३ आश्विन २०८३, शनिबार | September 19, 2026

साकेला उभौली मनाइयो



खोटाङ । महिना दिनसम्म मनाइने किराँत समुदायको महान चाड साकेला उभौली चाड विधिवतरूपमा समापन गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटीकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन गरेर औपचारिकरूपमा साकेला उभौली चाड समापन गरिएको हो ।

किराँत राई यायोख्खा र किराँत सेवा समाज खोटाङले संयुक्तरूपमा शनिबार आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शनीमा विभिन्न स्थानका ११ समूह सहभागी थिए । साकेला उभौलीको अवसरमा किराँत समुदायले ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइ नलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामना गर्दै भूमि, पितृ र अन्नको पूजाआजा गरेर साकेला उभौली मनाउने गरेका छन् ।

साकेला उभौली हरेक वर्ष दिक्तेल बजारस्थित किराँत ऐतिहासिक एवं पर्यटकीयस्थल मझुवागढीमा भूमि अर्थात् चुलाको औपचारिक पूजा गरेर सुरु हुने र माटीकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन समापन गर्ने चलन छ । साकेला उभौली चाडका अवसरमा महिना दिनसम्म आफन्तजन, साथीभाइ, नरनाता, छरछिमेकबीच भेटघाट गर्दै शुभकामना आदान-प्रदान गर्ने चलन छ ।

साकेला चाडको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर नाच्ने प्रचलन छ । साकेला थान तथा चुलामा पितृको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्ने गरिन्छ ।

अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमादेखि महिना दिनसम्म उभौली र अन्नबाली उठाउने बेला मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म साकेला उधौली चाड मनाउने गरिएको किराँत राई यायोख्खा खोटाङका सचिव युगशन किराँतले जानकारी दिए । साकेला चाडको अवसरमा नाचिने साकेला सिलीमा मानवजातिको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपक्षीको क्रियाकलापलाई चित्रण गरिन्छ ।

साकेला चाड र साकेला सिलीको शुरुवातका विषयमा विभिन्न जिल्ला तथा ठाउँमा फरक-फरक मिथक तथा भनाइहरु पाइन्छन् । यसको शुरुवातका विषयमा किराँत समुदायमा आ-आफ्नै तर्क र भनाइहरु रहेका छन् ।

यद्यपि, किराँत समुदायको आदिम पुर्खा खोक्चिलिपा, तायामा र खियामाले यसको शुरुवात गरेको किंवदन्तीमा सबै एक मत रहेका छन् । साकेला चाड खोटाङसहित भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा मनाइन्छ ।

साकेला चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने किराँत राई यायोख्खा खोटाङका अध्यक्ष हात्तीराम राईले बताए । “साकेला चाडमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान-प्रदान गर्ने गरिन्छ”, उनले भने, “प्रकृति र पितृको पूजासँगै मनाइने यो साकेला चाडले किराँत र गैरकिराँत समुदायबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पु¥याउने अपेक्षा गरेका छौँ ।”

साकेला चाड किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले प्रमुख चाडका रूपमा मनाउने गरेका छन् । माझ किराँत भनेर चिनिने खोटाङमा पछिल्लो समय साकेला चाडलाई गैरकिराँत समुदायले समेत मनाउन थालेका छन् । बालबालिकादेखि वृद्धसम्म एउटै लहरमा सामूहिकरूपमा नाचिने साकेला नृत्यले आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गर्छ । हातखुट्टाको चालले पङ्क्तिबद्धरूपमा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएकोजस्ता कृषिकार्य प्रदर्शन गरिन्छ ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ९ : ५९ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय