निजगढमा विमानस्थल बनाउन रोक लगाउनु गलत : माधव नेपाल

खबर कुरा
१३ जेष्ठ २०७९, शुक्रबार
                 

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुःखद भएको बताएका हुन् । नेपालले लामो समयको अध्ययनपश्चात निजगढमा विमानस्थल बनाउनु उपयुक्त हुने निष्कर्षका साथ काम भएको भन्दै त्यसरी रोकिनु गलत भएको टिप्पणी गरे । विमानस्थल निर्माणमा अर्बौ रुपैया खर्च भइसकेको र जग्गा समेत अधिग्रहण भइसकेको अवस्थामा काम रोकिनु गलत हो, उनले भने

नेपालले भने– ‘यो विमानस्थलको बारेमा हामीलाई सबै थाहा छ । धेरै लामो समयसम्म छलफल गरेपछि १९९५ देखि यो प्रक्रिया अगाडि बढेर, १० वटा स्थानको गहिरो अध्ययन गरेर सबैभन्दा उपयुक्त स्थान भनेको यही निजगढ हो भन्ने कुरालाई ल्याएर त्यहाँ जम्मा ८ हजार हेक्टर जमिनमा विमानस्थलको निम्ति आवश्यक पर्ने र वनको पनि विनाश नगरेर, त्यसलाई व्यवस्थापन गरेर विमानस्थल बनाउने कुरा भइसकेपछि अहिले फेरि रोकिएको कुरा सुनिन्छ । यो मास्टरप्लान तयार भइसकेको स्थितिमा । झन्डै ३ अर्ब रुपैयाँ नागरिक उड्ययन प्राधिकरणले खर्च गरिसकेको अवस्थामा, जग्गाहरु अधिग्रहण गरिसकेको अवस्थामा, अझै त्यसैको लागि नै २ खर्ब रुपैयाँको फास्टट्रयाक त्यति खर्च भइसकेको स्थितिमा, फास्टट्रयाक त्यही कामको निम्ति बनाउने अवस्थामा अहिलेको निम्ति जम्मा १९ सय हेक्टरभित्र ४ हजार मिटरको रनवे बनाएर त्यसलाई काम अगाडी बढाउन सकिने अवस्थामा रोकिएको कुरा सुन्नमा आयो । बडो दुःख लाग्यो मलाई । विकासका अभियन्ता सबै हुनुपर्ने हो । सबैको साझा देश हो । देशको विकासमा लाग्नुपर्ने हो । तर त्यस्तो नगरेर रोक्न खोजेको कुरा बडो दुःखको कुरा म ठान्दछु । त्यो विमानस्थलको विकल्प के ? रिजनल हबको रुपमा विकास गर्न सकिने त्यो विमानस्थल । त्यो ठाउँ उपयुक्त छ भनेर धेरै गहिरो, व्यापक अध्ययन पछि बल्ल बल्ल त्यो निर्धारण गरिएको हो ।’

अध्यक्ष नेपालले विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामा पुनर्विचार हुनुपर्ने बताए । सरकार र राजनीतिक दलहरुले पनि यस विषयलाई गम्भिरताका साथ लिनुपर्ने उनले धारणा राखे । निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त भएको उनले उल्लेख गर्नुभयो । त्यहाँ विमानस्थल बनाउँदै गर्दा वनविनाश नभएको र वन्यजन्तुको आगमनलाई समेत असर नपरेको नेपालले जिकिर गरे । उनले भने – ‘मैले पटक–पटक निजगढ विमानस्थलको भ्रमण गर्ने, निरिक्षण गर्ने मौका पनि पाएको हो । त्यहाँ सुरुमा जाँदाखेरी अलिकति वरिपरी जग्गा थियो त्यहाँ । अहिले पछिल्लो पटक जाँदाखेरी मान्छेले सबै जंगल सखाप पारिसकेका छन् । जंगल छदै छैन त्यहाँ । जंगल नै नभएको ठाउँमा विमानस्थल नबनाउनु भनेर यो रोक्ने कुराको पछाडीको कारण के हो ? कतै अरु अरु चिजबाट हामी प्रभावित त भएका छैनौँ ? यस बारेमा गहन चिन्तन होस् । त्यो निर्णयको बारेमा पनि सम्बन्धित निकायले आफैले पनि त्यस बारेमा बिचार गरोस् । र नेपाल सरकारले यसलाई गम्भिरताका साथ, राजनीतिक दलहरुले गम्भिरताका साथ यसबारेमा कसरी अगाडी बढ्न सकिन्छ, त्यसमा जानुपर्ने आवश्यकता छ । निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त छ । त्यहाँ वन विनाशलाई असर पारेको छैन । वन्यजन्तुको आगमनलाई पनि असर पारेको छैन । त्यसबारेमा म नेपाल सरकारको ध्यान आकर्षित गर्न चाहान्छु ।’

अध्यक्ष नेपालले निर्वाचन प्रणाली महंगो भएकाले यस्तो प्रणालीमाथि विचार गर्नुपर्ने बेला आएको बताए । उनले भ्रष्टाचारको जालोलाई समाप्त पार्नका लागि स्वच्छ राजनीति गर्नुपर्ने पनि बताए । समानुपातिक निर्वाचन प्रणालीमा गएपनि निर्वाचनमा हुने खर्च नरोकिने उनले जिकिर गरे । नेपाले भने, भन्नुभयो – ‘भ्रष्टाचारको जालोलाई तोड्ने काम गरौँ । भ्रष्टाचार व्याप्त छ । जुनसुकै कुरामा पनि भ्रष्टाचार, बिना पैसाको कुनै काम हुँदैन । यसलाई समाप्त पार्न सबैभन्दा पहिले हामी स्वच्छ राजनीति गरौँ । निर्वाचनको प्रणालीको बारेमा चर्चा गर्दाखेरी अहिले निर्वाचन अत्यन्त महंगो भएको छ । निर्वाचनमा पैसाको विक्रि, वितरण हुने स्थिति । भोजभतेरको स्थिति । के राज्यले रोक्न सक्दैन ? निर्वाचन आयोगले नियन्त्रण गर्न सक्दैन ? निर्वाचन आयोगले नियन्त्रण गर्न सक्दैन, राज्यले नियन्त्रण गर्न सक्दैन भने नियन्त्रण गर्ने कसले ? निर्वाचन प्रणाली, निर्वाचन गर्ने तरिकाको बारेमा पनि गम्भिरताका साथ बिचार गरौँ । कसै कसैले समानुपातिक निर्वाचन प्रणालीमा गए यो समस्या समाधान हुन्छ भन्छन् म त्यो ठान्दिनँ । समानुपातिक निर्वाचन प्रणालीमा गयो भनेपनि कुरो उही हुन्छ । प्रत्येक गाउँको ठेकदारले गाउँको भोटको लागि पैसा माग्न थाल्छ । अहिले व्यक्तिसँग माग्थ्यो भोली पार्टीसँग माग्न थाल्छ । त्यो समाधान होइन । समाधान भनेको पैसाको जथाभावि दुरुपयोग भएको छ । सबैलाई समाप्त पार्नका लागि पहिले सत्ताको मुल ठाउँमा बसेका व्यक्तिहरु र त्यो अंगमा रहेका व्यक्तिहरु त्यही अनुसारको धारणामा क्लियर भएर आफ्नो जिम्मेवारीलाई राम्रो ढंगले पुरा गर्ने कुरामा यदी लाग्ने हो भने नसकिने कुरा हुँदैन ।’

अध्यक्ष नेपालले सरकारले विकास निर्माणको काम गर्दा परियोजनाको प्राथमिकिकरण गर्नुपर्नेमा जोड दिए । योजनालाई प्राथमिकिकरण गर्दै समग्र नेपालको विकास खाका बनाउनुपर्ने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*