१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

पर्वतमा खेल मैदान अभाव भएपछि खेलक्षेत्र ओझेलमा


२९ मंसिर २०७९, बिहिबार  

247
Shares

कुश्मा । पर्वतको खेल क्षेत्र प्रवद्र्धन गर्न खेल मैदानको अभाव भएको छ । खेलाडीहरुका अनुसार पछिल्लो समय मैदान नहुँदा जिल्लाको खेलक्षेत्र समेत ओझेलमा परेको छ । “२० वर्ष अघि बडगाउँचौरमा धौलागिरिस्तरीय खेल हप्तैपिच्छे जस्तो हुने गर्थ्यो”, पूर्वफुटबल खेलाडी राजन गुरुङले भने, “अहिले टोलस्तरीय खेलसमेत हुन छाडिसकेको अवस्था छ । मापदण्डअनुसारको खेल मैदान नहुँदा एन्फाले दिने विभिन्न सेवासुविधाबाट फुटबल खेलाडी वञ्चितीमा पर्दै आएका छन् ।”

अहिले सशस्त्र प्रहरीको ब्यारेक रहेको ८४ रोपनीको बडगाउँ खेल मैदानमा फुटबल, भलिबल, ह्याण्डबल, टेबल टेनिस, तेक्वान्दो, कराँते, हाइजम्प, लङजम्प, दौडलगायत खेलका खेलाडी दिनरात खेल मैदानमा भेटिन्थे । “विसं २०५४ तिर हुनुपर्छ, यही बडगाउँ चौरमा पहिलो पटक अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता भएको थियो, मैले गोल्ड मेडल जितेको थिएँ ।” ४५ वर्षका खेलाडी नरेश श्रेष्ठले भने, “अन्य जिल्ला पुग्दा पर्वतको खेलाडी भनेपछि बेग्लै सम्मानले हेर्ने गरिन्थ्यो । अहिले खेलाडी पाउनै मुस्लि देखिएको छ ।”

अर्का कराँते प्रशिक्षक तथा कराँते महासङ्घ पर्वतका संयोजक राम श्रेष्ठले द्वन्द्वकालीन अवस्था र खेल मैदानको अभावले गर्दा पर्वत खेलकुदमा २० वर्ष पछाडि परेको बताए । “सदरमुकाम कुश्मा खेलाडीको केन्द्र जस्तै थियो, फरक खेलका खेलाडी जम्काभेट हुन्थ्यो”, उनले पुरानो दिन सम्झँदै भने, “हामीले पनि बडगाउँ खेल मैदानमा कराँते सिकेका हौँ, त्योबेला बेग्लै जोश थियो, राष्ट्रका लागि खेल्नुपर्छ भन्ने हुटहुटी थियो । पछिल्ला दिनमा खेलाडीको खेलप्रति खासै उत्साह र चासो देख्दिन ।”

सशस्त्रको छेउमै खेलकुदलाई भनेर जग्गा छुट्याइएको भए पनि त्यो पर्याप्त नभएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले बताए । उनका अनुसार खेलकुदलाई भनेर दिइएको जग्गा पनि विभिन्न सङ्घसंस्थाको नाममा रहेको छ । “हाम्रो खेल मैदान सानो र बर्खामा हिलाम्मे हुँदा खेलकुद प्रतियोगिता गर्न समस्या हुने भएकाले केही महिनाअघिको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सशस्त्र प्रहरीको गण भित्रै सम्पन्न ग¥यौँ”, अध्यक्ष गुरुङले भने, “जग्गा पनि हाम्रो नाममा छैन भोलि निक्लेर जा भन्यो भने हट्नुपर्ने अवस्था छ ।”

पर्वतको खेल क्षेत्र सुस्ताउँदा युवा लागुऔषधको कूलततर्फ फसिरहेको स्थानीय युवा नरेन्द्र केसीले बताए । “कुश्माका युवा पनि लागुऔषधमा फसिरहेका छन्, उनीहरुलाई खेलकुदमा जोड्न सकिएको छैन”, उनले भने, ‘‘खेलकुदले नै युवालाई सही बाटो हिँड्न सघाउने भएको हुँदा अब राज्यले सशस्त्रलाई दिएको खेल मैदान फिर्ता गर्नुपर्छ । युवाले आफ्नै खेल मैदानमा खेल खेल्न पाउनुपर्छ । ”

खेल मैदानको अभावमा धेरै युवा कोठाभित्रै मोबाइलमा गेम खेलेर बस्ने अवस्था रहेको क्रिकेट खेलाडी सुरेन श्रेष्ठले बताए । उनले भने, “खेल मैदान त छ, तर सानो । सेभेन ए साइड फुटबल खेल्न पनि नमिल्ने खालको । क्रिकेट खेल्नका लागि छिमेकी जिल्ला बागलुङ जानुपर्छ ।” उनले सशस्त्र बसेको खेलकुद मैदानमा आफूहरुलाई जतिबेला पनि निर्धक्कले खेल्न दिने वातावरण मिलाइदिन माग गरे ।

सो खेल मैदान २०६१ सालमा आफूहरुले खेलकुद विकास समितिमार्फत रु २५ लाखमा खरिद गरेको सशस्त्र प्रहरीको भनाइ छ । “मन्त्रिपरिषद्को निर्णय भएर जग्गा हाम्रो नाममा आएको हो”, सशस्त्र प्रहरी बल चण्डिका गण पर्वतका गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र बमले भने, “खेल खेल्नका लागि हामीले रोकेका छैनौँ, अनुशासित भएर खेल खेल्दा हुन्छ । विगतमा पनि विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्न दिएका थियौँ, रोकावट गरेका छैनौँ ।”

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ३ : ५० बजे

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय

खड्का समूहको बैठक आज, कांग्रेसभित्रको आन्तरिक रणनीतिमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज

दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

दाङ । दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको