७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

‘साइलेन्ट किलर’ अर्थात मुटुरोग



विश्वव्यापी कोरोना भाइरसको कहर छ अझै पनि जारी छ । आम मानिस कोरोनाकै बारेमा चर्चा गर्न पोख्त भैसके । सामान्यता, स्वास्थ्यबारे त्यति ख्याल नगर्ने र जानकारी समेत नराख्ने व्यक्तिहरुले समेत कोरोनाबारे गच्छेअनुसार व्याख्या गर्नसक्ने भएका छन् । अझ केही सातायता डेंगुको चर्चा घरघरमा छ । किनकी घरघरमा डेंगु आतंक छ । घरपरिवारको कुनै न कुनै सदस्य डेंगुको आक्रमणमा परेका छन् । दिनप्रतिदिन डेंगुका संक्रमित बढ्दै जाँदा र मृतकको संख्या पनि विस्तारै बढ्दै जाँदा आम मानिस कोरोनापछि डेंगुबारे जानकार बन्दै गएका छन् ।

आम रुपमा यसरी बेलाबेलामा फैलिने महामारीबारे जनमानस सचेत बन्दै जाँदा घातक साइलेन्ट किलर रोगका बारेमा भने थोरैले मात्र जानकारी राख्छन् । कोरोना र डेंगुको महाकहरको बीचमा मुटु रोग जस्ता ‘साइलेन्ट किलर’को बारेमा अझै पनि आम मानिस सचेत बन्न सकेका छैनन् । सचेतता अभावकै कारण यस रोगले कसैलाई थाहै नदिइ मानिसको ज्यान लिइरहेको छ ।

सेप्टेम्बर २९ तारिक । यो दिनको बारेमा कमै मात्र मानिसलाई जानकारी छ । थोरै मानिसले मात्र ख्याल गर्ने दिन हो सेप्टेम्बर २९ । यो दिन अर्थात विश्व मुटुरोग दिवस। विश्व मुटु महासंघले यसवर्षको यस वर्षको विश्व मुटु दिवसको नारा हरेक मुटुका लागि मुटु USE HEART FOR EVERY HEART प्रयोग तय गरेको छ । मुटुको महत्व दर्शाउन यो नारा तय गरेको सहजैबुझ्न सकिन्छ ।

 

कस्तालाई सर्छ ?

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीका अनुसार ‘सामान्य अवस्थामा पनि विश्वमा मुटुको रोगबाट सबैभन्दा बढी मानिस मर्ने गर्छन् ।’ कोरोना महामारीको अवधीमा मृत्यु भएका अधिकांश बिरामी मुटुकै रहेका छन् । ती बिरामीले सहज उपचारसेवा लिन पाएको भए उनीहरुको जीवन वच्नसक्थ्यो ।

डेढ दशकअघिसम्म हृदयाघातले नेपाली समाजमा खासै जरा गाडेको थिएन । समाजमा एउटा स्थान बनाइसकेका केही व्यक्तिमात्रै हृदयाघातको सिकार भएका थिए । तर, अचेल समाजमा हृदयाघात हुने उमेर ४५ बर्षबाट घटेर १७ बर्षमा झरेको छ । १७ बर्षदेखि माथिका युवा र अति न्यून आय भएका व्यक्तिको प्राण जाने मुख्य कारक नै हृदयाघात बनेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक भन्छ– पछिल्लो समयमा सम्पन्न राष्ट्रको तुलनामा गरिब तथा विकासोन्मुख देशका युवा तथा गरिब व्यक्तिमा हृदयाघातको संक्रमित बढी देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले सन २०२० सम्ममा दक्षिण एसियामा मुटुरोग महामारीकै रुपमा फैलिने प्रक्षेपण गरेको प्रक्षेपण धेरै मिलिसकेको छ । विगत २० वर्षयता हृदयाघात पाँच गुणाले बढेको छ, जसमा १७ वर्षदेखि माथिका व्यक्ति पनि छन् ।

३१ बर्षदेखि नेपालीको मुटु छाम्दै आएका वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मी भन्छन– हृदयरोगको उपचार गर्ने युवाको संख्या बृद्धि हुँदै जानुले युवाको मुटु कमजोर हुँदै गएको देखाउछ ।

 

के हो मुटु ?
मानव जीवनको अन्त्यन्त संवेदनशील मानिने मुटु वास्तवमा मांसपेशीको डल्लो हो । पम्पको काम गर्ने मुटुले शरीरभर रक्त सञ्चालन गराउ“छ । रक्तसंचालन गर्न मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीनवटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत ग्लुकोज र अक्सिजन प्राप्त हुन्छ । मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनली स्वस्थ हुनुपर्छ । तर, यी रक्तनलीभित्र विभिन्न कारणबाट बोसो जमेर साँघुरो हुनेगर्छ ।

बोसोबाट मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । त्यसैले कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढी हुन्छ । रक्तनली पूरै बन्द भए रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटमा ऊर्जाको आपूर्ति रोकिन्छ । प्रष्टै छ, मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी कसरी सुरक्षित होस रु अनि त उर्जाविहीन माशंपेशी धमाधम क्षतिग्रस्त हुन्छन । यो क्रम लम्बिँदै गए मांसपेशी मर्छ र यसले काम गर्न छाड्छ । यही अवस्थालाई भनिन्छ हृदयाघात ।

हृदयाघात हुँदा छातीको बीच भागमा असह्य पीडा हुन्छ । हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए तत्काल प्राण जान्छ । चिकित्सिकहरु भन्छन– हृदयाघात हुने लगभग एकतिहाइ मान्छेको मृत्यु अस्पतालै पुग्न नपाई हुन्छ । हृदयाघातपछि अस्पताल पुग्ने ९० प्रतिशत बिरामीले सामान्यतया ज्यान गुमाउंछन । लगभग ४० देखि ५० प्रतिशत बिरामीले त पहिलो हृदयाघातमै जीवन गुमाउँछन् ।

 

हृदयघातको लक्षण
हृदयाघात भएपछि छातीको बीच भागमा ज्यादै ठूलो पीडा हुन्छ । छातीको मध्यभागमा देब्रेतिर कुनै गहौैं चिजले थिचेझैं असह्य पीडा हुन्छ । पेटको माथिल्लो भाग, पिठ्युँ र देब्रे काँधमा पनि सहनै नसक्ने गरी पीडा हुुन्छ ।

हृदयाघात भएका व्यक्तिलाई एक्कासि श्वासप्रश्वासमा समस्या आउन थाल्छ, पसिना आउन थाल्छ र वाकवाकी आउन थाल्छ । यसैगरी, दम बढ्नु, खुट्टा सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, साथै ज्वरो पनि आउनु, औँलाका टुप्पा नीलो हुनु पनि हृदयाघातका लक्षण हुन् । हृदयाघात भएको एक घण्टामा अस्पताल पुग्न सके जीवन बच्न सक्ने सुझाव छ, चिकित्सकहरुको । अस्पताल जान जति ढिला हुन्छ, त्यति नै मृत्यु नजिक नजिक आउने बताउँछन् डाक्टर रेग्मी ।

हृदयाघात हुनुको मुख्य कारण हो, जीवनशैली, जसले कोलेस्टेरोेल बढाउने काम गर्छ । कोलेस्टेरोेल तथा अन्य चिल्लो पदार्थ मुटु र दिमागमा रक्तप्रवाह गर्ने रक्तनलीमा जम्न गई रक्तनली सा“घुरिन सक्छन् । यसैले मासु, चिल्लो, बोसोयुक्त खानेकुरा र प्याकेटमा राखिने खानेकुरा नखाँदै राम्रो हुने सुझाव दिन्छन् चिकित्सकहरु ।

चिकित्सकको सुझाव छ– प्रशस्त मात्रामा हरियो तरकारी र फलफूल खाने गरेमा तथा दैनिक, दौडिने र व्यायाम गर्ने बानीले हृदयाघातको जोखिम कम्तीमा ५५ प्रतिशत घटाउन सक्छ । एकपटक हृदयाघातबाट बिरामी भइसकेपछि जीवनभर औषधी सेवन गर्नुपर्छ भने बारम्बार मेडिकल चेक पनि गराइरहनुपर्छ । अर्थात मुटुरोगलाई कम गर्न सकिएला, तर पूर्ण निको पार्न सकिन्न ।

नेपालमा प्रत्येक वर्ष १५ हजार बढी हृदयघातका बिरामी थपिन्छन् । नेपालमा हाल हृदयाघातबाट प्रभावितको वास्तविक तथ्यांक उपलब्ध त छैन, तर स्वास्थ्य सेवा विभागको तथ्यांकलाई आधार मान्दा प्रत्येक वर्ष १५ हजारभन्दा बढी हृदयाघातका बिरामी थपिने गरेका छन् । अस्पतालहरुको तथ्यांकले त यो भन्दा पनि बढी संख्या देखाउँछ ।  मुटुरोगका लागि नामी अस्पताल कहलिएको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका अनुसार पछिल्लो ६ वर्षमा मात्रै हृदयाघातका बिरामी तीन गुणाले बढेको छ । हृदयाघातबाट हुने मृत्युदरसमेत उच्च रहेको छ ।

 

न महिला न पुरुष
पुरुषको दाँजोमा महिलालाई युवा अवस्थामा मुटु रोग लाग्ने सम्भावना कम हुन्छ । किनभने महिलाका शरीरमा मात्र पाइने फिमेल हार्मोनले मुटु रोगको खतरा कम गर्छ । तर, केही वर्षयता महिलामा पनि धेरै मात्रामा मुटुको रोग देखिन थालेको छ । यसको कारण हो– महिलामा पनि धूमपान र मद्यपानको लत बढेको छ । अर्थात चुरोट रक्सी पिउने महिलाको संख्या झनझन बढ्दै छ । अधिकांश महिला शारिरीक व्यायाममा ध्यान दिंदैनन् । त्यसैले कमजोर बन्दैछ, महिलाको मुटु ।

डरलाग्दो कुरा त के छ भने अकस्मात् हुने हृदयाघातको जोखिम युवा महिलामा बढ्दै गएको देखिएको छ । युवा महिलामा गर्भावस्था, औषधिको अत्यधिक प्रयोग, अत्यधिक व्यायाम, बान्ता, तीव्र भावनात्मक तनाव, माइग्रेन, टाउको दुखाई आदि कारणले एससिएडी अर्थात् अचानक हुने कोरोनरी धमनी विच्छेद हुने गरेको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा। अरुण मास्केका अनुसार ५० वर्षभन्दा मुनीको उमेरका महिलामा एससिएडी हुनेगरेको छ । जहाँ अकस्मात् धमनीको इन्टिमा च्यातिएर हृदयाघात हुन्छ ।

महिलामा यस्ता प्रकृतिका मुटु रोगको समस्या बढेपछि विश्वभरि गो रेड फर वुमन अर्थात् महिलाका लागि रातो संकेत अभियान सञ्चालनमा आएको छ । नेपालले पनि एकदशकदेखि यस्तो अभियान सञ्चालन पनि गर्दै आएको छ । महिलामा देखिने विभिन्नखाले तनाव पनि मुटुरोगको कारकतत्व हो । जोर्नी दुख्ने समस्या भएका महिलाको शरीरले मुटु रोग निम्त्याइरहेको हुन्छ । अनुसन्धानअनुसार धूमपान, बढ्दो तौल, पौस्टिक आहारको अभाव र व्यायाम नगर्ने बानी गठियापीडित र मुटुरोगी दुवैका लागि हानिकारक हुन्छ ।

महिला मात्र होइनन, अधिकांश बालबालिका जन्मजातै मुटु रोगी भइरहेका छन । गर्भधारण गरेको तीन महिनाभित्र रुबेला नामक एक किसिमको दादुराजस्तै प्रकृति भएको रोग लाग्यो भने यसले शिशुको निर्माण भइरहेको मुटुलाई विकृत बनाउँछ, र गर्भमा रहंदै बालकमा मुटुको समस्या आउँछ । गर्भधारण भएको तीन महिनामा महिलाले गर्भका लागि असुरक्षित औषधी सेवन गरेमा, अत्यधिक धूमपान र मद्यपान गरेमा, शरीरमा एक्सरेको विकिरण परेमा मुुटुको संरचनामा गडबडी हुन्छ र बच्चामा विकृत मुटु बन्नथाल्छ अनि बच्चालाई जन्मजात मुटु रोग लाग्ने गर्छ ।

भोजनमा भिटामिन र अन्य आवश्यक पोषकतत्वको कमी भएमा पनि जन्मजात मुटु रोग लाग्नसक्छ । शिशुको जिब्रो, ओठ र औँलाका टुप्पा नीलो हुने, औँलाका टुप्पा बाक्ला र चाक्ला हुने, मुटु हल्लिने, दम बढ्ने, बारम्बार शिशुलाई रुघाखोकीले सताइराख्ने, उमेरअनुसार शारीरिक विकास नहुने र निधारमा पसिना आउने जन्मजात मुटु रोगका लक्षण हुन् ।

==============================
मुटु रोगका प्रमुख लक्षण :

*छातीको बीचभागमा दुख्ने
*मुटु हल्लिने, चक्कर लाग्ने, ओंठ, जिब्रो र औंलाका टुप्पा नीलो हुने
*दम बढ्ने, खट्टा सुन्निने
* घाँटीको रक्तनली फुल्ने
*औंलाका टुप्पा बाक्ला र चाक्ला हुने
*कफमा रगत देखिने

मुटुरोग रोकथामका उपाय :

* धूमपान र मद्यपान त्याग्ने
* मोटोपन घटाउने
* नियमित व्यायाम गर्ने
* सन्तुलित आहार लिने
* प्रशस्त सागपात र फलफूल खाने
* मानसिक तनावबाट बच्ने
* जीवनलाई सुखी बनाउने
* नियमित स्वास्थ्य परीक्षण गराउने
* चिल्लो, गुलियो पदार्थ कम सेवन गर्ने
* शरीरको तौल बढ्न नदिने
* बिपी र सुगर नियमित जाँच गराउने
==============================

 

किसिम किसिमको रोग
वास्तवमा मुटु मानव शरीरको संवेदनशील अंग हो । यहि संवेदनशील अंगमा लाग्ने रोग नसर्ने रोगमध्येको सबैभन्दा खतरनाक रोग हो । सा“च्चै मुटुरोगकै कारण विश्वमा वर्षेनी १ करोड ७५ लाख मानिसको मृत्यु हुने गरेको छ । गरिब तथा बिकासोन्मुख देशका युवा तथा गरिब व्यक्ति, धनी तथा सुसम्पन्न राष्ट्रका तुलनामा बढि मात्रामा मुटु रोगबाट संक्रमित भएको विश्व मुटु महासंघ तथा विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

डेढ दशक अघिसम्म ४० वर्ष उमेर नाघेकालाई मात्रै मुटु रोग लाग्ने गथ्र्यो, तर हिजो–आज १७ देखि माथिका युवामा पनि मुटु रोग बढेको छ । सुविधाजनक जीवनशैली र अस्वस्थकर खानपानले कोलेस्ट्रोल र उच्च रक्तचापजस्ता मुटुरोगका कारणलाई जन्म दिइरहेकाले मुटु रोगले जसलाई पनि आक्रमण गर्न सक्ने भएको हो । मुटु रोगमा पनि हृदयाघात (हर्टअट्याक) बाट मर्नेको संख्या विकासोन्मुख मुलुकमा बढि छ ।

