१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै



वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा पनि कमी आएको छ ।

नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको हो । कार्यालयले विगतमा दैनिक औसतमा पाँच हजार किलोलिटर डिजेल र दुई हजार किलोलिटर पेट्रोल बिक्री गर्ने गर्दथ्यो । तर, हाल कार्यालयबाट हुने इन्धनको बिक्रीमा भने गिरावट आएको जनाएको छ ।

नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका प्रमुख अशोक साहले पछिल्लो समय दैनिक पेट्रोल र डिजेल बिक्रीमा केही कमी आएको बताए । “अहिले डिजेल दैनिक औसतमा तीन हजार ५०० किलोलिटर बिक्री हुँदै आइरहेको छभने पेट्रोल दैनिक एक हजारदेखि एक हजार पाँच किलोलिटर औसतमा बिक्री हुँदै आइरहेको छ”, उनले भने, “पेट्रोल र डिजेलको मूल्य बढी भएकाले पनि स्वाभाविक रुपमा बिक्रीमा कमी आएको होला ।”

नेपाल निर्माण व्यवसायी महासङ्घले भने पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिका कारण पूर्वाधार निर्माण क्षेत्रको काम प्रभावित भएकाले इन्धनको खपतमा कमी आएको दाबी गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्वअध्यक्ष रवि सिंहले इन्धनमा भारी मूल्यवृद्धिका कारण निर्माण व्यवसायीले अत्यावश्यक अवस्थामा मात्रै इन्धन खर्च गर्ने गरेको बताए । “विगतमा मासिक २० हजार लिटर इन्धन खर्च गर्ने निर्माण व्यवसायीले अहिले निकै कममात्रै इन्धन खर्च गरेका छन्”, उनले भने, “इन्धनको मूल्य अत्यधिक बढेकाले पनि निर्माण व्यवसायी काम गर्न पनि गाह्रो मानेका छन् ।”

उनले निर्माण व्यवसायीले पुललगायत संरचनामा भने महँगो मूल्यको इन्धन प्रयोग गर्दै आइरहेको बताए । उनका अनुसार केही समयअघिसम्म प्रतिकिलोग्राम ८० रुपैयाँमा पाइने बिटुमिन अहिले करिब प्रतिकिलोग्राम १५५ भन्दा माथि पुगेको छ ।

नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका अनुसार अमलेखगन्जमा १७ हजार ७४८ किलोलिटर पेट्रोल र २५ हजार ८४३ किलोलिटर डिजेल भण्डारण गर्ने क्षमता छ । यहाँ रहेको भण्डारणले पेट्रोल सात दिन र डिजेल चार दिन पुग्ने बताइन्छ ।

कार्यालयले भारतीय आयल निगमबाट पाइपलाइनमार्फत पेट्रोल एक चरणमा ११ हजार किलोलिटर र डिजेल भने २४ हजार किलोलिटर ल्याउने गर्दछ ।

कार्यालयका डेपुटी म्यानेजर जवाहरकुमार यादवले भारतबाट अहिले पेट्रोलियम पदार्थको आयात गर्न कुनै अप्ठ्यारो नरहेको स्पष्ट पारे । “भारतबाट पेट्रोलियम पदार्थ सहज रुपमा आइरहेको छ”, उनले भने, “पेट्रोलियम पदार्थको मूल्य बढेर आए तापनि आयातमा भने समस्या छैन ।”

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको नौ महिनामा पाँचैथरिका एक खर्ब ४८ अर्ब १६ करोड रुपैयाँ मूल्यपर्ने पेट्रोलियम पदार्थ आयात भएको छ । जबकि गत आवको सोही महिनामा भने एक खर्ब ४० अर्ब १० करोड रुपैयाँ मूल्य पर्ने पाँचथरिका पेट्रोलियम पदार्थ आयात भएको थियो ।

चालु आवको नौ महिनामा ७८ अर्ब ७९ करोड रुपैयाँ मूल्य बराबरको डिजेल आयात भयो भने ३१ अर्ब आठ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोल आयात भएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ९ : ०५ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै