५ भदौ २०८३, शुक्रबार | August 21, 2026

मदिरा नियन्त्रणको रकमले विद्यालय भवन



बझाङ । मदिरा नियन्त्रणको रकमले पनि भवन बनाउन सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न मुस्किल हुन्छ । धेरै ठाउँमा मदिरा नियन्त्रणका लागि दुई/चार हजार समितिले असुल गरेपछि नियमित सेवन गर्नेहरूको पनि भागा भाग हुन्छ । दोस्रो पटक जरिवानामा पर्नेहरू त धेरै नै कम हुन्छन् तर बझाङको साविकको दौलिचौर गाविस (अहिलेको सुर्मा गाउँपालिका–१) मा भने मदिरा सेवन गरेर जरिवाना तिर्नेलाई खासै छोएन । जति जरिवाना तिरे पनि सेवन गर्ने र बिक्री गर्ने कम भएनन् ।

जिल्लामै दौलिचौर गाविस सबैभन्दा बढी अशान्त भइरह्यो । नेपाल प्रहरीले पनि ४५ जनासम्म सुरक्षाकर्मी राख्यो । जिल्लामै चुनौतीको विषय बनेको मदिरा र हिंसा केही वर्षपछि मात्रै साम्य हुँदै गयो । विसं २०६७ दौलिचौरमा मदिरा अत्यधिक भएपछि नियन्त्रण समिति बन्यो । समितिले मदिरा बेच्ने, सेवनलाई चर्को जरिवाना तोक्यो । सुरक्षाकर्मीलाई जँडिया समात्ने जिम्मेवारी दिइयो । समितिका अध्यक्ष बने गोरखबहादुर बोहरा ।

उनको कार्यकालमा मदिराको जरिवानाबाट रु ३२ लाख सङ्कलन भयो । विसं २०६७ देखि २०७४ सालसम्म मदिरा नियन्त्रण समितिले दौलिचौरमा सङ्कलन गरेको रकम जम्मा गरेर दौलिचौर माध्यामिक विद्यालयलाई हस्तान्तरण गर्‍यो । उनी भन्छन्, “त्यसबाट २५ प्रतिशत अर्थात् आठ लाख जँडिया समाते बापत प्रहरीलाई दियौँ । बाँकी सङ्कलन भएको रकमले विद्यालयको पक्की भवन बनायौँ ।”

उनका अनुसार जिल्लामै तत्कालीन सयममा मदिराको भण्डार दौलिचौरलाई मानिन्थ्यो । “जिल्लाभर अन्य ठाउँमा नपाइने मदिरा पनि दौलिचौरमा आउन थालेपछि हामीले मदिरा नियन्त्रण समिति बनायौँ,” उनी भन्छन्, “समितिले सुरूमा मदिरा नियन्त्रणका लागि प्रत्येक गाउँ गाउँमा अभियान नै चलायो तर, मदिरा रोकिएन । पछि अनिवार्य जरिवानाको नियम बनायौँ ।” मदिरासँगै क्यारेम, गुच्ची खेल्नेलाई पनि नियन्त्रणमा लिँदै जरिवाना तिराएको बोहरा सम्झन्छन् ।

मदिरा बेच्नेलाई रु २५ हजार, सेवन गर्नेलाई रु १० हजार, क्यारेमबोर्ड खेल्नेलाई रु १० हजार, गुच्ची खेल्नेलाई रु १५ सयका दरले जरिवाना गराएपछि सात वर्षमै रु ३२ लाख सङ्कलन गरेर त्यस रकमले विद्यालयको पक्की भवन बनाएको उनले बताए । मदिराले नियन्त्रणको जरिवानाबाट रु दुई लाख ५० हजारको विद्यालयमा मन्दिर र चौतारा, ३५ हजारको सोलार, २५ हजारको घेरबार, २० हजारको मन्दिरमा मूर्ति र घण्टीसहित दुई कोठे पक्की भवन बनाइएको थियो ।

तत्कालीन दौलिचौर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलक बोहरा पनि मदिरा नियन्त्रणको पैसा धेरै नै उठेर भवन बनाएको बताउँछन् । “विद्यालयका भवन त्यसै रकमले मात्रै त होइन तर पनि त्यति ठूलो रकम सङ्कलन भएको हुँदा धेरै काम भयो ।” उनी भन्छन् । विद्यालयका अन्य भवन बनाउनका लागि छ/सात वर्षमै दौलिचौरबाट रु ७० लाख चन्दा उठाएको उनले बताए । “अहिले त भवन नै बनेका छैनन्”, उनले भने, “त्यस बेलामा धेरै ठाउँबाट स्रोत जुटाएर ६ कक्षादेखि १२ कक्षासम्म सञ्चालन गरेका हौँ ।” विद्यालयमा खानेपानी, शौचालय, घेरबारलगायतका काम स्थानीय सरकार आउनुअगावै बनाएको उनले बताए ।

पहिलेको तुलनामा अहिले दौलिचौर निकै शान्त छ । सुर्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रप्रसाद जोशीले भने, “म पहिलो स्थानीय सरकार बनेपछि आएको हुँ । पहिले निकै अशान्त भन्ने सुनिन्थ्यो । मदिराकै कारण हत्या पनि भएको रहेछ । घरेलु हिंसा त घरैपिच्छे हुन्थ्यो भन्ने सुनिन्थ्यो । अहिले भने त्यस्ता घटना सुनेकै छैन ।”

उनका अनुसार अहिले सुर्मामा धेरै मान्छे आफ्नो काममा व्यस्त भएका छन् । “सुर्मामै अहिले फुर्सदिला मान्छे भेट्न मुस्किल पर्ला जस्तो छ । रातदिन आफ्नै काममा लागेका मान्छे भेटिन्छन् ।” सुर्मा गाउँपालिकामा मदिरा सेवन गरेर हिँड्ने मान्छे धेरै कम भएको उनले बताए । दौलिचौरमा मदिरा नियन्त्रण समिति पनि अहिले निष्क्रिय भएको पनि उनले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १० : १३ बजे

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको

बागमतीका मुख्यमन्त्री थापामगरले आइतबार विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा

जब एक चिनियाँ व्यक्ति गाउँ फर्किए, बनाए झुर ठाउँलाई ‘पर्यटकीय हब’

गुइयाङ (चीन) । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको

रास्वपाको सचिवालयमा ९ जना थपिए, विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन विस्तार तथा