२८ भदौ २०८३, आइतबार | September 14, 2026

लमजुङको पहिरोले मनाङ यात्रा सकस



लमजुङ । हिमाली जिल्ला मनाङको यात्रा सकस बनेको छ । अविरल वर्षापछि बेसीँसहर–चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकस बनेको छ । अधिकांश स्थानमा वर्षा लागेपछि सडक ठाउँ–ठाउँमा पहिराका कारण अवरुद्ध हुँदै आउने गर्दछ । सडक सञ्जालले जोडिएको १० वर्षसम्म पनि यस सडकको सहज यात्रा गर्न सक्ने अवस्था छैन ।

ठेकेदार कम्पनीले सडकलाई व्यवस्थित बनाउन नसक्दा मनाङ आवतजावत मात्र नभई विकास निर्माणमा समेत असर परेको छ । सोही मार्गमार्फत जिल्लामा खाद्यान्न, पूर्वाधार विकासका सामग्री ढुवानी हुने गर्दछ । समय–समयमा पहिरा खस्दा आवतजावत नै बन्द हुने गरेको छ ।

केही समययतादेखि वर्षाका कारण लमजुङको बेँसीसहर नगरपालिकास्थित खरखरे, मस्र्याङ्दी गाउँपालिकास्थित अर्खले, च्याम्चे, स्याङगे, सिरचौरलगायतका ठाउँमा पहिराका कारण सवारी आवगमनमा समस्या भएको छ । मनाङवासीले यही मार्ग हुँदै खाद्यान्नलगायत विकास निर्माणका लागि पूर्वाधारका सामग्री ओसरपसार गर्नुपर्ने हुन्छ । समयमा सामग्री पु-याउन नसक्दा विकास निर्माणका काममा ढिलाइ हुने ठेकेदार कम्पनी क्याराभान कन्सल्टेन्सीका सबइञ्जीनियर नारायण लामाले बताए । प्राकृतिक विपद्ले मनाङको विकास र पुनःनिर्माणको काम पाए पनि बाढपहिरो र हिमपातले गर्दा समयमा पूरा गर्न नसकिएको उहाँ बताउनुहुन्छ ।

वर्षामा बाढी–पहिरो, हिउँदमा हिमपातले गर्दा जिल्लाको विकास निर्माण तथा खाद्यान्न ढुवानीमा समस्या भएको छ । कहिले हिमपात त कहिले बाढीपहिराको बाहनाले निर्माणमा ढिलाइ गर्ने गरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । “प्राकृतिक भू–बनोट पनि विकट छ । ठेकेदार कम्पनीलाई बाहना बनाउने आधार बनेको छ । यो बाहनालाई समाधान गर्न लागिरेहका छौँ । सडक निर्माणको कामलाई दबाब दिँदै समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउने प्रयासमा छौँ”, उनले भने ।

लमजुङ सदरमुकामबाट मनाङको सिमानासम्म कूल ३५ किलोमिटर लमजुङतर्फ यस सडकमा मात्रै करिब ३५ ठाउँमा पहिरो खसेको अवस्था छ । बर्सेनि यो समस्याले मनाङवासीका साथै पैदलयात्री पर्यटकलाई आवतजावतमा कठिनाइ भएको स्थानीय बताउँछन् । सहज तवरबाट यात्रा गर्न कहिले पनि नपाउने हो कि भन्ने मनाङवासीको चिन्ताको विषय बनेको छ ।

हुन त मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडकको स्तरोन्नति एवं कालोपत्र गर्ने केही स्थानमा भएको छ । तर पनि सहज भने हालसम्म पनि बनाउन सकिएको छैन । क्याराभानले विसं २०७२ देखि पाएको ठेक्का हालसम्म पनि पूरा गर्न सकेको छैन ।

बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्नका लागि पहिलो चरणको कार्य हालसम्म सम्पन्न भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सडक चौडाइ गर्ने, पर्खाल उठाउने, कटिङ गर्ने, कल्भर्ट बनाउने, नाली बनाउनेलगायतका काम भइरहेको छ । पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र मान्छे हिँड्ने एक मिटरको सडक चौडाइ हुनेछ । बस्ती भएको ठाउँमा भने दुईतर्फी नै नाली बन्ने र बस्ती नभएको ठाउँमा एकतर्फमात्रै नाली निर्माण हुने भएको छ ।

रासस

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ११ : ०० बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा