१६ मंसिर २०७९, शुक्रबार | December 2, 2022

टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन


१९ आश्विन २०७९, बुधबार  

312
Shares

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका-३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा विदेशबाट फर्केका तीन जना युवाले गरेको रेन्बो ट्राउट माछापालन यस क्षेत्रकै नमूना माछापालन व्यवसाय बनेको छ ।

कलकल बगिरहने सङ्लो सफा अनि चिसो पानीलाई सदुपयोग गर्दै विदेशबाट फर्किएका यी युवाले खहरेखोलामा रेन्बो ट्राउट जातको माछापालन गरेका हुन् ।

दश वर्ष कतार र मलेसियामा बिताएका पूर्णबहादुर रोका, बहराइनबाट फर्किएका तेजेन्द्र बुढा र कतारबाट दुई वर्ष पसिना बगाएर गाउँ फर्केका हरिबहादुर रोकाले संयुक्त लगानीमा गरेको माछापालन यस क्षेत्रकै नमूना माछापालन बनेको हो ।

टिमुरेखोला नजिकै बनाइएको पोखरीमा पाँच हजार माछाका भुरा हुर्किएपछि उत्साहित युवाहरू थप पोखरी निर्माणमा जुटेका छन् । विदेशमा बगाएको पसिनाबाट सन्तुष्ट हुन नसकेपछि गाउँघरमै खेर गएको जमिनको सदुपयोग गर्ने गरी फर्किएर माछापालन सुरू गरेको हरिबहादुरले बताए ।

“माछाका अण्डा ल्याएर व्यवसाय सुरु गरेका थियौँ, अहिले निकै राम्रो भएपछि थप संरचना थप्दैछौँ”, उनले भने । उनले दूधजस्तै सङ्लो र सफा अनि चिसो पानी भएकाले उत्पादन राम्रो भएको जानकारी दिए । खाडीमा बगाएको पसिनाभन्दा गाउँघरकै हावापानीमा व्यवसाय गर्ने पहिलो प्रयास सफल भएपछि तीनैजना युवा उत्साहित छन ।

अहिले पोखरीमा दुई सय ग्रामदेखि आधा केजीसम्मको माछा छ । सामान्य तालिम लिएर सुरु गरेको माछापालनलाई थप व्यवस्थित बनाउन युट्युब, विभिन्न जानकारीमूलक पुस्तकबाट समेत सिक्ने गरेको अर्का युवा पूर्णबहादुरले बताए ।

“माछापालन सोचेजस्तो वा देखेजस्तो सजिलो भने छैन, दिनरात खट्नुपर्छ, उत्पादन गरेका माछाको बजार राम्रो छ”, उनले भने । हावापानी पनि उपयुक्त भएको र उत्पादन भएको माछालाई पनि बिक्री वितरणमा समस्या नभएपछि दुई वर्षभित्र १० वटा पोखरी, खोलाको छेउमै बसेर माछाको विशेष परिकार खुवाउने गरी रेष्टुरेन्ट सञ्चालनको योजनासमेत बनाएको व्यवसायी पूर्णबहादुरले जानकारी दिए ।

उनले माछापालन, रेष्टुरेन्टसहित अन्य कृषिजन्य उत्पादनको सोचसमेत बनाएका छन । हालसम्म रु सात लाख लगानी भएको छ भने थप रु २० लाख लगानी थप्ने योजना रहेको उनले बताए । ट्राउट माछा लोकप्रिय र सबैको रोजाइ रहने माछा हो । खानमा स्वादिलो, बीचबाहेक काँडा नहुने र प्रोटिनयुक्त पोषिलो माछाका रूपमा ट्राउटलाई लिने गरिएकाले गाउँघरका साथै दरबाङ र बेनीबजारमा समेत उच्च माग छ ।

यस क्षेत्रमा पहिलो पटक गरिएको परीक्षणमा रेन्बो ट्राउट जातका माछापालन सफल भएपछि अन्य युवाहरुलाई समेत व्यवसायमा लाग्न सहज भएको छिमेकी बेली गाउँका युवा सङ्गम पुनमगरले बताए ।

यता भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने रेन्बो ट्राउट माछालाई पालनका लागि सबैभन्दा राम्रो माछाको रूपमा लिने गरिएको बताए ।

उनले चिसो पानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको हुनुका साथै आम्दानी पनि राम्रै हुने भएकाले सम्भावना भएका क्षेत्रका युवाहरुलाई तालिम दिने गरिएको बताए ।

रेन्बो ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ । यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ । उक्त हावापानी खहरेखोला र बाह्रै महिना चिसो भएको क्षेत्रमा रहेको उनले बताए । रेन्बो ट्राउट माछा प्रतिकेजी रु एक हजार दुई सयमा पोखरीबाटै बिक्री हुन्छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ७ : २७ बजे

विश्वकप फुटबल : नकआउट चरणमा जापान विजेता स्पेन उपविजेता

काठमाडौं । जापान र स्पेन आफू अनूकुलको नतिजा निकाल्दै कतार

दोलखामा माओवादीका गंगा कार्कीलाई अग्रता

काठमाडौं । दोलखामा भैरहेको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा

स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली

नवलपरासी जिप दुर्घटना अपडेट : मृतक चारै जनाको सनाखत

नवलपरासी । नवलपरासीे (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु

गृहमन्त्री खाँण र विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता