खजुरा । नेपालगन्ज गुलरिया सडकको झण्डै ५ किलोमिटर चार लेन सडक ठेक्का सम्झौता भएको ४ वर्षमा पनि सम्पन्न नगरि अलपत्र परिरहेकै अवस्थामा सोही सडक खण्डको ३१ किलोमिटर सडक स्तरोन्नतीसहित कालोपत्रे गर्न शिलान्यास गरिएको छ ।
आज एक कार्यक्रमकाबीच सो सडक निर्माणको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले शिलान्यास गरेका हुन्।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री राइले खजुरा र गुलरियाको सडक अलपत्र पाने ठेकेदार कम्पनीलाई २४ घण्टे पत्रकाटेर कारवाही गर्न सडक विभागका महानिर्देकलाई निर्देशन दिएका छन् । ठेक्का लिएर बिचमै अलपत्र पार्ने ठेकेदारले उन्मुक्ति पाउन नहुने बताउँदै उनले मन्चबाटै विभागका महानिर्देशक र मन्त्रालयका सचिवलाई कारवाही अगाडि बढाउन निर्देशन दिएका हुन् ।
उनले आफु मन्त्री भएपछि धमाधम् विकासले तिब्रता लिएको दाबी गर्दै विकासको गति देखेर विपक्षीहरुको प्रेशर बढेको टिप्पणी पनि गरे ।
नेपालगन्ज उपहानगरका निवर्तमान मेयर धवलशम्सेर राणाको नाम नलिई उनले आफुलाई मन्दीर, मज्दिज बनाउन नदिएर विकास बिरोधी काम गरेको आरोप लगाए । ‘कोरोनाकालमा अक्सिजनको व्यवस्था गर्न छाडेर बेपत्ता बनेका व्यक्तिहरु अहिले आएर विकासमा अवरोध गर्ने काममा लागेका छन्,’ उनले भने, -‘शिलान्याश भएका सबै योजनाहरु पुरा हुन्छन्, मलाई शिलान्याश मन्त्रीको उपमा दिनेहरु दिल थामेर बस्दा हुन्छ ।’
कार्यक्रममा बोल्दै सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले विभागले अगाडि सारेको ४ वटै प्रकारको राजमार्गहरु ५ वर्षमा पुरा हुने दाबी गरे । पूर्व पश्चिम राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्य पहाडी राजमार्ग र हुलाकी राजमार्ग ५ वर्षमा सम्पन्न हुने उनको दाबी छ ।
आज शिलान्यास भएको सडकको २२ किलोमिटर ४ लेन र बाँकी खण्ड २ लेन रहने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलले बताए । उनले हुलाकी सडकका लागि सुनिश्चित भएको ६५ अर्व बजेट मध्यबाटै नेपालगन्ज गुलरिया सडकको ठेक्का आह्वान गरिएको पनि जनाए ।
खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिकले शिलान्यास भएकोमा खुसी व्यक्त गर्दै कार्यान्वयनमा खजुरा र गुलरियाको जस्तो कन्तबिजोग नबनाउन ध्यानाकर्षण गराए ।



















प्रतिक्रिया