२० मंसिर २०८२, शनिबार | December 6, 2025

स्थानीय निर्वाचनले युवा पुस्तामा देखाएको राजनीतिक चमक



शहरका सुविधा सम्पन्न विद्यालयमा अध्ययन गरेका म जस्ता युवा पुस्ताले अभिभावकको मुखबाट पुराना अनुभवहरु सुन्दा काल्पनिक दन्त्य कथा जस्तो लाग्छ । दर्शनमा भन्दा विज्ञानमा विश्वास गर्ने हाम्रो पुस्ताले मोबाइल फोन, इन्टरनेट विनाको संसारको कल्पनासम्म गर्न सक्दैन । मानव मानबीच जातीय, लिङ्गीय, क्षेत्रीय भेदभाव हुने कुरा हामी सामान्यतया अनुमानसम्म गर्न सक्दैनौ । धर्मका नाममा विभेद हुन्छ भन्ने कुरा हाम्रो मस्तिष्कमा नै छैन । “राजनीतिमा कुनै चासो छैन” भन्ने पुस्ता भित्रको उमेर समूहका म जस्ता युवाको दिमागमा राजनीतिक सचेतना प्रवेश निकै जोखिमपूर्ण हुने गर्दछ । त्यति हुँदाहुँदै पनि जबरजस्त आफ्नो उमेर समूहमा रहेको राजनीति प्रतिको वितृष्णालाई चिर्दै अगाडि बढ्ने क्रममा हालै भएको स्थानीय निर्वाचनमा बालिक नागरिकको हैसियतले पहिलो पटक मतदान गर्दै गर्दा राजनीतिप्रति स्वभाविक रुपमा चासो बढेको अवस्था छ ।

भर्खरै सम्पन्न स्थानीय निर्वाचनलाई विश्लेषण गर्दा मुख्यतः निम्न ५ वटा तथ्यहरु उजागर भएको देख्न सकिन्छ :

१) दर्शन भन्दा विज्ञानलाई आदर्श ठान्ने युवा पुस्ता ठूलो संख्यामा निर्वाचित जनप्रतिनिधि भई राजनीतिमा प्रवेश भएको देखिन्छ । युवा पुस्तालाई राजनीतिमा आकर्षित गर्दा मुख्यत भावी राजनीतिक नेतृत्व शुन्यताबाट जोगिनुका साथै युवा पुस्ताको चाहना बमोजिम राज्य संचालन भई विकासका प्राथमिकताहरुको वैज्ञानिक ढंगले पहिचान गर्न सकिन्छ । स्थानीय निर्वाचनमा २२ वर्षदेखि ४० वर्ष बीचका धेरै युवाहरु जनप्रतिनिधिको रुपमा निर्वाचित भएबाट युवा पुस्तामा देखिएको राजनीतिक बेवास्तालाई क्रमशः घटाउंदै लैजान सकिन्छ ।

समाजले युवा पुस्ताबाट ठूलो परिवर्तनको अपेक्षा राखेको छ । समाजले राखेको परिवर्तनको चाहना राजनैतिक हस्तक्षेपबाट मात्र सम्भव हुने भएकोले राजनीतिको मुलधारमा युवा पुस्ताको अत्यधिक सहभागिताले मात्र देशको समग्र विकास सम्भव हुन सक्छ ।

२) मत जितेका भन्दा मन जितेका उम्मेदवारहरु जनताका प्यारा हुन्छन् भन्ने यथार्थता धनगढिका गोपाल हमाल, धरानका हर्क साम्पाङ, काठमाडौंका बालेन्द्र शाह, बागमतीका भरत थापा लगायतका धेरै उम्मेदवारले विजय प्राप्त गरेबाट पुष्टि भयो । अर्कोतर्फ अघिल्लो पटक मत जितेका तर मतदाताहरुको मन जित्न नसकेका धेरै उम्मेदवारहरु जनताबाट बहिष्कृत हुन पुगे । यसबाट मत जितेर मात्र राजनीतिमा सफल हुन सकिंदैन, सफल हुनको लागि जनताको मन जित्नुपर्छ भन्ने यथार्थता प्रष्ट हुन पुगेको छ ।

३) निर्वाचनमा असहिष्णुताका साथ प्रस्तुत हुने, दम्भ, अंहकारले ग्रसित, झुठ्ठा आश्वासनका पोकाहरु छरपष्ट पारी जनतालाई क्षणिक प्रभावमा पार्न खोज्ने र विवादित पृष्ठभूमि बोकेका व्यक्तिहरु जनताबाट सधै अस्वीकृत हुन्छन भन्ने कुरा निर्वाचनले पुष्टि गरेको छ । जनताको पक्षमा निरन्तर आवाज निकालिरहने व्यक्तिहरुलाई चुपचाप जनताले गोप्य मतमार्फत अनुमोदन गर्दछन् । तर, जनताको पक्षमा सिन्कोसम्म नभाच्ने व्यक्ति आप्mनै अघिपछि हिँड्ने कार्यकर्ताबाट समेत तिरष्कृत हुन पुग्छन् ।

४) जातजाति, क्षेत्र, लिङ्ग, वर्ण समेतका आधारमा राज्यको मुलधारबाट टाढा रहेका, दलित भएको कारणले छुवाछुतबाट प्रताडित भएका धेरै वादी, कमलरी, हरुवाचर्या, हलिगोठाला, विश्वकर्मा, नेपाली, मुसलमान, जनजाति, महिला, अल्पसंख्यकहरु निर्वाचनमार्फत अधिकारको प्रयोग गर्ने स्थानमा पुग्न सफल भएका छन् । परिणामस्वरुप समाजमा देखिएको भेदभावको जालो विस्तारै च्यातिंदै जाने देखिन्छ ।

५) काठमाडौंमा मधेश मुलका बालेन्द्र साह र वीरगन्जमा नेवार समुदायका राजेशमान सिंह जनअनुमोदित भएबाट सदियौंदेखि एक अर्का समुदायप्रति कायम रहेको विभेद र हिनताबोध जनता आफैले भत्काई दिएका छन् । निर्वाचनमार्फत जनताले सबै समुदायबीच एकता र सहअस्तित्वको सन्देश दिएका छन् ।

राजनीतिप्रति पूरै वितिष्णता फैलिँदै गएको युवा पुस्ताको दिमागमा अहिलेको निर्वाचनले आलोचनात्मक चेतका साथ राजनीतिलाई
नोटिस गर्न प्रेरित गरेको छ । निर्वाचनमार्फत स्थानीय तह नेतृत्वमा पुगेको युवा पुस्ताको दर्बिलो उपस्थितिले आगामी पाँच वर्षका लागि साँच्चिकै स्थानीय समस्या पहिचान र विकास निर्माणमा डोब बनाउन सक्यो भने भोलिको दिनमा पुनः राजनीतिक सचेतनाको आकर्षण बढ्न सक्ने देखिन्छ ।

समग्रमा निर्वाचनले युवा पुस्तालाई उल्लेख्य रुपमा राजनीतिमा जोडेको छ । परिणामलाई विर्सेर देश निर्माणमा मेरो पनि सहभागिताको आवश्यकता छ भन्ने भावनाका साथ आपसमा मिलेर देश विकासमा सबैले आ-आफ्नो तर्फबाट योगदान गर्दै अघि बढौं । आजको युवा पुस्ता र भावी पुस्ताले समेत गर्व गर्न लायक देश निर्माणमा जुटौं ।

 

(सापकोटा नेपाल ल क्याम्पसमा बीएएलएलबी दोस्रो सेमेस्टरमा अध्ययनरत छिन्।)

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ८ : ११ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय