७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

जनकपुरधाम उपमहानरमा हेबिवेट भिडन्त



जनकपुरधाम । मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाको चुनाव पेचिलो बन्दै गएको छ । प्रदेशको राजधानी भएकाले पनि राष्ट्रिय राजनीतिक पार्टीदेखि मधेस केन्द्रित दलहरूको नजर जनकपुरधामप्रति रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको १२७ पदका लागि एक हजार ९७ जनाले उम्मेदवारी दिएको थिइ । मेयरमा उम्मेदवारी दिएकामध्ये दुई, उपप्रमुखका ३३ मध्ये एक, वडाध्यक्षमा ३३४ मा ११ र खुला सदस्य ३३६मा एक गरी १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अब जनकपुरधाममा एक हजार ८२ जना उम्मेदवार अझै चुनावी मैदानमा छन् । अर्थात् प्रमुखमा ३९, उपप्रमुखका ३२, वडाध्यक्षमा ३२३, महिला सदस्यमा १७४, दलित महिला सदस्यमा १८० र खुला सदस्यमा ३३५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

जनकपुरधाममा आफ्ना उम्मेदवारको भोट माग्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव, एमालेका सचिव रघुवीर महासेठलगायतका चुनावी जनकपुरधाम चुनावीसभा र र्‍यालीमा सहभागी हुने गरेका छन् ।

 

यस्तो छ दलहरूबीच चुनावी प्रतिस्पर्धा

जनकपुरधाम उपमहनगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्रसहित ३९ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि मुख्यतः सत्तारुढ गठबन्धन दल जसपा, एमाले र लोसपाका उम्मेदवार चर्चामा छन् । जनकपुरधाममा कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीलगायतका सत्तारुढ गठबन्धनको तर्फबाट जसपाका लालकिशोर साह, एमालेका शिवकंर साह हिरा र लोसपाका जनकपुरधाम नगर सभापति मनोज चौधरी उम्मेदवार छन् । यी तीनै उम्मेदवारमध्ये गठबन्धनको हिसाबले लालकिशोरको पल्ला भारी देखिएको छ । त्यसपछि चौधरी र हिराको अवस्था देखिएको छ ।

लालकिशोर साह एकपटक उपमेयरमा र एकपटक मेयरमा गरी जनकपुरधाममा दुईपटक निर्वाचित व्यक्ति हुन् । चौधरी जनकपुर बस व्यवसायी संघमा तीनपटक र हिरा जनकपुर उद्योग वाणिज्य संघका एकपटक नेतृत्व गरेका व्यक्ति हुन् ।

जसपा उम्मेदवार साहले पछिल्लो साढे चार वर्षमा उपमहानगरपालिकालाई धार्मिक पर्यटकीय सहर, सडक फराकिलो, नाला व्यवस्थापनदेखि सरसफाइलगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गर्दै विगतका वर्षमा गर्न नसक्ने काम पूरा गर्न नगरवासीले एक मौका पुनः दिने दाबी गर्छन् ।

लामो समयदेखि अलपत्र रहेको एकीकृत सहरी विकास परियोजना सफल रूपमा कार्यान्वयन गराएको, २२ वटा विद्यालयको दुई कोठे भवन निर्माण, विद्यालयहरूमा ल्याब कक्ष, शौचालय निर्माणलगायतका कार्य गरेको साहको दाबी छ । तर, विपक्षी दलहरू एमाले र लोसपाका उम्मेदवारले भने निवर्तमान मेयर साह विकासभन्दा भ्रष्टाचारमा रमाएको र जनताको गुनासो नसुनेको आरोप लगाउने गरेका छन् ।

‘यहाँका जनताले साहलाई मधेस आन्दोलन, शहीदहरूको सपना सहकार्य गर्न पाँँच वर्षको समय दिएको थियो,’ चौधरीले भने, ‘तर उहाँले यी अवधिमा विकास निर्माण त दूरको कुरा हो । जनकपुरधामको फोहोर व्यवस्थापन, लामखुट्टे आतंकलाई पनि न्यूनीकरण गर्न सक्नु भएन । जनकपुरधाम मधेस आन्दोलनको केन्द्र विन्दु हो । यहाँका जनताले मधेस आन्दोलनमा ठूलै योगदान गरेका छन् । त्यसकारण यहाँका जनताले मधेसी जनताको हकअधिकारका लागि लड्ने तथा जनकपुरधामको विकास गर्ने व्यक्तिलाई यस पटक मौका अवश्य दिन्छ ।’

यसअघि यहाँका जनताले तत्कालीन राजपालाई जिताएका थिए । यसपालि पनि लोसपालाई नै मतदान गर्ने चौधरीको दाबी छ ।यता, एमालेका उम्मेदवार हिराले जनकपुरधामका जनताले मधेस केन्द्रित दलहरूलाई पटक पटक जनकपुरधाम बनाउने मौका दिए पनि नसकेको आरोप लगाए । अहिले जनकपुरधाममा मात्र होइन, देशभरिमा एमालेको लहर रहेको उनको भनाइ छ ।

‘जनकपुर उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा व्यापारीको मात्र नभई जनकपुरधामको हरेक समस्या समाधानका लागि मैले पहल गरेको छु, जाहे त्यो लोडसेडिङविरुद्धको आन्दोलन होस्, चाहे जलेश्वर जनकपुर सडक खण्डको विषय हो,’ हिरा भन्छन्, ‘मैले हरेक मोर्चामा अग्रस्थानमा रहेर जनकपुरवासीका लागि काम गरेको छु । त्यसकारण जनताले एमालेमाथि विश्वास बढेको छ ।’

स्वतन्त्र उम्मेदवारहरू पनि प्रतिस्पर्धामा

जनकपुरधाम उपमहानगरपालिका करिब दुई दर्जन व्यक्तिले मेयर पदमा उम्मेदवारी दिए पनि तीनजना स्वतन्त्र उम्मेदवार छन् । कांग्रेसको नगर सभापति पद त्यागेर बागी उम्मेदवारी दिएका मनोजकुमार साह, लोसपाले टिकट नदिएपछि टिकट प्रलोभनमा एमालेमा प्रवेश गरेको र एमालेबाट पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका जानकीराम साह र लामो समयदेखि निर्माण व्यवसायीमा संलग्न रमण कन्ट्रक्सनका सञ्चालक बलराम महतोले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

२०७४ सालको निर्वाचनमा निर्वातमान मेयर लालकिशोर साहसँग पराजित भएका मनोजकुमार साहले पार्टीले गठबन्धन गरेपछि त्यसको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । गठबन्धन कांग्रेसको पक्षमा नरहेको र कांग्रेसजनले आफूलाई नै मतदान गर्नेमा उनी विश्वस्त छन् ।

‘निर्वातमान मेयर साह भ्रष्टाचार र कमिसनमा लिप्त रहे । उनले जनतासँग गरेको वाचा एउटा पनि पूरा गर्न सकेनन्,’ मोनजकुमार भन्छन्, ‘उनीसँग न भिजन थियो र न त काम गर्ने मनसाय नै थियो । त्यसकारण जनताको सहानभूति यसपालि मप्रति छ ।’

स्वतन्त्र उम्मेदवार जानकीराम साहले जनकपुरधाम(७ का निवर्तमान वडाध्यक्षसमेत हुन् । आफूले पछिल्लो साढे चार वर्षमा गरेको कामलाई मूल्यांकन गरेर जनताले मत दिने बताउँछन् । ‘वडाध्यक्ष अध्यक्ष भएर पनि मैले निर्वतमान मेयर साहको क्रियाकलापविरुद्ध निरन्तर संघर्ष गरेको छु,‘ उनी अगाडि भन्छन्, ‘जनकपुरधामको विकासका लागि नियत र नीति स्पष्ट हुनुपर्छ, जुन वर्तमान अभाव देखिएको छ ।’

‘लालकिशोरजीले काम गरेनन्, यो सत्य हो । तर, प्रमुख प्रतिपक्षी दलको भूमिकामा मनोजजी कहिल्यै किन अगाडि आउनुभएन, किन पाँच वर्ष मौन भएर बस्नु भयो रु लालकिशोर दोषी हो भने मनोज पनि त्यसको भागिदारी हुनुहुन्छ,’ उनी भन्छन्, ‘बलरामजी ठेकेदार हुन् । उहाँलाई ठेक्कापट्टा गर्न राम्रो ज्ञान छ । तर, उम्मेदवारी दिएर उहाँ लालसा मात्र पूरा गर्न खोजेका हुन् ।’

यता, बलराम महतोले भने आफूले जनकपुर बनाउन र जनताको सेवा गर्न उम्मेदवारी दिएको बताउँदै आएका छन् । ‘अन्य दलका उम्मेदवारविरुद्ध कम बोल्ने स्वतन्त्र उम्मेदवार महतोले भन्छन्, ‘नेताहरूले जनकपुरधामलाई बनाउन सकेनन् । जनताले जनकपुर बनाउन एकपटक मलाई मौका दिन्छन् ।’

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १ : २५ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा