४ आश्विन २०८३, आइतबार | September 20, 2026

बागलुङमा चुनावी तालमेल, दलहरु आ-आफ्नै डम्फु बजाउँदै



बागलुङ । सिट बाँडफाँटमा बागलुङ–१ नछाड्ने राष्ट्रिय जनमोर्चाको अडानले जिल्ला तहमा गठबन्धन कसरी अघि बढ्ला भन्ने चासो थपिदिएको छ । गठबन्धनको सबैभन्दा सानो दल जनमोर्चाले त्यहाँको उम्मेदवारमा अध्यक्ष चित्रबहादुर केसीलाई अघि सारेको छ । बागलुङ केसीको गृहजिल्ला हो । सङ्घतर्फ बागलुङ–१ सँगै प्यूठानमा जनमोर्चाको दाबी छ ।

प्रदेशमा पनि बागलुङको एउटा सिट आफूले पाउनुपर्ने उसको प्रस्ताव छ । विसं २०७४ को चुनावमा वाम गठबन्धन गरेर चुनाव लडेको जनमोर्चाले बागलुङबाट प्रदेशका दुई सिट जितेको थियो ।

तत्कालीन चुनावमा बागलुङका सबै सिट गुमाएको सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस अहिले विरासत फर्काउने सुरमा छ । दोस्रो संविधानसभा चुनावमा जिल्लाका तीनै सिट जितेको काँग्रेसले विसं २०७४ को चुनावमा नमिठो हार व्यहोर्नुपरेको थियो ।

वाम तालमेलबाट गत चुनावमा बागलुङ–२ र बागलुङ–२ (क) मा विजयी बनेको नेकपा (माओवादी केन्द्र) अहिलेपनि गठबन्धनमार्फत त्यही नतिजा दोहोराउन चाहन्छ । गठबन्धनको अर्को घटक नेकपा (एकीकृत समाजवादी)ले पनि प्रदेशको एउटा सिटमा दाबी गरिरहेको छ ।

एकातिर सङ्घीय मन्त्रीदेखि गठबन्धन दलका शीर्ष नेतासम्म उम्मेदवार बन्ने दौडमा हुनु, अर्कातर्फ दलका आ–आफ्नै अडानका कारण बागलुङ गठबन्धनका लागि पेचिलो बन्ने देखिएको छ ।

जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शङ्कर बरालले आफूहरुले सङ्घसँगै प्रदेशको एउटा सिट पनि बागलुङबाटै पाउनुपर्ने बताए । “बागलुङ–१ मा अध्यक्षलाई उठाउने पार्टी केन्द्रकै निर्णय हो, प्रदेशमा पनि बागलुङबाट एउटा सिट अनिवार्य चाहिन्छ, हाम्रो यही अडान छ”, उनले भने ।

जनमोर्चाको बढी जनाधार भएको जिल्ला बागलुङ हो । गत वैशाखमा भएको स्थानीय तह चुनावमा अहिलेकै गठबन्धनमार्फत उसले दुईटा पालिका जितेको थियो । ति पालिका बागलुङ–१ मा पर्छन् जहाँबाट अहिले जनमोर्चाका अध्यक्ष केसी चुनाव लड्न चाहिरहेकाछन् ।

जनाधार, शक्ति सन्तुलन, विगत चुनावको परिणाम आदिलाई हेरेर बागलुङ–१ मा दाबी गरिएको जनमोर्चाले जनाएको छ । विसं २०७४ को चुनावमा बागलुङ–१ (२) र २ को (२) मा जनमोर्चा विजयी बनेको थियो । प्रदेशतर्फ बागलुङ–२ (२) मा अहिलेपनि उसको दाबी कायम छ ।

स्थानीय तह चुनावमा गठबन्धनको सफल नेतृत्व गरेको काँग्रेस आसन्न सङ्घ र प्रदेशको चुनाव जितेर विगतको हारलाई बिर्साउने दाउमा छ । गत वैशाखमा भएको चुनावमा जिल्लाका दसमध्ये ६ वटा पालिका जितेको काँग्रेसले यो चुनावबाट पनि उस्तै नतिजा ल्याउन चाहान्छ ।

काँग्रेसका जिल्ला सचिव हरिहर शर्माले गठबन्धनभित्र काँग्रेस र अरु दलमा ६०÷४० को आधारमा सिट बाँडफाँट गरिनुपर्ने बताउँछन् । गत स्थानीय तह चुनावमा पनि सोही आधारमा गठबन्धन गरिएको उनले बताए ।

“पार्टीको जिल्ला कार्यासमितिको निर्णय र नेता, कार्यकर्ताको एउटै धारणा के हो भने बागलुङमा काँग्रेसले एउटा सङ्घ र प्रदेशका तीन सिट पाउनुपर्छ”, उनले भने, “यो कुरा हाम्रा नेताहरुले केन्द्रमा पनि पु¥याइरहनुभएको छ, त्यसो भएन कार्यकर्ता सम्हाल्न सकिने स्थिति हुन्न भनेर भनेका छौँ ।”

सचिव शर्माले सिट बाँडफाँटको टुङ्गो दलका शीर्ष तहबाटै टुङ्गिने भएकाले जिल्लाको काबुमा केही नरहेको बताए । गठबन्धनमा सामेल एकीकृत समाजवादीले पनि बागलुङमा आफ्नो सम्मानजनक उपस्थिति खोजिरहेको छ । गठबन्धनको संस्कृतिमा अरु दल नचले नयाँ ढङ्गले सोचिने सो दलका जिल्ला अध्यक्ष लालबहादुर थापाले बताए।

“स्थानीय चुनावमा गठबन्धनबाट धोका भयो, कतिपय ठाउँमा त्याग पनि गरियो”, उनले भने, “अहिले बढी नै सचेत छौँ, अस्तित्व नस्वीकार्ने, सम्मानजनक व्यवहार नहुने स्थिति आयो भने नयाँ निर्णय गरेर अगाडि बढ्छौँ, नत्र एक्लै चुनाव लड्छौँ ।”

बागलुङबाट सङ्घ या प्रदेशतर्फ एउटा सिट पाउनुपर्ने दाबी एकीकृत समाजवादीको छ । प्रदेशमा बागलुङ–१ (१) र (२) मा नै आफूहरुको जोड रहेको अध्यक्ष थापाले बताए। उक्त दलका गण्डकी प्रदेश अध्यक्ष रामजी शर्माको गृहनगर पनि बागलुङ–१ (१० मा पर्छ ।

माओवादी केन्द्रका जिल्ला संयोजक राजीव घिमिरेले बागलुङ–२ स्वभाविक रुपमै आफूहरुले पाउनुपर्ने धारणा राख्छन् । पहिले जितेको क्षेत्र सम्बन्धित दलले नै लिने गरी गठबन्धनभित्र चलिरहेको छलफलले पनि माओवादी केन्द्रलाई सहज हुने ठानिएको छ । विसं २०७४ मा सो क्षेत्रबाट शिक्षा मन्त्री देवेन्द्र पौडेलले जितेका थिए।

“हाम्रो जनमत पनि राम्रो छ, शिक्षा मन्त्रीले पनि त्यहीँबाट प्रतिनिधित्व गर्नुहुन्छ”, संयोजक घिमिरेले भने, “पहिले जितेको बागलुङ–२ र २ (१) मा हाम्रो दाबी छ, माथिबाट सिट बाँडफाँट कसरी टुङ्गिन्छ, त्यो त हेर्न बाँकी छ ।” अन्यत्रको भन्दा गठबन्धनमा बागलुङको अवस्था विशिष्ट भएकाले सिट बाँडफाँट पचिलो बनेको उनको भनाइ छ ।

“जनाधार पनि भएको र शीर्ष नेता पनि यहीँको भएको हुनाले जनमोर्चाले गरिरहेको दाबी स्वभाविक हो, ठूलो दलका हिसाबले काँग्रेसको आफ्नै अडान छ”, उनले भने, “जिल्लागत परिस्थिति हेरेर केन्द्रीय तहबाटै यो विषय पक्कै टुङ्गिन्छ, जनमोर्चा र माओवादीले सङ्घ ल्याएर प्रदेशमा काँग्रेसले बढी पाउने सम्भावना पनि छ ।”

गठबन्धनमा सामेल जनता समाजवादी पार्टी भने बागलुङको चुनावी दौडमा छैन । विसं २०७४ मा सङ्घ र प्रदेश गरी बागलुङका दईटा सिट जितेको नेकपा  (एमाले) अहिले गठबन्धनको विपक्षी कित्तामा छ । एक्लै गठबन्धनको सामना गर्न तयार रहेको एमालेको भनाइ छ । सो चुनावमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा मिलेर जिल्लाका सबै निर्वाचन क्षेत्रमा जित निकालेका थिए ।

अहिले परिस्थिति भिन्न छ र गठबन्धन पनि । स्थानीय तह चुनावमा जिल्लामा ठूलो धक्का व्यहोरेको एमालेलाई यो चुनाव पनि पेचिलो बन्ने पक्का छ । चुनावमा गठबन्धन र एमाले एकार्काका लागि कति चुनौती बन्ने हुन् ? यसका लागि त चुनाव नै कुर्नुपर्छ ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  १२ : ०५ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब