काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । दिउँसो ४ देखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका रहेको छ ।
त्यसअघि आज दिउँसो १२ बजेसम्म मनोनयन र उजुरीपत्रमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ । १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका रहेका छ ।
शनिबार उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ताको कार्यक्रम थियो । जसमा एमालेका अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव, प्रमिला कुमारी यादव र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको छ ।
अन्य तीन उम्मेदवारका विरुद्धमा उजुरी नपरेपनि रामसहायप्रसाद यादवका विषयमा भने एमाले र जनमत पार्टीका तर्फबाट दाबी विरोध गरेको छ । पुरुष खसआर्य समुदायबाट राष्ट्रपति निर्वाचित भइसकेकोले उपराष्ट्रपतिमा महिला हुनुपर्ने माग राखेर रामसहायको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको हो । जसमाथि आयोगले आज दिउँसो १२ बजेभित्र निर्णय गरिसक्ने छ ।
उपराष्ट्रपतिका लागि चैत ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । यसअघि राष्ट्रपतिमा आठ दलीय गठबन्धनका तर्फबाट कांग्रेस रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।



















प्रतिक्रिया