१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बिसु मनाउन घर फर्किनेको नाकामा लर्को



कन्चनपुर । बिसु पर्व मनाउन भारतबाट घर फर्किनेको पश्चिमी सीमा नाका गड्डाचौकीमा लर्को लागेको छ । बिसु पर्व नजिकिएसँगै रोजगारीका लागि भारतको विभिन्न ठाउँमा रहेका सुदूरपश्चिमका बासिन्दा घर फर्किन थालेका हुन् ।

पछिल्लो केही दिनयता पश्चिमी सीमा नाका गड्डाचौकीमा घर फर्किने नेपालीको लर्को लाग्ने गरेको छ । दैनिक एक हजारको हाराहारीमा मानिस स्वदेश भित्रिरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक देवसिंह बुडालले बताए । “पछिल्लो केही दिनयता गड्डाचौकी भएर स्वदेश फर्किनेको सङ्ख्या बढेको छ, दैनिक एक हजारको हाराहारीमा मानिस यो नाका भएर स्वेदश फिर्ता भइरहेका छन्”, उनले भने, “बिहान बेलुका नाकामा भारतबाट घर फर्किनेको भीड लाग्ने गरेको छ ।”

सुदूरपश्चिममा नव वर्षलाई ‘बिसु’ पर्वका रूपमा निकै हर्षोल्लासका साथ मनाउने गरिन्छ । पर्व नजिकिएसँगै तयारी स्वरूप ग्रामीण क्षेत्रका बासिन्दा आफ्नो घर लिपपोत गर्न व्यस्त छन् । रोजगारीको सिलसिलामा देश तथा विदेशमा रहेका मानिस खर्च जोहो गरेर बिसुका लागि घर फर्किरहेका हुन् । भारतमा मजदुरी गरेर बिसु मनाउन घर फर्किएको मोहन जोशीले बताए । “स्वदेशमा केही काम पाइँदैन, त्यसैले जीविकोपार्जनका लागि भारत जानुपर्छ”, उनले भने, “चाडबाडका लागि घर खर्च जोहो गरेर फर्किएँ, चाडबाड मनाएर फेरि भारततिरै जान्छु ।”

चाडबाडका साथै खेती भित्र्याउने बेला पनि भएकाले अहिले भारतबाट मानिस स्वदेश फर्किरहेको महेश कुँवरले बताए । “यो समय गहुँ भित्र्याउने र चाडबाडको हो, खेतीपाती सकेर फुर्सदको बेला खर्च जोहो गर्न कामका लागि भारत गएको थिएँ”, उनले भने, “बाल बच्चालाई नयाँ लुगा कपडा र घर खर्चसहित फर्किएँ ।”

भारतमा रोजगारी गरी चाडपर्वको खर्च जुटाएर नेपाली झोलाझिम्टीसहित स्वदेश फर्किरहेका छन् । घर खर्च जोहो गर्न कामको खोजीमा सुदूरपश्चिम, कर्णालीलगायत क्षेत्रका नेपाली भारत जाने गरेका छन् ।

स्वदेशमा रोजगारीको अवसर नपाउँदा नेपाली नागरिक मजदुरीका लागि भारतको गढवाल, सिमला, चण्डीगढ, लद्दाख, जम्मु कश्मिर, दिल्लीलगायत स्थानमा जाने गर्छन् ।

भारतबाट फर्किने नेपालीले चाडबाडका बेलामा घर फर्कन पाएकोमा खुसी व्यक्त गरेका छन् । नयाँ वर्षको स्वागत र जाने वर्षको बिदाइस्वरुप मनाइने बिसु पर्वका लागि जन्मभूमि फर्कनेको लर्को लागेसँगै यहाँ चहलपहल पनि बढेको छ ।

वर्षभरिको कामको चटारोलाई बिर्सेर पर्वमा स्थानीय बासिन्दा रमाउने गर्दछन् । बिसु पर्वमा विष झार्ने भन्दै देवर–भाउजुबीच सिस्नो लगाएर रमाइलो गर्ने गरेको स्थानीय बूढापाकाको भनाइ छ । वैशाख १ गतेको दिन बिहान झिसमिसेमै उठेर आकाशका तारा हेरेमा वर्षभरि नै सर्प नदेखिने र सर्पले दुःख नदिने जनविश्वास रही आएको छ । यस पर्वमा महिला माइती गएर आशिर्वाद थाप्ने चलन रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ९ : २३ बजे

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको