१५ माघ २०८२, बिहिबार | January 29, 2026

खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध



खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने क्रममा सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गरिएको पाइएको छ ।

प्रवद्र्धक कम्पनी थ्री-स्टार हाइड्रोपावरले जलविद्युत् आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर खोलामा पानी नै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरु गरेका छन् ।

कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान भए पनि सबै पानी ड्यामतर्फ लगेको पाइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँले बताए । “आयोजनाको कामको अनुमति लिने बेला खोलामा जति पानी छोड्नुपर्छ भनेर निर्देशन दिइएको थियो वा सहमति भएको थियो, त्यसअनुसार पानी छाड्नुपर्छ”, उनले भने, “खोलामा जति पानी छोड्ने सम्झौता थियो, त्यही बराबरको पानी छाड्नुपर्छ । साप्सुखोलामा त्यस्तो देखिन । यसले पर्यावरणमा असर पुगेको छ ।”

विसं २०७८ मङ्सिर १४ गतेदेखि परीक्षण उत्पादन सुरू गरिएको ६ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् विसं २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । हिउँद याममा खोलामा पानीको बहाव घटेका कारण आयोजनाको प्रवद्र्धक कम्पनीले खोलै फर्काएको देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

राजापानीको बेलडाँडास्थित विद्युत् गृहबाट उत्पादित विद्युत् २ दशमलव ५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब-स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । १० स्थानीय तह रहेको जिल्लाबाट यो (साप्सुखोला जलविद्युत् आयोजना) सँगै तीन जलविद्युत् आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिएका छन् ।

साप्सुखोला जलविद्युत् आयोजनाको डिसेन्डर, नहर र जलाशय वरपर तारबार लगाइएको छैन । जसले गर्दा मान्छे तथा जनावर सहजै जान सक्ने र जलाशयमा डुब्ने खतरा भएकाले धराप थापे जस्तो बनेको स्थानीय बासिन्दा बताएका छन् । स्थानीय बासिन्दाको गुनासो आएपछि आयोजनास्थलको अनुगमनमा पुगेका प्रजिअ सेढाईले प्रवद्र्धक कम्पनीका आयोजना प्रमुख प्रदीप दाहाललाई फोन गरेर तत्काल सम्झौताअनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरी घेराबार लगाउन निर्देशन दिएको जानकारी दिए । “ड्यामभन्दा मुनी खोलामा कमिला वारपार गर्ने अवस्था देखिएको छ । आयोजनास्थलबाटै फोन गरेर सम्झौताअनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरी घेराबार लगाउन आयोजना प्रमुखलाई निर्देशन दिएको छु”, उनले भने, “प्रवद्र्धक कम्पनीको ठूलो लापरबाही देखिएकाले प्रशासनको तर्फबाट औपचारिक रुपमा पत्रसमेत लेख्ने तयारी गरिएको छ ।”

कम्पनीका आयोजना प्रमुख दाहालले कमजोरी स्वीकार्दै अधुरो कामलाई चाँडै पूर्णता दिने प्रतिबद्धता जनाएका छन । “ड्याम वरिपरी घेराबार लगाउने काम कम्पनीले अनिवार्य गर्नैपर्छ । विविध कारण ढिलो भएको छ”, उनले भने, “सिडियो साबसँग पनि कुरा भएको छ । अबको १५ दिनभित्र घेराबार लगाउने काम सम्पन्न गर्छौँ ।”

करिब रु एक अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । चार किलोमिटर टाढा खोलाबाट ल्याइएको पानीलाई बेलडाँडाबाट एक सय १० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड सात हजार लिटर पानी खसाएर विद्युत् उत्पादन गरिएको हो ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ७ : ०९ बजे

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा

मधेसको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

धनुषा । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

तानसेन । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको