३ पुस २०८२, बिहिबार | December 19, 2025

पस्मिनाको गुणस्तर परीक्षणका लागि विज्ञ टोली मुस्ताङमा



म्याग्दी । पस्मिनाको कच्चापदार्थ च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षणका लागि विज्ञ टोली मुस्ताङमा पुगेको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पस्मिना सङ्घ र च्याङ्ग्रा पस्मिना किसान सङ्घको समन्वयमा नेपालमै पहिलो पटक भुवाको परीक्षण गर्न लागिएको जनाएको छ ।

अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ क्यारोल केभिड, नार्कका वैज्ञानिक निना अमात्य गोर्खाली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीसहितको टोली मुस्ताङमा पुगेको नेपाल पस्मिना उद्योग सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले जानकारी दिए ।

“लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट च्याङ्ग्रा भुवाको आठ सय वटा नमुना सङ्कलन गर्दैछौँ,” उनले भने “चारवटै पालिकाका एक सय ६० किसानले पालेका पाँच/पाँचवटा फरक-फरक, भूगोल, तौल, रङ र उमेर समूहका च्याङ्ग्राको शरीरबाट नमूना भुवा निकालिनेछ ।”

सङ्कलित नमूनालाई पस्मिनाको मोटाइ र लम्बाइ मापन गर्ने अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यावसायिक गुणस्तर परीक्षणका लागि पठाइने अन्तर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताए ।

“पस्मिनाको गुणस्तरले यसको महत्त्व तथा बजार मूल्यमा असर गर्दछ,” उनले भने “अन्य मुलुकमा भएको अनुसन्धानले जस्तै मुस्ताङको पस्मिना भुवामा पनि गुणस्तरमा विविधता देखिने अनुमान गरिएको छ । जसबाट गुणस्तरीय च्याङ्ग्राको नश्ल विकास, अनुसन्धान र भुवाको अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग पुग्नेछ ।”

कागबेनीमा आजदेखि भुवाको नमूना सङ्कलन कार्यमा खटिने किसानका लागि तालिम सुरु भएको छ । कागबेनी र चराङमा चैत १३ गतेसम्म सञ्चालन हुने तालिममा आठजना किसान सहभागी हुनेछन् । तालिम लिएका किसान र विज्ञ टोलीले चैत १४ देखि २२ गतेसम्म चार वटा पालिकाका विभिन्न ठाउँमा पुगेर च्याङ्ग्राको शरीरबाट परीक्षण गर्नका लागि भुवा कात्नेछन् । नार्कअन्तर्गतको राष्ट्रिय पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख निना अमात्य (गोर्खाली)ले मुस्ताङमा पहिलो पटक गरिने नमूना सङ्कलनबाट च्याङ्ग्राको पस्मिनाको गुणस्तर पत्ता लाग्ने बताए ।

“च्याङ्ग्राको पस्मिना राम्रो छ भन्ने गरिन्छ । तर गुणस्तरका बारेमा औपचारिक अध्ययन नभएको अवस्थामा यो पहिलो खुड्किलो हो,” उनले भने, “यसैमा आधारित भएर नश्ल सुधारका लागि समेत थप कार्यक्रम बनाउन सहयोग पुग्दछ ।”

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले भुवा सङ्कलन अभियानलाई सफल बनाउन पालिकाबाट पूर्णसाथ र सहयोग रहने बताए ।
स्थानीय किसानको आयआर्जनलाई वृद्धि गर्न समेत नमूना सङ्कलन महत्त्वपूर्ण रहेको गुरुङको भनाइ छ । प्राकृतिकरूपमा विरलै उत्पादन हुने च्याङ्ग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पस्मिनाको व्यावसायिक माग बढ्दो छ ।

राम्रो गुणस्तरको च्याङ्ग्रा पस्मिनाका लागि आकर्षक मूल्य तिर्न नेपाली खरिदकर्ता तयार भएकाले च्याङ्ग्रापालक किसानले राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ । नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ ।

नेपाल पस्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक एक सय ९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका किसानबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पस्मिना उद्योगी भीम शेरचनले बताए ।

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका किसानले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । शरीरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो ।

नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भुवा सङ्कलन र काठमाडौंमा प्रशोधन केन्द्र स्थापना गरेको छ । वैशाख-जेठ महिना च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । भुवा निकाल्ने सीप र नयाँ प्रविधि हस्तान्तरणका साथै तालिम प्रदान गरिएको छ । च्याङ्ग्राको भुवा पस्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो । भेडा र चौँरीको तुलनामा च्याङ्ग्राको भुवालाई गुणस्तरीय मानिएको छ ।

मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका किसानले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार ५२ हजार च्याङ्ग्रा पालिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ६ : ५१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको