समृद्ध भरतपुर नै मेरो सपना हो : रेनु दाहाल, प्रमुख, भरतपुर महानगरपालिका

खबर कुरा
२० जेष्ठ २०७९, शुक्रबार
                 

काठमाडौं । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बनेकी रेनु दाहालले दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी पाएकी छन्। उनी आफ्नो निकटतम् प्रतिस्पर्धीभन्दा १२ हजार ४४९ बढी मत ल्याएर महानगर प्रमुखमा निर्वाचित भएकी हुन् । 

दाहालको अबको कार्यकाल कसरी बित्छ ? अघिल्लो कार्यकालमा पूरा हुन नसकेका कामहरू यसपटक सम्पन्न गर्ने योजना बनाएकी छन्? महानगरवासीको अपेक्षा सम्बोधन गर्ने भावी योजनाका विषयमा केन्द्रित रहेर नवनिर्वाचित प्रमुख दाहालसँग राससकर्मी नारायण ढुङ्गाना र नारायण अधिकारीले काठमाडौंमा भएको भेटमा गरेको कुराकानीको सम्पादित अंश:

तपाईं आफ्नो पहिलो पाँच वर्षे कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ?

पहिलोपटक म भरतपुर महानगरमा नयाँ थिएँ। के गर्ने, कसो गर्ने कताबाट कामको थालनी गर्ने भन्नेमा अनभिज्ञ थिएँ। पाँच वर्षको बीचमा भरतपुरको समग्र वस्तुस्थिति, भौगोलिक अवस्था र जनताको मनोविज्ञानको बारेमा नजिकबाट बुझ्ने अवसर मिल्यो। पाँच वर्षको अनुभवले जनताको आवश्यकता र विकासका हिसाबले परिपक्क भएको अनुभव भएको छ। कोभिडको महामारीका बीच पनि पाँच वर्षमा धेरै कामको सुरूआत भएका छन्। महानगरको विकासमा पहिलो कार्यकाल सकिँदै गर्दा पनि विकास भएन, गर्न सकेन भन्ने जनगुनासो सुन्नुपरेको छैन।

देशको केन्द्र भागमा रहेर पनि भरतपुर विकासमा धेरै पछि परेको थियो। बाटाघाटा बजार क्षेत्रमा मात्रै थिए। ग्रामीण क्षेत्रमा सडक कालोपत्रे थिएन, जीर्ण अवस्थामा थियो। एक सय मिटर कालोपत्रे नभएको वडा पनि थियो। अहिले पाँच वर्षमा हरेक वडामा न्यूनतम २० देखि २५ किलोमिटर र अधिकतम ५०/५५ किलोमिटर कालोपत्रे भएको छ।

हामीले महानगरमा ६२२ किलोमिटर सडक कालोपत्रे गरेका छौं। सडक पूर्वाधारमा मात्रै होइन, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायत समग्र क्षेत्रमा सन्तुलित विकासको ‘मोडेल’ दिन सकेका छौं भन्ने लाग्छ।

तपाईंले दोस्रो कार्यकाललाई कसरी लिनुभएको छ?

पहिलो पाँच वर्षमा विकासको आधार तयार भइसकेको छ, अब त्यसमा थप सिँढी बनाउँदै जाने गरी कामहरू अघि बढाउने छौं। त्यसलाई निरन्तरता दिनुपर्ने एउटा चुनौती छ र गर्न सकिन्छ भन्ने पूरै आत्मविश्वास पनि छ। अन्य केही मुख्य योजनाको पनि कार्यान्वयन गरी यस महानगरपालिकालाई देशकै नमूना बनाउने गरी अगाडि बढ्ने छौं। संघीय सरकारको नीति तथा कार्यक्रमको प्रक्रिया अघि बढेको बेला हामी चुनावमा थियौं।

चुनावमा हार र जित जेसुकै परिणाम आउला तर भरतपुरको योजनाहरूका बारेमा पहल गर्‍यौं र नीति तथा कार्यक्रममा सिंगो चितवनलाई नै विकासमा फड्को मार्ने ढंगले सम्बोधन भएको छ। अनुभवका हिसाबले र समग्र अवस्थाको जानकारीका हिसाबले अबको पाँच वर्ष मेरा लागि अन्तिम अवसर र चुनौती पनि हो।

महानगरवासीको धेरै अपेक्षा छ, ती अपेक्षाअनुसार नै लोकप्रिय मत पनि जनताले दिनुभएको छ। उहाँहरूको अपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्न हुन्न भन्ने कुराको गहिरो बोध छ।

तपाईंले किन पुनः महानगरको प्रमुखमा दोहोरिने निर्णय गर्नुभयो?

मेरो आफ्नो आवश्यकताले भन्दा पनि भरतपुरको आवश्यकतालाई ध्यानमा राखेर दोहोर्‍याएको हुँ। नदोहोर्‍याएको भए सांसद हुन्थें होला, मन्त्री पनि हुनसक्थें। कुनै न कुनै राष्ट्रिय भूमिकामा हुन्थें होला। त्यो सम्भावना थियो तर त्यसो गरिनँ। चितवनको भरतपुर महानगरको कामहरू जसरी अघि बढाइएको छ।

जनताको जे विश्वास पाँच वर्षको अवधिमा प्राप्त गरेको छु, त्यो जनताको विश्वास र म प्रतिको बुझाइ र अपेक्षाका हिसाबले हेर्दा मेरो यहीँ आवश्यकता छ भन्ने कुरा महसुस भयो। धेरै अधुरा काम सम्पन्न गर्नुपर्नेछ। ठूलाठूला गौरवका आयोजनाहरू अघि बढेका छन्। आखिर जसले बच्चा जन्माउँछ, उसैलाई बच्चाको माया बढी लाग्छ नि!

तपाईंको पाँच वर्षे कार्यकालमा संघीय सरकारको सहयोग कस्तो रह्यो?

पहिलो चरणमा पार्टी एकीकरणपछि नेकपा पनि भयो र सरकार पनि नेकपाको बन्यो। त्यतिबेला काम गर्न खासै समस्या भएन। पछिल्लो चरणमा पार्टीभित्र अन्तरविरोध हुन थालेपछि सङ्घीय सरकारको चितवन जिल्ला वा भरतपुरलाई हेर्ने सन्दर्भमा पूर्वाग्रह राखियो। चितवन जिल्ला भन्ने बित्तिकै नकारात्मक रूपमा हेर्ने अवस्था आयो। चितवनको रङ्गशाला निर्माणका लागि जग्गा व्यवस्थापनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसहित हामी प्रधानमन्त्रीकहाँ गएका थियौं जग्गा टुङ्गोमा पुर्‍याइदिनुपर्‍यो भनेर।

सिटी हलको जग्गाको कुरा टुङ्ग्याउनु पर्‍यो भन्दा पनि सकारात्मक रूपमा लिइएन। त्यसपछि हामीले अर्काे ढङ्गबाट रङ्गशालाका लागि कृषि विश्वविद्यालय, महानगरसहित त्रिपक्षीय सम्झौता गर्‍यौं। त्यो विषयका लागि मन्त्रिपरिषदमा प्रस्ताव पनि लगेका थियौं। उहाँले सहयोग नगर्दा हामीले अर्काे ढङ्गबाट काम गर्नुपर्‍यो। महानगरको सिटी हलको विषय सबै प्रक्रिया पूरा गरेर लैजान खोज्दा त्यो पनि रोकिएपछि हामीले तलैबाट समस्या समाधान गर्न सक्यौं।

पछिल्लो चरणमा सिटी हलको बजेट विनियोजन गर्ने कुरा, सडकको बजेट विनियोजन गर्दा हरेक योजनामा सकेसम्म नहोस् भन्नेमा सरकारको दाउपेच चलिरह्यो। छ वटा महानगरमध्ये भरतपुर मात्रै ‘स्मार्ट सिटी’ बनेको थियो तर स्मार्ट सिटीबाट हटाउन लगाइयो। सहरी विकास मन्त्रालयले स्मार्ट सिटी गुरूयोजना पनि बनाएको थियो। प्रधानमन्त्रीले आफ्ना नयाँ सहरहरू थप्नुभयो। नारायणीको गुरूयोजना बनाएर माग गरिएको तटबन्धको बजेटका लागि पनि कुनै ध्यान दिइएन। यसरी विगत पाँच वर्षमा जे जति काम भयो, हामीले धेरै मेहनत गरेर भएको हो। सरकार नै असहयोगी बनेपछि काम गर्न सजिलो थिएन।

तपाईंलाई प्रचण्डको छोरीका रूपमा नभई आफ्नो छुट्टै पहिचान बनाएँजस्तो लाग्दैन?

