१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

भोजपुरे खुकुरीको माग बढदै, कालिगड अभाव



भोजपुर । भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन, ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नि , कुन पसलमा पाइन्छ ?’ हो प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन विदेशमा समेत प्रख्यात छ ।

चाडपर्वको सुरुआतसँगै भोजपुरमा अहिले आएर खुकुरीको माग समेत बढेको छ । खुकुरीको माग बढेअनुसार दक्ष कालिगडको भने अभाव देखिएको खुकुरी व्यवसायीहरूको भनाइ छ । उर्मिला आरन उद्योग भोजपुरका व्यवस्थापक हिरा श्रेष्ठ खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालिगडको अभावका कारण समस्या देखिने गरेको बताउँछन् ।

उनी भन्छन्, “भोजपुरमा बनेका खुकुरीहरु स्थानीय बजारमा मात्र होइन, भोजपुर बाहिरका जिल्ला साथै विदेशमा समेत माग छ, तर खुकुरी बनाउने कालिगड भने जिल्लामा कमै मात्र छन । मैले पनि केही कालिगडलाई मात्र काम दिएको छु ।”

सदरमुकाममा रञ्जिता खुकुरी उद्योग सञ्चालन गरेका अर्का व्यवसायी गणेश विक भन्छन्, “हाम्रो जिल्ला खुकुरीका लागि प्रख्यात जिल्ला मानिन्छ, तर मागअनुसार खुकुरी उत्पादन हुन सकिरहेको छैन ।” खकुरी उद्योगबाट थोरै कालिगडले मात्र रोजगारी पाएका छन् । हाल उद्योगबाट भोजपुरे, सिरुपाते, चित्लाङ्गे, कोथीमोडालगायतका खुकुरी उत्पादन हुने गरेको छ ।

उद्योगबाट उत्पादन भएको खुकरी हाल स्थानीय बजारका अतिरिक्त खोटाङ, सङ्खुवासभा, धनकुटा, धरान विराटनगर, काठमाडौँ हुँदै मुलुकबाहिर समेत जाने गरेको छ । चर्चामा रहेसँगै भोजपुरमा हुने हरेक स्वागत तथा बिदाइमा समेत भोजपुरे खुकुरी उपहारस्वरूप प्रदान गर्ने गरिन्छ ।

भोजपुरमा आउने र जानेहरुलाई उद्योग वाणिज्य सङ्घले पनि खुकुरी दिएर स्वागत तथा बिदाइ गर्ने गरेको सङ्घ भोजपुरका कार्यालय सचिव मीना कार्की बताउँछन् । “भोजपुरको चिनो नै बनिसक्यो भोजपुरे खुकुरी”, उनले भने “विगतमा द्वन्द्वको समयमा बन्द भएको भोजपुरको खुकुरी उद्योगहरु मुलुकमा आएको शान्ति प्रक्रियाको थालनीसँगै पुन ब्युँतिएका हुन् ।”

भोजपुरमा दाँवा, कोट, दलगाउँ, बोखिम, गोगने, खावालगायतका ठाँउहरुबाट समेत खुकुरी बिक्रीका लागि आउने गरेको छ । भोजपुरमा बुदुना, बाँसपाते, सिरुपातेलगायतका खुकुरीहरु बन्ने गरेको भए पनि बुदुना बढी मात्रमा बिक्री हुने गरेको छ ।

भोजपुर नगरपालिका–५ का महेन्द्र विक आफूले पनि खुकुरी बनाउने पेसा गर्दै आएको बताए । महेन्द्र खुकुरी उद्योग दर्ता गरेर खुकुरी बनाउने काम गर्दै आइरहेका उनले भने, “बिचमा रोजगारीका कारण केही समय खुकुरी बनाउने पेसा छाडे पनि अहिले नियमित गरिरहेको छु, कालिगड भन्दा पनि आफैँले खुकुरी बनाउने काम गर्दै आइरहेको छु ।”

विसं २०४७ देखि नै खुकुरीको व्यवसाय गर्दै आइरहनुभएका उर्मिला आरन उद्योग भोजपुरका सञ्चालक श्रेष्ठले आफूसँग बिक्रीका लागि सात सयदेखि आठ हजार पाँच सयसम्मको खुकुरी रहेको जानकारी दिए । जिल्लाकै ख्यातिसँग जोडिएको भोजपुरे खुकुरी उत्पादन गर्नु आफूहरुका लागि अवसर भएको उनले बताए । सरकारले परम्परागत सीप र व्यवसायलाई संरक्षण गर्न व्यावसायीकरणमा ढाल्न सहयोग गर्नुपर्ने सञ्चालक श्रेष्ठको भनाइ छ ।

भोजपुरमा सन् १९६५ देखि खुकुरीको व्यवसाय शुरु भएको इतिहास पाइन्छ । विसं २०२७ मा राजा महेन्द्र भोजपुर आउँदा स्थानीय आरन शिल्पकार सिंहबहादुर विश्वकर्माले भोजपुरमा बनेको खुकुरी उपहार दिएको बताइन्छ । विश्वकर्माको खुकरी बनाउने कला देखेर राजा महेन्द्रले एक हजार बक्सिसस्वरूप दिएको र सोही समयदेखि भोजपुरे खुकुरीको लोकप्रियता बढेको खुकुरी व्यवसायीहरूको भनाइ छ ।

सजावटका लागि समेत भोजपुरमा बन्ने खुकुरीहरु नेपालका साथै बाहिरी मुलुकहरु बेलायत, अमेरिका, फ्रान्सलगायतका मुलुकमा पनि जाने गरेको छ । खुकुरी बनाउने काम झन्झटिलो हुने भन्दै युवाहरु वैदेशिक रोजगारीका लागि विदेश जान थालेपछि भोजपुरमा कालिगडको अभाव हुँदै जान थालेको हो । खुकुरी बनाउनका लागि आवश्यक कच्चा पदार्थहरु जुटाउन समस्या हुने, त्यहाँमाथि युवाहरूलाई धेरै पैसा कमाउन मन हुने कारणले पनि समस्या भइरहेको खुकुरी व्यवसायी घनश्याम विश्वकर्माले बताए ।

खुकुरी वयवसाय सञ्चालनका लागि सरकारी निकायहरूबाट पनि आवश्यक कच्चा पदार्थ, कोइला, काठमा सहजता ल्याइदिनु पर्ने माग खुकुरी व्यवसायीहरूको रहेको छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ५ : ११ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर