काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना), म्हः पूजा तथा गोवर्द्धन पूजाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् नेपालीको मौलिक समयचक्र र पहिचान भएको बताएका छन् । चन्द्रमासमा आधारित यस संवत्ले नेपालको मौलिक संस्कृति र इतिहासलाई प्रतिनिधित्व गर्ने उनको भनाइ छ ।
म्हः पूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्त्व उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसलाई आत्मशुद्धि र चेतनाको बोध गराउने परम्पराका रूपमा व्याख्या गरेका छन् ।
“‘म्ह’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ,” उनले शुभकामना सन्देशमा भनेका छन् ।
उनका अनुसार म्हः पूजाले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको संरक्षण गर्दै जातीय एकतालाई थप प्रगाढ बनाउँदै आएको छ । उनले यस मौलिक परम्परालाई नेपाल र नेपालीको गौरवका रूपमा उल्लेख गरेका छन् ।
गोवर्द्धन पूजाको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री शाहले पौराणिक मान्यताअनुसार भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको प्रसङ्गसँगै कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाउने तथा हलो, फालीलगायत कृषि औजारको पूजा गर्ने परम्परा रहेको बताएका छन् । यस दिन गोवर्द्धन पूजा तथा हलि तिहार मनाइने उनको भनाइ छ ।
त्यस्तै, भैलोका मीठा भाका र देउसेहरूको उल्लासमय आशीर्वादले छरछिमेकमा आत्मीयता र सद्भाव बढाउने उनले उल्लेख गरेका छन् ।
यी मौलिक चाडपर्वले आपसी रिसराग भुलेर सामाजिक एकता, सद्भाव र सहिष्णुताको भावना बलियो बनाउन प्रेरित गर्ने विश्वाससमेत प्रधानमन्त्री शाहले व्यक्त गरेका छन् ।

















प्रतिक्रिया