१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

जनकपुरधामको फोहरमैला व्यवस्थापन उम्मेदवारको प्रमुख चुनावी मुद्दा



जनकपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले चुनौतीपूर्ण बनेको जनकपुरधाम नगर क्षेत्रको फोहर व्यवस्थापनको मुद्दालाई प्रमुख चुनावी मुद्दा बनाएका छन् ।

विभिन्न दल तथा स्वतन्त्ररूपमा नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवार चुनौतीपूर्ण देखिएको जनकपुरधाम नगर क्षेत्रको फोहरमैला व्यवस्थापनलाई चुनावी मुद्दा बनाएका हुन् । उम्मेदवारले नगर क्षेत्रको फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिलसाइट निर्माण गरी फोहरबाट मोहर बनाउने चुनावी एजेण्डाका रूपमा उम्मेदवारले अघि सारेका छन् ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लालकिशोर साहले फोहरमैला व्यवस्थापन गरी जनकपुरधामलाई आकर्षक एवं आधुनिक सहरका रूपमा विकास गर्ने प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । आफ्नो अघिल्लो कार्यकालमा नगर क्षेत्रको सरसफाइान सुधार ल्याउने प्रयास गरिए पनि डम्पिङसाइट निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन नभएकाले सफल हुन नसकेको भन्दै निवर्तमान नगरप्रमुख साहले आफू पुनः निर्वाचित भए ती कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“निर्वाचित भएदेखि नै नगर क्षेत्रलाई सफा, सुन्दर नगर बनाउने सोचका साथ सरसफाइमा जोड दिए पनि डम्पिङसाइट निर्माणका लागि जग्गा व्यवस्थापन हुन नसकेकाले गर्न सकिनँ”, उनले भने, “अब निर्वाचित भए तत्काल ल्याण्डफिलसाइट निर्माण गरेर फोहरबाट मल बनाउने कार्यलाई अघि बढाउँछु ।” त्यसका लागि डिपिआर तयार भइसकेको उनको भनाइ थियो ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले जनकपुरधाम उपमहानगरपालिकाभित्रको फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिलसाइट निर्माण गरी फोहरबाट मोहर बनाउने सङ्कल्पपत्र सार्वजनिक गरेका छन् । जनकपुरधामको परिक्रममा सडकलगायत विभिन्न सार्वजनिकस्थलमा शौचालयको निर्माण गर्नुका साथै नगर क्षेत्रको प्रत्येक २०० मिटरमा फोहरमैला सङ्कलन गर्ने सञ्जाल निर्माण गर्ने चौधरीको सङ्कल्पपत्रमा उल्लेख छ ।

मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगर क्षेत्रमा सबैभन्दा बढी चुनौतीपूर्ण सरसफाइको अवस्था देखिएकाले यसमा सुधार ल्याउने र नगर क्षेत्रलाई सफा, सुन्दर बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको चौधरीले सुनाए ।

“बढ्दो जनघनत्व र सडकमै फोहर फ्याँक्ने प्रवृतिका कारण नगर क्षेत्र दुर्गन्धित र फोहर देखिएको छ”, चौधरीले भने, “फोहर व्यवस्थापन गरी सफा, सुन्दर र पर्यटकीय नगरी बनाउने मैले सङ्कल्प लिएको छु, निर्वाचित भएलगत्तै त्यो योजनालाई कार्यान्वयनमा लैजान्छु ।”

नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको मनोजकुमार साहले पनि जनकपुरधाम नगर क्षेत्रको फोहरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेका छन् । आफू निर्वाचित भए सबैभन्दा पहिला उपमहानगरपालिकाभित्र फोहर व्यवस्थापनका लागि सेनेटरी ल्याण्डफिलसाइट निर्माण तत्काल सुरु गराउने प्रतिबद्धता साहको छ ।

नगरप्रमुख पदका अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले पनि आफ्नो ११ बुँदे प्रतिज्ञापत्रमा जनकपुरधाम उपमहानगर क्षेत्रको फोहरमैला व्यवस्थापनमा जोड दिएका छन् । उनले आफू निर्वाचित भएको छ महिनाभित्र उपमहानगरपालिकाभित्र फोहर व्यवस्थापनका लागि डम्पिङसाइटको व्यवस्था गरिने, नियमित फोहर सङ्कलन तथा व्यवस्थापन, ढल निकास, फोहर सङ्कलन व्यवस्थित गर्नुका साथै वृक्षरोपण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै साहले आफू निर्वाचित भएपछि स्थानीय नागरिकलाई सरल, सहज र शीघ्र सेवा प्रदान गर्न सबै काम डिजिटल माध्यमबाट गरिने प्रतिबद्धतासमेत जनाएका छन् । बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण जनकपुर उपमहानगरपालिकाका दैनिक फोहर उत्पादन बढ्दै गएको छ । “केही वर्षअघिसम्म जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा दैनिक छ–सात मेट्रिक टनमात्र फोहर उत्पादन हुन्थ्यो”, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले भने, “अहिले जनकपुरमा दैनिक १० मेट्रिक टन फोहर उत्पादन भइरहेको छ, तर फोहर फ्याँक्ने डम्पिङसाइट बनाउन सकिएको छैन ।” जसका कारण फोहर फ्याल्नै गाह्रो भइरहेको उनको भनाइ छ ।

नगर क्षेत्रको फोहरले ठूलो समस्या निम्त्याउन सक्ने भएकाले समयमै यसको व्यवस्थापन गर्नेतर्फ उपमहानगरपालिका गम्भीर हुनुपर्ने र त्यसका लागि सरोकारवालाले पनि पहलकदमी दिनुपर्ने स्थानीयवासीको भनाइ छ । -रासस

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १० : २४ बजे

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिदै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर । कञ्चनपुरकी कृष्णपुर नगरपालिका-१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी