काठमाडौं । भूकम्प आउने हल्ला चलेपछि जुम्ला, मुगु र बाजुराका बासिन्दा रातभर बाहिर बसेका छन् ।
भूकम्पको हल्ला फैलिएपछि स्थानीय घर छाडेर खेतबारी र सडकमा बस्न बाध्य भएका हुन् । भूकम्प आउँदैछ भन्ने हल्ला चलेपछि कठ्यांग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका तस्विर सामाजिक सञ्जालमा समेत छ्याप्छ्याप्ती भए ।
महिला, बालबालिका तथा वृद्धवृद्धा बढी त्रासमा परे । सिमिकोटका नवराज महताराले भूकम्पको हल्ला गर्दै जुम्ला, मुगु र बाजुराका मानिसलाई चिसोमा रातभर घर बाहिर बसाइएको बताए । उनले यसरी हल्ला फैलाउनेलाई कारबाहीका लागि प्रशासनलाई नागरिकले सघाउनुपर्ने उल्लेख गरेका छन् ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्पबारेको जिज्ञासासहित रातभर फोन आएको बताए । ‘रातभर फोनले हैरान पार्यो । मानिसहरूलाई दुःख दिनेको खोजी गरी कारबाही गर्नेछौँ’, उनले भने ।
उनले यो हल्लाको पछि नलाग्न र सचेत हुन सुझाव दिए । भूगर्भविद्हरू पनि भूकम्पकोपूर्वानुमान गर्न नसकिने भएकाले त्रासमा पर्न नहुने बताउँछन् ।


















प्रतिक्रिया