नयाँ दिल्ली । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ । सरकारी अधिकारीका अनुसार, प्रदर्शनकारीहरूले प्रहरी चौकी, सरकारी कार्यालय र जनप्रतिनिधिका घरमा तोडफोड गर्नुका साथै केही भवनमा आगजनी गरेका छन् ।
मुख्यमन्त्री पेमा खाण्डुका अनुसार, सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले निर्माण गर्ने प्रस्ताव गरेको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’ विरुद्धको प्रदर्शनका क्रममा शुक्रबार राति हिंसा भड्किएको थियो ।
खाण्डुले पत्रकारहरूसँग भीडले ठूलो मात्रामा सम्पत्ति नष्ट गरेको बताए। प्रदर्शनकारीहरूले प्रहरी चौकी र एनएचपीसीको कार्यालयमा तोडफोड गर्नुका साथै निर्वाचित जनप्रतिनिधिका घरमा लुटपाट गरेको उनले दाबी गरे ।
प्रदर्शनकारीले हानेको ढुङ्गा लागेर करिब ४० जना प्रहरी घाइते भएका छन् । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
मुख्यमन्त्री खाण्डुले परियोजनाको विरोध गरिरहेका स्थानीयलाई हिंसाको बाटो त्यागेर सरकारसँग वार्ता गर्न आग्रह गरे ।
भारतले तिब्बतमा चीनले निर्माण गर्न लागेको विशाल जलविद्युत् परियोजनाको सम्भावित प्रभावलाई ध्यानमा राख्दै आफ्नो बाँध परियोजना आवश्यक रहेको बताउँदै आएको छ । करिब १६७ अर्ब अमेरिकी डलर लागत अनुमान गरिएको चिनियाँ परियोजना विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना बन्न सक्ने बताइएको छ ।
चिनियाँ बाँधका कारण ब्रह्मपुत्र नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव प्रभावित हुन सक्ने भारतको चिन्ता छ । प्रस्तावित भारतीय बाँधमा विशाल जलाशय निर्माण गरी नदीमा पानीको बहाव कायम राख्न सकिने नयाँ दिल्लीको भनाइ छ । तर, बेइजिङले आफ्नो परियोजनाले तल्लो तटीय क्षेत्रमा कुनै नकारात्मक असर नपार्ने प्रष्ट पारेको छ ।
भारतको प्रस्तावित बाँध परियोजनाको स्थानीय समुदायले पनि विरोध गर्दै आएका छन् । परियोजना निर्माण भए आफूहरूले घर र जमिन गुमाउनुपर्ने उनीहरूको चिन्ता छ ।
यस विवादले भारत र चीनबीच हिमालय क्षेत्रमा कायम सीमा तनावलाई थप उजागर गरेको छ । चीनले अरुणाचल प्रदेशलाई दक्षिणी तिब्बतको हिस्सा दाबी गर्दै आएको छ भने भारतले उक्त राज्य आफ्नो अभिन्न भू–भाग भएको बताउँदै आएको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शुक्रबार सीमा क्षेत्रमा तनाव व्यवस्थापन गर्न दुवै देशका अधिकारी नियमित सम्पर्कमा रहेको बताएका थिए।
उनका अनुसार, सीमा क्षेत्रमा चिनियाँ सेनाले नियमित गस्तीको स्थापित ढाँचाभन्दा फरक गतिविधि गर्दा बेलाबेलामा तनाव उत्पन्न हुने गरेको छ । दुवै पक्षले कूटनीतिक तथा सैन्य संयन्त्रमार्फत बाँकी विवाद समाधान गर्न र गलत बुझाइबाट उत्पन्न हुन सक्ने तनाव रोक्न प्रयास गरिरहेको उनले बताए ।


















प्रतिक्रिया