पहिला कतिपयले नेता प्रचण्डले आफ्नो छोरीलाई राजनीतिमा ल्याए भन्ने टीकाटिप्पणी पनि नभएको होइन। मेरो पृष्ठभूमि जनस्तरसम्म धेरैले नबुझेका कारण त्यसो भनिएको हुन सक्छ। स्कुल पढ्दापढ्दै परिवर्तनको आन्दोलनमा होमियो। रोल्पा, काठमाडौंमा कार्य क्षेत्र हुँदै पार्टीले चितवनमा पठायो। म पार्टीको एक बफादार र प्रतिबद्ध सिपाही हुँ। चुनावलाई आफ्नो पक्षमा ल्याउन मलाई प्रचण्ड पुत्री भनेर बढी प्रहार गरेका थिए। त्यो खालको चुनौतीका बीच मलाई काम गरेर देखाउनुपर्छ भन्ने थियो। पाँच वर्षमा धेरै काम गरेर देखाएँ। म आफ्नै कामले परिचित हुन्छु भनेर सङ्कल्प पनि राखेँ। मेरो कारणले बुबा र पार्टीलाई तथा बुबाको कारणले मलाई यो खालको टीकाटिप्पणी सुन्नु नपरोस् भन्नेमा म एकदम सचेत छु।

विरोधीले पनि प्रश्न गर्न नसक्ने हिसाबले काम गर्छु भन्ने सङ्कल्प राखेको थिएँ। अहिलेको निर्वाचनमा प्रचण्ड पुत्री भन्ने शब्द सुन्नुपरेन। रेनुले यहाँ कमजोरी गर्‍यो भन्ने गम्भीर आरोप पनि सुन्नु परेको छैन। विकास भएन भन्ने सुन्नुपरेको पनि छैन। पाँच वर्षको अवधिमा आफ्नो कर्मले त्यो कुरा मेटाउन सकेँ भन्ने लाग्छ।

अबको कार्यकालमा सबै पक्षलाई समेटेर कसरी अगाडि बढ्नुहुन्छ?

मेरो आफ्नो स्वभाव सन्तुलित छ। केही चिज प्राप्त गर्नका लागि झैंझगडा, किचलो गरेर सम्भव हुन्न भन्ने कुरा मलाई गहिरो बोध छ। गएको पाँच वर्षको कामले पनि त्यो पुष्टि गर्छ।

सबैसँग समन्वय गरी काम गर्ने स्वभावले गर्दा नै जुनसुकै राजनीतिक उतारचढाव हुँदा पनि महानगरको गतिलाई रफ्तारमा अघि बढाउन सकिएको हो।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य थियो। पछिल्लो सङ्घीय निर्वाचनमा एमालेसँग गठबन्धन भयो। त्यो परिस्थितिको बीचमा पनि सुरूदेखि अन्त्यसम्म एउटै रफ्तारमा महानगर अघि बढ्यो।

राजनीतिक हिसाबले भन्दा महानगरको २९ वडामध्ये माओवादीले जितेको तीन वडा मात्रै थियो भने कार्यपालिकामा ३९ सदस्यमध्ये जम्मा तीन जना थिए। सकेसम्म भरतपुरको विकास गर्ने हो, त्यो मिलेर मात्रै सम्भव छ भन्ने बोध थियो र सबैलाई सन्तुलन गरेर अघि बढेको हुँ। निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा रहे पनि अब सबैले महानगरलाई कसरी विकसित, जनमुखी बनाउन सकिन्छ भन्नेमा नै केन्द्रित रहनुपर्छ।

जुनसुकै पार्टीबाट निर्वाचित भएर आए पनि सबैले जनताकै काम गर्ने हो। समृद्ध भरतपुर बनाउने नै मेरो एउटै सपना छ। यसका लागि कसैप्रति कुनै आग्रह वा पूर्वाग्रह नराखी समन्वयात्मक ढङ्गबाट काम गर्न प्रतिबद्ध छु।

निर्वाचन अवधिभर भरतपुर चर्चाको केन्द्रमा रह्यो, खास त्यसको कारण के होला?

मलाई पनि अनौठो नै लाग्थ्यो। तीन महिना अघिदेखि नै चर्चा परिचर्चा भरतपुरकै थियो। फेरि रेनु उम्मेदवार हुने हो कि होइन, को आउने हो भन्ने चर्चा राष्ट्रिय रूपमै थियो।

अर्काे कुरा हिजो पनि गठबन्धनका हिसाबले रेनुलाई दिएको थियो फेरि पनि रेनुलाई दिने हो कि भन्ने कुराहरू पनि भए।

विपक्षी पार्टीले पनि भरतपुरलाई प्रतिष्ठाको विषय बनाएको थियो।चुनावलाई नै लक्षित गरेर नेकपा (एमाले) ले राष्ट्रिय माहाधिवेशनदेखि हरेक कार्यक्रमहरू भरतपुर केन्द्रित गरेको थियो। त्यही कारणले पनि भरतपुर चर्चाको केन्द्र बन्यो।

यहाँको पहिलो कार्यकालमा फोहोरमैला व्यवस्थापनको सम्बन्धमा काम नै भएन भन्ने गुनासो छ नि?

फोहोरमैलाको दीगो सामाधानका लागि नयाँ, आधुनिक र नमूनाजन्य काम गर्न खोजेकै हो। अन्तर्राष्ट्रिय प्रविधिसहित कोरियन सरकारसँग सम्झौता गरिसकेका छौं।

धेरै चरणमा छलफल गरेर गुरूयोजना बनाउने काम सबै टुङ्गिसकेको छ। महानगर, सङ्घीय मामला, अर्थ मन्त्रालय र कोरियन सरकारबीच काम अघि बढाएका छौं।

कोरियन सरकारबाट एक अर्ब २५ करोडको अनुदान दिने निर्णय पनि भइसकेको छ। तर कोरियामा फैलिएको कोभिड महामारीका कारणले यो काम अघि बढाउन सकिएको छैन। अहिलेको स्थानीय तह निर्वाचन भएको भोलिपल्ट नै कोरियाबाट इमेल आइसकेको छ। छिटोभन्दा छिटो आउँछौं, काम अघि बढाउँछौं भन्ने जानकारी आएको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सम्झौता गरेर अघि बढ्न खोजेका थियौं। रु २५ करोडका लागतमा सम्झौता गरेर अघि बढिसकेका बेला कोरियाको प्रस्ताव आएपछि त्यसलाई केन्द्रसँगको सम्झौतालाई रोकर गरेर यता अघि बढेको हो।

कोभिडका कारणले ढिला भएको हो, अब फोहोर व्यवस्थापनको समस्या समाधान हुन्छ।

जनतासँग यहाँको भावनात्मक सम्बन्ध राम्रो भएको निर्वाचन परिणमले देखायो, त्यसलाई कायमै राख्न सक्नुहुन्छ ?

पहिलो कार्यकालमा भरतपुरवासीसँग चिनजान भएसँगै अन्तरङ्ग सम्बन्ध कायम भएको छ। त्यही सम्बन्ध र विश्वासको प्रतिफल नै दोस्रोपटक पनि मलाई अत्यधिक मत दिएर थप जिम्मेवारी सुम्पनुभएको छ। भरतपुरवासीको त्यो विश्वासलाई एक इन्च पनि घट्न नदिई अझ फराकिलो बनाउने छु।

दोस्रो कार्यकालको पदबहाली गर्दैगर्दा तीन वटा महत्वपूर्ण कार्य गरेका छौं। भरतपुरमा छोरीहरू जन्मनेबित्तिकै बीमाको सुरूआत गरेका छौं।

विपन्न समुदायलाई लक्षित गरेर सात हजार लिटर पानी निःशुल्क गरेका छौं।

अर्काे भनेको भूमिहीनलाई लालपूर्जाको कुरा पनि छ। यस्तै हामीले विगतमा पनि महिलासँग मेयर, जोखिममा परेका समुदायसँग मेयर भनी महानगरको नीति तथा कार्यक्रममा समावेश गरेर गौरवको कार्यक्रम राखेका छौं।

यो जोखिममा परेका समुदाय र महिलालाई लक्षित गरेको कार्यक्रम हो।

त्यस्तै छात्रालाई साइकल वितरणदेखि अति लोपोन्मुख र विपन्न समुदायका तीन हजार विद्यार्थीलाई छात्रवृत्ति दिएका छौं। यस्तै छात्रवृृत्ति संघीय सरकारले जम्मा ४०० विद्यार्थीलाई मात्र दिन्छ। गरिबीका कारणले उच्च शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था रोक्न उनीहरूलाई वार्षिक १० हजार दिन थालको छौं। स्वास्थ्य, शिक्षा, रोजगारलगायत आधारभूत कुरालाई पूरा गर्न खोजेका छौं।

तपाईंले गर्न चाहेको तर पाँच वर्षमा गर्न नसकेका त्यस्ता अधुरा काम केही छन् कि ?

महानगरभित्र ठूलाठूला सडकहरू बन्दै छन्। पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ सडक विस्तार गर्नुछ। बाइपास सडक, हुलाकी सडक, लिङ्क सडकहरु, महानगरको चक्रपथ, सिटी हल, झण्डै पाँच अर्बको नारायणी तटबन्धका योजनाको कार्यान्वयन गर्नु छ। अब राप्ती तटबन्धको गुरूयोजना पनि अघि बढाउँदैछौं। यी अधुरा कामलाई सम्पन्न गर्ने पूर्ण अठोटका साथ अगाडि बढ्नेछु। यसो हुँदा भोलिसम्मका लागि पनि भरतपुरले गर्व गर्ने अवस्था रहन्छ।

अबको कार्यकालमा तपाईंले गौरव गर्न लायक कुन–कुन योजना सम्पन्न गर्ने लक्ष्य राख्नुभएको छ?

आगामी पाँच वर्षमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न हुनेछ। देशकै ठूलो तीन हजार क्षमताको अन्तर्राष्ट्रियस्तरको सिटी हल सम्पन्न हुनेछ। त्यस्तै नारायणी तटबन्ध र महानगरीय रिङरोड सम्पन्न हुन्छ। नारायणीको ‘सिग्नेचर ब्रिज’ प्राथमिकतामा राखेको छु।

महानगरभित्रको फोहर व्यवस्थापन दीगो रूपमा सम्पन्न हुनेछ भने भरतपुरको पुल्चोक–गोद्राङ सडक ब्युटिफिकेसनसहित सम्पन्न हुन्छ। हरेक क्षेत्रका योजना अब ब्युटिफिकेसनसहित सम्पन्न गर्ने लक्ष्य छ। शिक्षक अस्पताल भर्खरै मन्त्रिपरिषद्ले निर्णय गरेको छ। नीति तथा कार्यक्रममा समेत समावेश छ। सुरूमा २०० शय्याको शिक्षक अस्पताल पाँच वर्षभित्रमा सञ्चालनमा आउँछ।

यसैगरी भरतपुर विमानस्थल प्रदशेस्तरीय विमानस्थल भनेर सरकारको नीति तथा कार्यक्रममा पनि परेको छ। यस्तै मेघौली विमानस्थलाई चाहिँ कालोपत्रे गर्ने कामलाई अघि बढाउन लागिएको छ। यही आर्थिक वर्ष कालोपत्रे हुन्छ। समग्र महानगरको सौन्दर्यकरणमा ध्यान दिइनेछ। प्रविधिमैत्री महानगर बनाउँछौं। शिक्षा स्वास्थ्य, कृषि, पर्यटन हरेक क्षेत्रमा प्राथमिताका साथ अघि बढ्छौं।

अन्त्यमा, केही भन्न चाहनु हुन्छ कि ?

हाम्रो अबको प्रक्रिया भनेको विकाससँगै सुशासनको कुरा पनि छ। विद्युतीय भुक्तानीलगायत सफ्वेयरहरू प्रयोग गर्दैछौं।

महानगरको प्रशासनिक भवन पञ्चायतकालीन भवन हो। बदलिँदो परिवेशमा यस भवनबाट प्रशासनिक एवं विकास निर्माणका कामहरू सम्पादन गर्न कठिन भएकाले झण्डै सङ्घ र प्रदेश सरकारको साझेदारीमा एक अर्ब रुपैयाँको लगानीमा नयाँ प्रशासनिक भवन बन्दैछ। यस भवनको शिलान्यास भइसकेको छ।

निर्वाचनको क्रममा आम मतदातालाई दिएको हाम्रो प्रतिबद्धता पत्रमा महानगरको सेवालाई कसरी सञ्चालन गर्ने भन्ने उल्लेख गरेका छौं, त्यसैलाई आधार मानेर अघि बढ्छौं।

जनताबाट आएका थप सुझावलाई आत्मसाथ गरेर अघि बढ्छौं। अब छिट्टै महानगरको नगरसभा बस्दैछ। यस सभामा हामीले जनतामा प्रस्तुत गरेको घोषणापत्रलाई आधार मानेर विगतका अधुरा योजनासमेतलाई ध्यानमा राख्दै महानगरको नीति, योजना तय गर्छौं।

जनताको सेवा गर्ने जुन अवसर पाएका छौं, त्यसमा कत्ति पनि कमी हुन नदिई दोस्रो कार्यकाललाई अझ परिणाममुखी र स्मरणयोग्य बनाउने हाम्रो प्रयत्न रहनेछ।

यसमा तपाइको मत

Your email address will not be published.


*