नेपालजस्तो राष्ट्रका मानिसमा मुटु रोग बढ्नुको कारण विदेशी देशको सुविधाजनक जीवनशैली र खानपानको नक्कलै हो । अव्यवस्थित जीवन शैलीको नतिजा नै मुटु रोगको कारक हो । चिकित्सकहरु भन्छन्, आधुनीक सभ्यता, व्यस्त जीबन, महत्वाकांक्षी सपना, भोज–भतेर, कम्प्युटर, टेलिभिजन, धूमपान, मद्यपान, अत्याधिक मानसिक तनाब, व्यायामको कमीजस्ता कुरा नै मुख्य रुपमा मुटु रोग बढ्नुका कारण हुन् ।

त्यसो त हृदयाघात र हर्टफेललाई मात्रै मुटु रोगको रुपमा हेरिए पनि मुटु रोग थुप्रै प्रकारका छन् । नेपालमा देखिएका प्रमुख मुटु रोगमा जन्मजात मुटु रोगी, जन्मजात मुटुभित्रको प्वाल, बाथ मुटु रोग, उच्च रक्तचाप, हृदयाघात, हर्टफेल, मुटु सुन्निने तथा मुटुको धड्कन गडबड हुने रोग रहेका छन् ।

जन्मजात मुटुरोग गर्भधारणको तीन महिने अबधिमा महिलाले गर्भका लागि असुरक्षित मानिएका औषधी सेवन गरेमा, अत्यधिक मात्रामा धूममान र मद्यपान गरेमा, मुटुमा एक्सरेको बिकीरण परेमा मुटुको संरचनामा गडबड भई बच्चामा बिकृत मुटुको निर्माण हुनजान्छ र बालकलाई जन्मजात मुटु रोग लाग्न सक्छ ।

बाथ मुटुरोग बाल्यावस्थामा घाँटीमा समस्या भैरहेका बालबालिकालाई बाथ मुटु रोग लाग्नसक्छ । ३ देखि १५ वर्ष उमेरका बालबालिकामा बारम्बार घा“टी दुख्ने, टन्सिल बढ्ने हुनसक्छ । त्यतिबेला बालबालिकालाई एक किसिमको ज्वरो आउँछ यस्तो ज्वरोलाई बाथ ज्वरो भनिन्छ । र यसै ज्वरोको कारण पछि गएर मुटुको भल्ब खराव हुने रोग लाग्छ । यसलाई बाथ मुटु रोग भनिन्छ ।

मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन जान्छ र यो क्रम लम्बिँदै गएमा मांसपेशी मर्छ र यसले काम गर्न छाड्छ । यो अबस्थालाई हृदयाघात भएको भनिन्छ ।

उच्च रक्तचाप मुटुरोग मुटु रोगमध्ये सबैभन्दा खतरनाक उच्च रक्तचाप हो । मुटु खुम्चिने र फुल्ने गर्दा रक्तनलीमा उत्पन्न हुने चापलाई रक्तचाप अर्थात् ब्लड प्रेसर भनिन्छ ।

मुटुरोग लागेको कुरा हत्तपत्त कसैलाई थाहा हुँदैन । त्यसैले अवस्था जटिल भैसकेपछि मात्रै मुटुरोगी अस्पताल पुग्ने गर्दछन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा। कोइराला भन्छन्, ‘मुटुको रोग लागेका वा सुगर, प्रेसर भएका दीर्घरोगीहरुले चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्ने, घर बाहिर नजाने, शारीरिक अभ्यास, योग गर्ने कामलाई जारी राख्नुपर्छ ।’

 

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १२ : ०७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल