३२ असार २०८३, बिहिबार | July 16, 2026

पोखरा-जोमसोम हवाई रुटमा मौसमी क्यामरा



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा-जोमसोम हवाई रुटमा उडान सुरक्षाका लागि तीन ठाउँमा मौसमबारे जानकारी दिने क्यामरा राख्ने भएको छ । प्राधिकरणले कालीगण्डकी कोरिडोरअन्तर्गत माहुरेडाँडा, कुटुका र लेतेमा मौसमबारे जानकारी दिने क्यामरा जडान गर्न लागेको हो ।

क्यामरा जडानका लागि महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । माहुरीडाँडा, कटुका र लेतेमा जडान गरिने मौसमी जानकारी दिने क्यामराको परीक्षण सफल भएमा अन्य विमानस्थलमा समेत सेवा विस्तार गरिने उनले बताए ।

उनले भने, “पोखरा-जोमसोम हवाईमार्गको समुद्री सतहबाट दुई हजार तीन सय मिटरदेखि तीन हजार तीन सय मिटर अग्लो स्थानमा आविष्कार केन्द्रले उक्त अत्याधुनिक क्यामरा जडान गर्नेछ ।”

प्राधिकरण र आविष्कार केन्द्रबीच भएको सम्झौताअनुसार क्यामरा जडानमा लाग्ने खर्च प्राधिकरणले बेहोर्नेछ भने प्रविधि भने राष्ट्रिय आविष्कार केन्द्रले जुटाउनेछ ।

क्यामराबाट प्राप्त हुने मौसमबारे जानकारी पोखरा नागरिक उड्डयन कार्यालय र जोमसोम नागरिक उड्डयन कार्यालयले मात्रै लिन पाउनेछन् । उक्त क्यामराको सहयोगमा हवाई कन्ट्रोल टावरबाटै पोखरा-जोमसोम हवाईमार्गका मौसमी दृश्य थाहा पाउन सकिनेछ । केन्द्रले क्यामरामा कैद भएका दृश्य अन्य निकायलाई बिक्री गर्न पाउने छैन । केन्द्रले क्यामरा बिहान सूर्य उदाएदेखि बेलुकी सूर्यास्तसम्म सञ्चालन गर्नुपर्नेछ ।

क्यामरा जडानका लागि अन्य अपरेसनल पावर आवश्यक परेमा नेपाल टेलिकमको टावरहरू पनि प्रयोग गरिने प्राधिकरणले जनाएको छ । प्रस्थान बिन्दु र गन्तव्य बिन्दुको मौसम सफा हुँदा उडेका जहाज उडानमा रहँदा हुने खराब मौसमका कारण दुर्घटनामा पर्ने जोखिम हिमाली भेगमा बढी हुने गरेको छ ।

यसको न्यूनीकरण गर्न क्यामरा जडानको काम सुरु भएको प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेले बताए । पर्यटकीय गतिविधि बढ्ने बेला पोखरा-जोमसोम रुटमा हवाई उडान गर्ने कम्पनीका लागि भ्याइनभ्याइ हुने र अरूतिरको रुटका उडान कटौती गरेर भए पनि हवाई कम्पनीले पोखरा-जोमसोम उडान गर्ने गरेको उनले बताए ।

हाल पोखराबाट उडेको १० मिनेटमा जहाज म्याग्दीको घोरेपानी पुग्ने गरेको छ । जहाज घोरेपानीको आकाशमा पुगेपछि जहाजको पोखरा टावरसँग सम्पर्क टुट्ने गरेको छ ।

घोरेपानी कटेको जहाज लेते पुग्नुअघि बीचको तीन मिनेट कतै पनि सम्पर्क हुँदैन । प्राविधिकहरूले यसलाई ‘बफर जोन’ भन्ने गरेका छन् । लेते पुगेर जोमसोम सम्पर्कमा आएको जहाजले करिब चार मिनेटपछि जोमसोममा अवतरण गर्ने गरेका छन् ।

उक्त क्षेत्रमा क्षणभरमै हुने मौसमी परिवर्तनका कारण गत जेठ १५ गते बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर जहाज सोही क्षेत्रमा दुर्घटनामा परेको थियो । दुर्घटनामा २३ जनाले ज्यान गुमाएका थिए । यसअघि सोही रुटमा सन् २०१२ फागुनमा अग्नि एयरको जहाज दुर्घटनामा परेको थियो । त्यतिबेला दुर्घटनामा १५ जनाले ज्यान गुमाएका थिए । आजको गोरखापत्र दैनिकमा मीनराज भण्डारीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  ७ : १३ बजे

सांसदले पाउने भए फेरि स्वकीय सचिवको सुविधा

काठमाडौं । सरकारले संघीय संसद्का सदस्यहरूले पुनः स्वकीय सचिव राख्न

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा

बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते

भैरहवा । सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग,