७ आश्विन २०८३, बुधबार | September 23, 2026

मध्यमाघसम्म हिउँ न वर्षा


१८ माघ २०७९, बुधबार  

650
Shares

गण्डकी । “हावा मात्र चल्छ, हिउँ पर्दैन”, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भने, “पोहोर परार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।” मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन ।

गाउँबस्ती सुक्खा छन् । डाँडाकाँडा फुस्रा र नाङ्गा । हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ । सिँचाइ नभएका ठाउँमा त अन्नपात माटोमै सुक्ने स्थिति छ । हिउँ नपरे उवा, जौँ, गहुँ, लसुन, आलुलगायत बाली नसप्रने थकालीले बताए । हिउँमा खुल्ने मुस्ताङका पर्यटकीयस्थल पनि उजाड देखिन थालेको उनको भनाइ छ ।

घरपझोङ–२ मार्फाका दीपक लालचनले हिमपात नहुँदा फलफूल र अन्नबालीलाई चाहिने चिसोपना कम हुने उल्लेख गरे । “चिस्यान पुगेन भने स्याउ उत्पादनमा ह्रास आउन सक्छ”, उनले भने, “मार्फामा भने सिँचाइ सुविधा भएकाले आत्तिनुपर्ने अवस्था छैन ।” जौँ खेती बढी हुने थासाङ गाउँका किसानलाई भने मौसमले चिन्ता थपिदिएको उनको भनाइ छ ।

थासाङमा सिँचाइको उचित प्रबन्ध छैन । हिमपात र वर्षा नहुँदा खेती प्रणालीसँगै हिमाली जनजीवन प्रभावित भएको छ । लालचनले कडा जाडो हुनुपर्ने याममा न्यानो महसुस हुन थालेको बताए । “यो वर्ष पुस, माघमा पनि उति साह्रो जाडो भएन”, उनले सुनाए ।

चिसो छल्न बेँसी र सहर झरेका मुस्ताङी पनि हिउँ नपरेको सुन्दा अचम्मित छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने बताए । “स्याउको फूल फुल्न र फल लाग्न जति चिसोपना चाहिने हो त्यो पुगेन भने उत्पादन घट्छ”, उनले भने ।

जौँ, गहुँ, उवा छरिसकेका र आलु लगाउने तयारीमा रहेका किसानले हिमपात पर्खिरहेको बस्ताकोटीले बताए । “माघ घर्किन लाग्दासम्म हिमपात नुहुन जलवायु परिवर्तनको असर पनि हुनसक्छ”, उनले भने, “यस्तो क्रम दोहोरिरहे हिमाली भेगमा नयाँ बालीले प्रवेश पाउने, रैथानेको उत्पादन घट्ने हुन्छ ।”

पछिल्लो समय मुस्ताङको उपल्लो भेगमासमेत काँक्रा, गोलभेँडाजस्ता तरकारीजन्य बाली उब्जाउ हुन थालेको उनले सुनाए । मुस्ताङमात्र नभएर गण्डकी प्रदेशका कुनै पनि हिमाली जिल्ला र उच्च पहाडी भेगमा अहिलेसम्म हिमपात भएको छैन । छिटपुट वर्षासमेत हुनसकेको छैन ।

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले मुस्ताङ, मनाङ, म्याग्दी र बागलुङको उच्च क्षेत्रमा लगाइएको हिउँदे बालीमा बढी असर पुगेको बताए । “बेलामा पानी नपर्दा, हिमपात नहुँदा असिञ्चित ठाउँको खेतीमा त क्षति नै पुग्छ”, उनले भने ।

बाह्रैमास नहर र कुलो सिँचाइको सुविधा भएका ठाउँमा भने समस्या नहुने प्रमुख रेग्मीले बताए । हिउँदे वर्षा होला र खेती सप्रला भन्ने आशमा रहेका किसानलाई भने खडेरीबाट ठूलो मार पर्ने उनले उल्लेख गरे । खडेरीले पहाडी क्षेत्रमा गहुँ, तोरीसहित तरकारी र फलफूलजन्य बालीमा बढी असर पर्ने उनको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले गण्डकी प्रदेशमा तत्काल पानी पर्ने सम्भावना नरहेको बताए । आकाश धुम्म भए पनि अहिलेको मौसम प्रणालीले वर्षा नहुने उनको भनाइ छ ।

“गण्डकी प्रदेशसहित देशैभर सामान्यतया मौसम बदलीको अवस्था छ”, उनले भने, “यो बदली वर्षामा परिणत हुने सम्भावना भने छैन ।” हिमाली भेगका केही ठाउँमा हल्का हिमपात भने हुनसक्ने महाशाखाको अनुमान छ ।

“यसपालिको हिउँदमा अहिलेसम्म हिमपात र वर्षा हुनसकेको छैन, नयाँ मौसम प्रणाली आएर वर्षा र हिमपात गराउन पनि सक्छ तर त्यो यकिन छैन”, मौसमविद् अधिकारीले भने ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : ४७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज