तिनाउ र दानव नदी किनारै किनार भारतीय सीमानासम्म पुग्ने नदी करिडोर सडक निर्माण पनि शुरु भएको छ । यसले भारतीय पर्यटकलाई भैरहवा विमानस्थलसम्म अथवा बेथरी बेलवास हुँदै बुटवल–पाल्पा–पोखरासम्म यात्रा गर्ने छोटो र सजिलो सडक बन्दै छ । वीचमा नहर सहितको यो सडक नमुना पर्यटन सडक हो ।
बुटवल–नारायणगढ, बुटवल–गोरुसिङ्गे र बुटवल–पोखरा सडक ६ लेन, चार लेन र डेडिकेटेड सडकको रुपमा विस्तार हुँदैछन् । प्रादेशिक स्तरको रामापिथेकस जुलोजिकल पार्कको व्यवस्थापन योजना बन्नु, धार्मिक—साँस्कृतिक हिसावले अन्तर्राष्ट्रिय महत्व राख्ने लुम्बिनीको गुरूयोजनाले पूर्णता पाउदै छ । बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबामा सुरुङमार्ग निर्माणकालागि टेण्डर भइसकेको छ ।  बुटवलको तिनाउ पुलमा सिग्नेचर ब्रिज बन्दै छ । रुपन्देही पूर्वाधार विकास मात्र होइन उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य र पर्यटनको केन्द्र बनेको छ ।

पालिका क्षेत्रभित्र रहेका विभिन्न स्थानहरूमा पर्यटन पूर्वाधारहरूको विकास हुदै छ । हिल स्टेशन, चिडियाखाना, बोटानिकल गार्डेन, धार्मिक एवम् साँस्कृतिक स्थलहरूको प्रवद्र्धन र विकास, ऐतिहासिक स्थलहरूको प्रवद्र्धन र विकास, बैठौलियामा जल पर्यटन, पर्यापर्यटन, कृषि फार्मसहितको कृषि पर्यटन, खेल तथा साहसिक खेल पर्यटन, इको पर्यटन आदिको प्रवद्र्धन र विकास गर्ने योजना बुटवल उपमहानगरपालिकाको छ ।

पर्यटन क्षेत्रलाई पालिकाको आर्थिक समृद्धिको प्रमुख मेरूदण्डका रूपमा विकास गर्नका लागि सबै यहांका पालिकाहरुले  योजना बनाएका छन् ।  पर्यटनका लागि आवश्यक पर्ने विभिन्न स्तरका होटल तथा लज, विशेष यातायात सुविधा,पर्यटक बस सेवा, विद्युतीय यातायात, विभिन्न प्रकारका रिसोर्ट, होमस्टे, स्थानीय अर्गानिक र रैथाने उत्पादनका लागि निजी क्षेत्र, सहकारी एवम् स्थानीय समुदायसँंग सहकार्य गरि पालिकाले कार्यक्रम तय गरेका छन् ।

बुटवलको ड्रिम प्रोजेक्टको रूपमा निर्माण सुरू गरिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र  अन्तिम चरणमा पुगेको छ । २०७१ साल माघ १५ गते सम्मेलन केन्द्रको शिलान्यास गर्दा पाँच वर्षमा निर्माण सक्ने भनिए पनि रूख कटानमै २७ महिना अल्मलिएपछि ढिलो गरी निर्माण थालिएको थियो ।
आकाशबाट हेर्दा चन्द्र–सूर्य अंकित नेपालको झण्डा आकारमा निर्माण गरिएको सम्मेलन केन्द्र डिजाइन गरिएजस्तै आकर्षक देखिएको छ । पूर्वपश्चिम राजमार्गको दक्षिणतर्फ बुटवल रामनगरमा सम्मेलन केन्द्र निर्माण गरिएको हो ।

पछिल्लो समय बनिरहेका ठूला पूर्वाधारले रुपन्देही वृहत् शहरका रुपमा विकसित हुँदै छ ।  तीव्र रूपमा भइरहेको बसाईसराइले यो क्षेत्र भरिँदै गएको छ । बुटवलदेखि भैरहवासम्मको सडक छेउ शहरीकरण भइसकेको छ । सैनामैनाको सालझण्डीसम्म उस्तै शहर छ । दक्षिणतर्फ फर्साटिकर, अमुवासमेत शहरीकरण भइरहेका छन् ।
तिलोत्तमा नगर प्रमख वासुदेव घिमिरेका अनुसार सुन्दर र सफा सहर निर्माणका लागि नियमित सरसफाइ अभियान चलाइएको छ । खुला प्लाष्टिकमुक्त क्षेत्र घोषणा नै गरेर तिलोत्तमालाई सुन्दर सहरको रुपमा विकास गरिएको घिमिरेको भनाइ छ । सहरलाई आधुनिक र सुरक्षित बनाउन भैरहवा र तिलोत्तमाको सडकमा सौन्दर्यकण गरिनुका साथै ट्राफिक लाइट समेत राखिएको छ । बुटवलमा पनि राख्ने तयारी उपमहानगरले गरेको छ ।

बुटवलमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले रुपन्देहीलाई अझै चलायमान बनाउनेछ ।  त्यस्तै सैनामैनाको कर्साघाटमा बन्ने आधुनिक कृषिउपज निर्माण, रंगशाला, र बुटवल–नुवाकोट र बुटवल– बसन्तपुर केवलकारले बुटवल मेगासिटीको  सपनालाई मूर्तरूप दिनेछन् । आधुनिक सहरको जनघनत्वलाई थेग्ने गरी खानेपानीको प्रबन्ध गर्न झुम्सा खोला खानेपानी आयोजनाको काम थालिएको छ । बुटवलमा दैनिक ३ करोड लिटरभन्दा धेरै पानी आउने गरी कामको थालनी भइरहेको बुटवल उपमहानगरपालिकाका अध्यक्ष शिवराज सुवेदीको भनाइ छ । “अरु पालिकालाई अभिभावकत्व दिने गरी उपमहानगरलाई आमा शहरका रुपमा विकास गर्दै छौँ”, प्रमुख सुवेदीले भने । यस्तै सिद्धबाबाको सुरुङ मार्ग र कालीगण्डकी तिनाउ डाइभर्सनले पनि यो सहरलाई अझै आकर्षक बनाउनेछन् । सिद्धबाबामा खसिरहने पहिरोबाट हुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण छ । माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक हजार ३ सय मिटर क्षेत्रमा सुरुङ मार्ग निर्माण हुँदै छ ।

डाइभर्सनपछि तिनाउमा जल पर्यटक भित्र्याउने योजना छ । ती पर्यटक लुम्बिनीबाट बुटवल हुँदै पाल्पाको तानसेनसम्म पुग्नेछन् । पूर्व अर्थमन्त्री पौडेल र उद्योग मन्त्री लेखनाथ भट्टले २१ फागुन ०७७ मा शिलान्यास गरेको मोतीपुर औद्योगिक क्षेत्र पनि निर्माणको क्रममा छ । १ चैत ०७२ को मन्त्रिपरिषद्को बैठकले सात वटै प्रदेशमा एक हजार बिघाका ठुला औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेअनुसार मोतीपुरमा औद्योगिक क्षेत्र निर्माण सुरु भएको हो । जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोदन गाउँपालिकाको ८ सय १३ बिघा क्षेत्रफलमा मोतीपुर औद्योगिक क्षेत्र बनाइँदै छ ।

बुटवललाई मेघासिटीका रुपमा निर्माण गर्न विभिन्न पूर्वाधारहरू, नमुना अटोभिलेज, नमुना ट्रान्सपोर्ट भिलेज बनिसकेका छन् । यसले सहरमा हुने अनावश्यक भीड र कुरुपतालाई नियन्त्रण गर्ने छ ।  बुटवलदेखि भैरहवा र लुम्बिनीसम्म विद्युतीय बस सञ्चालनमा आएको छ ।
बुटवल उपमहानगरपालिका–१२ ढवाहामा ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानी ग्राम निर्माण भएको छ । बुटवलको व्यस्त सहरी क्षेत्रमा हेवी लोडका सवारीसाधनलाई छिर्न नपर्ने र ट्राफिक व्यवस्थापन गर्न निजी क्षेत्रसँगको सहकार्यमा उपमहानगरले अलग्गै ढुवानी ग्राम निर्माण गरेको हो । ३ बिघा क्षेत्रफलमा सार्वजनिक–निजी साझेदारीको करिब ३७ करोड लागतमा ढुवानी ग्राम निर्माण भएको हो । ढुवानी ग्राम राजमार्ग क्षेत्रबाट ३.६ किलोमिटर दूरीमा छ ।

स्वास्थ्य र शिक्षामा पनि यो जिल्लाले फड्को मारेको छ । यहाँका नीजि तथा सामुदायिक विद्यालयको गुणस्तर वृद्धि भएपछि अध्ययनका लागि काठमाडौँ जानुपर्छ भन्ने मान्यता हटेको छ भने स्वास्थ्य क्षेत्रमा भएको विकासले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ । यहाँँ लुम्बिनी प्रादेशिक अस्पताल, भिम अपताल र  भैरहवा मेडिकल कलेज छन् । यसका अलावा  एक दर्जन बढी नीजि अस्पताल सञ्चालनमा छन् ।

गौरवपूर्ण इतिहास र राष्ट्रिय स्वाधीनताको प्रतिक जितगढी किल्लालाई संरक्षण तथा प्रवद्र्धन गर्ने क्रममा उजिर सिँहको पूर्ण कदको शालिक स्थापना हुनु, जीतगढी (बटौली) युद्ध संग्रहालयको निर्माण कार्यको प्रकृया अघि बढ्नु, मोतिपुरमा थारू संग्रहालय तथा थारू सांस्कृतिक ग्राम र आवास क्षेत्रको योजना कार्यान्वयन गर्न विस्तृत परियोजना प्रस्ताव तयार हुनु, अटो भिलेज, ट्रान्सपोर्ट भिलेजजस्ता कार्यहरूले व्यवस्थित र विशिष्टिकृत सहरीकरणको आरम्भ भएको छ ।

यी विभिन्न योजनाका कारण रुपन्देही देशलाई विकास सिकाउने थलोका रुपमा परिणत भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया सडक लगायत अन्य पूर्वाधार निर्माणले रुपन्देही विकासका लागि सिक्न आउने ठाउँ बनेको पूर्वअर्थमन्त्री  पौडेलको भनाइ छ । “रुपन्देहीको तिनाउ र दानव नदीमा दर्जनौ पुल बनेका कारण वारी र पारीको विभेद हटेको छ”, उनले भने ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  २ : ४१ बजे

नेप्से परिसूचक आज पनि ओरालो लाग्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

कानुनको सफल कार्यान्वयनबाट मात्रै सुशासनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै

लुम्बिनीका संसदीय समिति सर्वसम्मत चुनिदै

बुटवल । लुम्बिनी प्रदेश सभाका सात विषयगत समितिका सभापति सर्वसम्मत

धूम्रपान र सुर्तिजन्य पदार्थ नियन्त्रण गर्दै नेपालगन्ज

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले धूम्रपान तथा सुर्तिजन्य पदार्थको नियन्त्रण र

‘एक पैसा कहिलेलाई ? बागलुङ्को चैतेदसैँलाई….’

बागलुङ । बागलुङको ऐतिहासिक चैतेदसैँ मेलालाई लिएर थुप्रै गीत रचिएका