७ श्रावण २०८१, सोमबार | July 22, 2024

‘चिल गाडी कैले आउन्या ओ’



कालीकोट । ‘चिल गाडी चड्न त हाम्मा लागि गाडै कुडा हो । तैपुनि आम्मै खुन पसिनाले बुनाएको चौड (मैदान) माथि घँगाडी (चिल गाडी) उड्न लाग्याको हेन्ने खाँती (धोको) थियो, खै कैले पूरा हुन्याओ ?’’ नरहरिनाथ गाउँपालिका-२ का काले दमै (७९ वर्ष) को धोको अझै पूरा भएको छैन । तीस वर्षअघि गाउँमा चिल गाडी (जहाज) आउने सपना बोकेर घरमा भएको कुटो कोदालो बोकी दिनहुँ सुनथरालीमा विमानस्थल निर्माण गर्न पसिना बगाएका उनलाई नजिकबाट जहाज हेर्ने ठूलो चाहना छ ।

अहिलेसम्म जहाज नदेखेका सोही ठाउँमा ठुमा विष्टलाई एकपटक हेरेर मर्न पाए आफूले बगाएको पसिनाको फल पाएको अनुभूति हुने थियो । आकासमा उडेको देख्दा कतै आफूले खनेको मैदानमा आउने हो कि भन्ने लाग्छ उनलाई । यतिका वर्षसम्म पनि जहाज नआएको देख्दा निरास हुँदै उनी भन्छन, “चिल गाडी नदेखिकनै मन्न्या हौँ कि ?”

गाउँको विमानस्थलमा जहाजको सुविधा भए बिरामी हुँदा समयमै ठाउँमा लगेर उपचार होला, सुत्केरीले अकालमै मर्न पर्दैन कि भन्ने वडा नं ३ का शेरबहादुर विष्टको आशा रहेको छ । सडक यातायात नहुँदा समयमै उपचारको अभावमा बर्सेनि सयौँको अकालमै ज्यान जाने गरेको उनी बताउछन । उदयराम उपाध्याय भन्छन, “हामी त डाँडामाथिका जुनबेल (जुनघाम) जस्ता भइजेयुँ । हाम्मा ट्वाटीकी (छोराछोरी) ले हाम्मो जस्तो दुःख पाउँनैन् कि ।”

विसं २०४२ देखि निर्माण सुरु भएको यस सुनथराली विमानस्थल विसं २०७९ पुसमा सम्पन्न भए पनि हालसम्म जहाज नआउँदा केटाकेटीले खेल्ने ठाउँ, विभिन्न निकायले कार्यक्रम आयोजना गर्ने थलो बनेको छ । निर्माण सम्पन्न भइसक्दा पनि उडान हुने निश्चय नहुँदा स्थानीयवासी निरास छन् । तैपनि कोटबाडावासी सुनथराली विमानस्थलमा जहाज उड्ने दिन कुरिरहेका छन् ।

नियमित उडानका लागि दबाब दिनकै लागि गाउँपालिकाले गत माघ ७ गते विमानस्थलको धावनमार्गमा गाउँसभा आयोजना गरेको थियो भने नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशको साधारणसभा पनि यही चैत २१ र २२ गते धावनमार्गमै आयोजना गरिएको थियो । तत्काल नियमित उडानका लागि दाबाब दिने उद्देश्यले धावनमार्गमा कार्यक्रम आयोजना गरिएको महासङ्घ कालीकोटका अध्यक्ष भरतराज विष्टले बताए ।

जिल्लाको एकमात्र विमानस्थल निर्माण कार्य पूरा भएपछि पनि नियमित उडान गराउनेतर्फ सरकारी निकाय र विमान कम्पनीले कुनै चासो देखाएको उनको भनाइ छ ।

साविकको कर्णाली अञ्चलका पाँचवटै जिल्लामा एक-एक वटा विमानस्थल निर्माण गर्ने गरी एकैपटकजसो शिलान्यास गरिएको थियो तर अन्य चारवटै जिल्लामा पहिले नै विमानस्थल निर्माण भई नियमित सञ्चालन हुँदा पनि कालीकोटमा अझै सञ्चालनमा आउन सकेको छैन । मुगु, डोल्पा, जुम्ला र हुम्लामा विमानस्थल समयमै सञ्चालन भइसकेका छन् । सदरमुकामभन्दा टाढा हुनाले राज्यको प्राथमिकतामा नपरेको स्थानीयको भनाइ छ ।

पञ्चायतकालमा निर्माण थालिएको यो विमानस्थललाई बहुदलीय व्यवस्था हुँदै अहिलेको लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा पनि राजनीतिक दलहरुले यसलाई केवल चुनावी एजेण्डा मात्र बनाउँदै आएको स्थानीयवासीको आरोप छ । नेताहरुले विमानस्थल सञ्चालन गर्ने वाचा गरे पनि हालसम्म यो विमानस्थल सञ्चालनमा आउन नसकेको स्थानीय अविलाल विष्ट बताउछन । “चुनावका बेला सबैले विमानस्थल बनाउने वाचा गर्छन्”, उनले भने, “तर पनि जहाज उड्ने गरी कसैले पनि काम गरेनन् ।”

सशस्त्र द्वन्द्व तथा राजनीतिक दलका स्थानीय नेताबीचको खिचातानीका कारण विमानस्थल ३९ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेको थिएन । विसं २०४२ मा जिल्ला विकास समितिको रु एक लाखको लागतमा विमानस्थलको काम थालनी गरिएको थियो । माओवादी जनयुद्धका कारण २०५८ देखि २०६३ सालसम्म यो आयोजनाको कुनै पनि काम अघि बढ्न सकेन । लामो समय निर्माणको जिम्मा लिने ठेकेदारसमेत नपाएको यो आयोजनाका लागि जिल्ला विकास समितिले रकम छुट्याए पनि दुर्गम भेगमा भएका कारण इञ्जिनियर नजाने, नबस्ने गरेकाले पनि लामो समय यसको निर्माण अवरुद्ध भयो । विसं २०६३ पछि मात्रै स्थानीय समिति निर्माण गर्दै यो आयोजना अघि बढाउने कार्य थालिए पनि बीचबीचमा दलबीचको आन्तरिक किचलोका कारण काम राम्ररी अगाडि बढ्न सकेन । दलका प्रतिनिधिको किचलोका कारण २०७१ सालसम्म अवरुद्ध बनेको यो विमानस्थलको निर्माण २०७१ साउनदेखि मात्रै अघि बढेको थियो ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले सुनथराली विमानस्थलमा नियमित उडानका लागि विभिन्न निकायसँग छलफल भएको र आगामी वैशाखदेखि उडान भर्ने सहमति भएकाले नयाँ वर्षमा कालिकोटवासीको जहाज चढ्ने सपना पूरा हुने बताउछन । उनी भन्छन, कर्णालीको पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलको आवश्यकता पर्दछ । कालिकोटका सांसद तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही कर्णालीको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनबाट मात्रै कर्णाली समृद्ध हुनसक्ने बताउछन । यहाँका बासिन्दाका लागि विकासको लाइफलाइन बनेको यो विमानस्थल जतिसक्दो छिटो सञ्चालनमा ल्याउनु जरुरी छ । उनी भन्छन, हरेक निर्वाचनमा मतदाताले मन्त्री हुनुहोस् र यो विमानस्थलमा जहाज ल्याउनुहोस् भन्दै मत दिने गरेका छन् ।

बडिमालिका र अछामको रामारोशनका लागि छोटो बाटो पर्दछ । योगी नरहरिनाथ जन्मेको साविकको कोटवाडा, द्वन्द्वको सुरुआत भएको मालकोट, लालु, रुप्सा र कुमालगाउँ मिलाएर यो गाउँपालिका बनेकाले यसको ऐतिहासक, सांस्कृतिक, प्राकृतिक र धार्मिक महत्व रहेको छ । विमानस्थल निर्माण सुरु गर्दा मुख्य गरी यातायातका लागि भनिएको थियो तर अहिले निर्माण सम्पन्न हुँदा यसको औचित्यमा परिवर्तन भएको छ । अब पर्यटकीय सम्भावनालाई आधुनिक विकाससँग जोड्न जरुरी रहेको स्थानीय नेता भरत वम बताउछन ।

नरहरिनाथ गाउँपालिका-१ मा रहेको सुनथराली विमानस्थल निर्माण सुरु भएको ३३ वर्षपछि २०७३ साल माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले परीक्षण उडान गराएका थिए । त्यतिबेला घाँसे मैदानमा परीक्षण उडान गरिएको थियो । त्यसपछि त्यो विमानस्थलमा जहाज आएको छैन । त्यतिबेला उनले यस विमानस्थल सञ्चालनपछि जिल्लाको मात्र नभई कर्णाली प्रदेशकै विकासमा सहयोग पुग्ने बताएका थिए । यस क्षेत्रमा बडीमालिका, त्रिवेणी पाटन, खप्तड रारा, रामरोशनजस्ता थुप्रै पर्यटकीय सम्पदा रहेकाले त्यहाँसम्म पुग्न यो विमानस्थल हुँदै थुप्रै स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावना छ ।

यो विमानस्थल कालीकोट जिल्ला सदरमुकाम खडचक्रबाट तीन किलोमिटर उत्तर पश्चिममा अवस्थित छ । समुन्द्र सतहबाट दुई हजार १०० मिटरको उचाइमा रहेको यो विमानस्थल छ, धावनमार्गको लम्बाइ छ सय ४० मिटर छ । राज्यको करोडौँ लगानीमा लामो धावनमार्ग, टर्मिनल भवन, सुरक्षा गार्ड भवन र प्रशासनिक भवन निर्माण भएको छ । हाल विमानस्थलको धावनमार्ग कालोपत्र भइसकेको छ भने रिपिटर टावरमा उपकरण जडान हुन बाँकी छ । यस विमानस्थलमा नियमित जहाज उडान भएका खण्डमा स्थानीय उत्पादनको बजारीकरणसँगै पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र प्रदेश राजधानीसँग सिधा पहुँच हुने आशामा कालीकोटवासी छन् ।

जहाज चढ्ने गरी नागरिकको आयस्तर वृद्धिमा जोड दिन आवश्यक रहेको बताउँदै सांसद शाहीले नागरिकको आयवृद्धिसँगै पहुँच विस्तार जरुरी छ र यसका लागि केबुलकार एकमात्र विकल्प रहेकामा जोड दिएका छन । यस विमानस्थलमा नियमित उडानका लागि केबुलकार निर्माण गर्नु आवश्यक छ । सदरमुकामबाट विमानस्थलसम्म केबुलकार निर्माण गर्नका लागि विस्तृत अध्ययन प्रतिवेदन पनि तयार भएको छ । कोटवाडा-मान्मा केबुलकार निर्माण भएमा अहिलेको झण्डै ५५ किमीको दूरीमा पाँच घण्टाको जोखिमपूर्ण यात्रालाई जम्मा पाँच मिनेटमा छोट्याउन सकिने रोपे वे एण्ड केबलकार प्रालिका अधयक्ष गुणराज ढकाल बताउछन । यसका लागि आवश्यकपर्ने करिब रु एक अर्ब १५ करोड लगानीको स्रोत जुट्न नसक्दा केबलकार निर्माण कार्य अगाडि बढाउन नसकिएको उनको भनाइ छ ।

यो विमानस्थल निर्माण गर्ने क्रममा ज्यान गुमाएका ३५ जना मजदूरको स्मरणमा गाउँपालिकाले शालिक निर्माण गर्ने भएको छ । गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले भने, “यो विमानस्थल तिनै मजदुरको चिहानमाथि बनेको छ । विमानस्थल निर्माण गर्नेक्रममा बलिदान दिने मजदुरको सम्मानमा स्मारक बनाउन शिलान्यास गरिसकेका छौँ र यसका लागि पालिकाले यस वर्ष रु १० लाख बजेट छुट्याएको छ”, अध्यक्ष विष्टका अनुसार नुहादेव र देहडु देवताको स्थल रहेको ठाउँलाई उठाएर विमानस्थल बनाइएको हो । यी दुवै देवतालाई रातो चन्दन चल्दैन तर यहाँ ३६ जनाको रगत बगेको छ । विमानस्थल निर्माण गर्ने क्रममा २०५८ फागुन १३ गते कोटवाडामा माओवादीको आरोपमा सेनाको कारबाहीमा विमानस्थलमा कार्यरत ३५ जना मजदुरको हत्या भएको थियो । मारिनेमा २६ जना धादिङको जोगिमाराका मजदुर रहेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  १ : २३ बजे

एमाले उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

नेपालगन्ज । लुम्बिनी प्रदेशसभामा एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य प्रदेश

नयाँ सरकार गठनमा लुम्बिनीमा एमालेको विवाद छताछुल्ल

नेपालगन्ज । माओवादी संसदीयदलका  नेता एवं मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले गरे दाबी पेस

बुटवल । नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले लुम्बिनी

भ्रष्टाचारको निष्पक्ष र स्वतन्त्र छानबिनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा चर्चामा आएका

हरिवंश आचार्यले दिए आफ्नो स्वास्थ्य सामान्य रहेको जानकारी

काठमाडौँ । हास्य कलाकार हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको