काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्न अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको हो ।
बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति चयन गर्न पहल गर्ने कुराकानी भएको छ । कहाँ कसरी राष्ट्रिय सहमति खोज्न सकिन्छ भन्नेबारेमा दलहरूसँग छलफल गर्छौं, ।’ राष्ट्रिय सहमति गर्दा नेकपा एमालेलाई धोका दिएको अर्थ नलाग्ने उनले दाबी गरे ।
यसअघि गत पुस १० गते एमाले माओवादीबीच राष्ट्रपति एमालेले लिने, प्रधानमन्त्री र सभामुख आधाआधा कार्यकाल माओवादी र एमालेले लिने समझदारी भएको थियो ।
राष्ट्रपतिको निर्वाचन फागुन २५ देखि २८ गतेभित्र हुने पनि महराले बताए ।
आजको बैठकमा महराले पार्टी एकतासम्बन्धी प्रतिवेदन पेश गरेका छन् । यस्तै उपमहासचिव जनार्दन शर्माले संठनसम्बन्धी प्रतिवेदन र गिरिराजमणि पोखरेलले स्कुलिङसम्बन्धी प्रतिवेदन पेश गरेका छन्।
स्थायी समिति बैठक माघ १६ गते बस्नेछ ।
प्रतिक्रिया