२५ मंसिर २०८०, सोमबार | December 11, 2023

सर्वोच्चको भवन निर्माणमा अनियमितता



काठमाडौं । सर्वोच्च अदालतको निर्माणाधीन भवन निर्माणमा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७९ मा सर्वोच्च अदालतको भवन निर्माणमा ठेकेदारसँगको सेटिङमा अनियमितता भएको भन्दै गम्भीर प्रश्न उठाइएको छ ।

हालको सर्वोच्च अदालतको भवनभन्दा पछाडि नेपाली सेनाको क्याबलरी रहेको भागमा भवन बनाउन २०७७ चैत १९ मा कालिका–समानान्तर जेभीसँग करिब ५ अर्ब १९ करोड ८६ लाख ३२ हजारमा सम्झौता भएको थियो ।

१८ चैत २०८० मा बनाइसक्नेगरी ठेक्का पाएको सो कम्पनीले अहिलेसम्म करिब १ अर्ब ३ करोड भुक्तानी पनि लगिसकेको छ । सो भवन निर्माणमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संलग्नताको विषयमा कामु प्रधानन्यायाधीशले छानबिन गर्ने तयारीसमेत गरिसकेका छन् ।

भवन निर्माणका लागि ठेकेदारलाई भवन निर्माण सम्झौता हुँदासम्म पेस्कीबापत ५ प्रतिशत मात्रै दिन पाइने प्रावधान छ । तर, कानुनविपरीत ठेक्का पाउनेलाई २० प्रतिशत अर्थात् १ अर्ब ३ करोड दिइसकेको छ । सो विषयमा महालेखाले गम्भीर प्रश्न उठाएको छ । सर्वोच्च अदालतले निकालेको बोलपत्र डकुमेन्टमै कुल ठेक्का रकमको २० प्रतिशत अग्रिम भुक्तानी दिनेगरी कानुनविपरीतको व्यवस्था गरिएको थियो ।

सो भवन निर्माणका लागि नियमविपरीत ठेक्का सम्झौता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । आयोगले उजुरीको विषयमा अनुसन्धान गरिरहेकै बेला महालेखाले भवन निर्माणमा कालिका–समानान्तर जेभीसँग सम्झौता गर्दा अनियमितता भएको आंैल्याइएको छ ।

कसरी भयो अनुमानभन्दा बढी ?

सर्वोच्चको भवन भूकम्पले क्षतिग्रस्त बनाएपछि तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुरानोेलाई रेक्टोफिटिङ गराउने निर्णय गरेका थिए । साथै उनले नयाँ भवनका लागि सरकारलाई प्रस्ताव पनि पठाएका थिए ।

श्रेष्ठपछि प्रधानन्यायाधीश भएका सुशीला कार्की, गोपाल पराजुली र ओमप्रकाश मिश्रले पनि नयाँ भवन बनाउन नेपाली सेनाको क्याबलरी रहेको ठाउँ उपयुक्त हुने भन्दै लबिइङ गरे । सोहीअनुरूप सर्वोच्चले मागेकै ठाउँमा नयाँ भवन बन्ने भयो ।

१८ पुस २०७५ मा चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीश बने । राणाले नै नयाँ भवन निर्माणको बोलपत्र निकाल्ने मौका पाएका थिए । पहिलोपटक २०७७ पुस ६ गते गोरखापत्रमा बोलपत्र प्रकाशित भयो । सो सूचनामा अन्तर्राष्ट्रिय जोइन्ट भेन्चरसँग ४ अर्ब रुपैयाँबराबरको भवन निर्माण गरेको कम्पनी हुनुपर्ने सर्त राखिएको थियो ।

राणाले सो ठेक्कामा चलखेल गर्दै २ अर्बभन्दा धेरै महँगो पर्ने गरी ठेक्का दिए । सर्वोच्चले ६ पुस २०७७ मा नयाँ भवनको लागि निकालेको ठेक्का सर्त नै शंकास्पद थिए । सर्वोच्चको नयाँ भवन बनाउने कम्पनीले न्यूनतम ४ अर्ब २० करोड रुपैयाँ लागतका दुईवटा भवनमा ‘डबल बेसमेन्ट’को काम गरेको अनुभव हुनुपर्ने भनिएको थियो ।

८ फागुन २०७७ मा दोस्रोपटक गोरखापत्रमा सूचना प्रकाशित भएको थियो । जसमा नियतवश निश्चित कम्पनीलाई ठेक्का दिन सर्त राखिएको स्पष्ट भयो । बोलपत्रमा आवेदन दिने कालिका–समानान्तरलाई योग्य हुनेगरी सूचना प्रकाशित भएको थियो । जसले गर्दा तीनवटा कम्पनीलाई प्रतिस्पर्धाबाट बाहिर राख्ने काम गरियो ।

प्रतिस्पर्धा गर्ने एउटा बोलपत्रदाताको विदेशी साझेदारबाट ५ वर्षको सट्टा तीन वर्षको मात्र वित्तीय विवरण पेस भएको र अन्य दुई बोलपत्रदाताको न्यूनतम औसत वार्षिक कारोबार बोलपत्र कागजातमा तोकिएको २५ प्रतिशतभन्दा कम भएको भन्दै तीनवटालाई असफल बनाउँदै सेटिङमा ठेक्का लगाएको महालेखाको प्रतिवेदनमा उल्लेख गरेको छ ।

सर्वोच्च स्वयंले प्रतिस्पर्धालाई कुण्ठित गरी लागत अनुमानको हाराहारी अर्थात् शून्य दशमलव ३९ प्रतिशत मात्र न्यून रकमको ठेक्का स्वीकृत भएको र एक मात्र बोलपत्र न्यूनतम मूल्यांकित सारभूत रूपमा प्रभावग्राही मानेर स्वीकृत गर्दा प्रतिस्पर्धा सीमित भएको महालेखाको निष्कर्ष छ । ‘निर्माण कार्यको स्वीकृत खरिद कार्य प्रतिस्पर्धी एवं मितव्ययी भएको भन्न नमिल्ने’ भनेर प्रतिवेदनले स्पष्ट रूपमा उल्लेख गरेको छ ।

राणाले मात्रै खोले राष्ट्रिय बोलपत्र

सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार १ अर्बभन्दा बढीको ठेक्कालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने प्रावधान छ । तर, प्रधानन्यायाधीशले ठेकदार कम्पनीसँग मिलेर सोही कम्पनीलाई मात्रै योग्य ठहरिने गरी राष्ट्रिय बोलपत्र आह्वान गरे । जसले गर्दा एउटा कम्पनी बिनाप्रतिस्पर्धा सर्वोच्चको भवन निर्माण हत्याउन सफल भयो ।

सार्वजनिक खरिद नियमावलीको परिच्छेद ५ बोलपत्रसम्बन्धी व्यवस्थाको ३१ (ङ)मा स्वदेशी बोलपत्रदाताबीच मात्र प्रतिस्पर्धा गराइ खरिद गरिने व्यवस्था छ । ऐनको दफा ११ को उपदफा (२) बमोजिम एक चरणको खुला बोलपत्र आह्वान गर्दा २ करोडदेखि १ अर्ब रुपैयाँसम्मको लागत अनुमान भएको निर्माणमा राष्ट्रियस्तरको खुला बोलपत्रको माध्यमले स्वदेशी बोलपत्रदाताबीच मात्र प्रतिस्पर्धा गराई खरिद गर्नुपर्ने व्यवस्था छ ।

सर्वोच्चले निकालेको बोलपत्रअनुसार नौ कम्पनीले चार जेभी (ज्वाइन्ट भेन्चर) बनाएर प्रतिस्पर्धामा भाग लिएका थिए । मलेसियाको निर्माण कम्पनी बिना पुरी र नेपालको कालिका कन्स्ट्रक्सन तथा समानान्तर निर्माण सेवालाई नै ठेक्का दिने गरी सेटिङमा सबै प्रक्रिया अघि बढाइएको थियो ।

महासंघले पठाएको पत्रै गायब

बोलपत्रको पहिलो सूचना जारी भएर दोस्रो सूचना जारी नहुँदै निर्माण व्यवसायी महासंघले सर्वोच्चलाई पत्र लेखेर भवन निर्माणको बोलपत्रमा गम्भीर त्रुटि भएको भन्दै पत्र पठाएको थियो । तर, प्रधानन्यायाधीश राणा र कर्मचारीको मिलेमतोमा सो पत्रलाई गायब बनाइएको छ ।

६ पुस २०७७ मा जारी गरिएको बोलपत्रमा समय कम भएको र कुनै एक कम्पनीलाई मात्र प्रस्तावमा छनोट हुन सक्नेगरी सर्त राखिएकाले सच्चाएर प्रतिस्पर्धा हुने प्रचलित सर्त राख्नुपर्ने पत्रमा उल्लेख थियो । त्यसो गर्दा सरकारको पैसासमेत बचत हुने महासंघले पत्रमा लेखेको थियो । आजको राजधानी दैनिकमा निराजन पौडेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ७ : ४४ बजे

संघीय संसदको महासचिवमा पदम पाण्डे सिफारिस

काठमाडौं । संघीय संसदका महासचिवमा सचिव पदमप्रसाद पाण्डे सिफारिस भएका

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको