म्याग्दी । नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको मोहरेडाँडामा खानेपानीको समस्या छ । अन्नपूर्ण गाउँपालिकाको वडा नं ८ मा पर्ने मोहरेडाँडामा पर्यटकको चाप बढे पनि पिउने र सरसफाइका लागि आवश्यक पानीको व्यवस्थापन नहुँदा समस्या भएको हो ।
समुद्री सतहबाट तीन हजार तीन सय १० मिटर उचाइमा रहेको मोहरेडाँडामा पानीको स्रोत छैन । हिउँदमा हिउँ, बर्खामा बलेसीबाट प्लाष्टिकको ड्रममा सङ्कलन गरेर पानीको जोहो गरिएको मोहरेडाँडा सामुदायिक लजका व्यवस्थापक नवीन पुनले बताए ।
“लजबाट करिब छ सय मिटर तल जङ्गलको खोल्सामा रहेको सानो मूलमा दुईवटा एक-एक हजार लिटर क्षमताका ड्रममा पानी जम्मा गरी मोटरले पानी तान्ने गरिएकामा सोलार पावर नपुग्दा मोटरले पानी पम्प गर्न छाडेको छ”, उनले भने, “पम्पिङ सिस्टम बिग्रिएको, आकाशे वर्षा नभएको र हिउँ नपरेको अवस्थामा खच्चरबाट पानी बोकाएर ल्याउने गरिएको छ ।”
एउटा मुहानबाट एक दिनमा करिब पाँच सय लिटर पानी सङ्कलन हुन्छ । सङ्कलन नभएको पानी सोलार पम्पिङ प्रविधिबाट प्रयोग गरिँदै आएको थियो । अर्को मुहान केही तल भिर जराको खोल्सामा छ । यो मुहान अलि ठूलो छ । खानेपानीको अभाव पूरा गर्न पुस-माघमा एक हजार लिटरका २० वटा ड्रममा हिउँ जम्मा गरी पगाल्दै खुवाउने गरेकामा यसपालि हिउँ परेन ।
असोज-कात्तिकको सिजनमा पानी अभाव पूरा गर्न बर्खायामको बलेसी पानी ड्रममा जम्मा गर्ने गरिएको छ । सङ्कलन गरिएको पानीलाई क्लोरिनबाट निर्मलीकरण गरेर खाने/खुवाउने गरिएको छ ।
सामाजिक अभियन्ता महावीर पुनको अगुवाइमा १३ वर्षअघि गलेश्वर-बाँसखर्क-नागी-महरे-डाँडाखर्क-स्वाता-खोप्रासम्मको १४ दिन लामो अन्नपूर्ण-धवलागिरि सामुदायिक पर्या पदमार्ग सञ्चालनमा ल्याइएको थियो । सडकका कारण अन्नपूर्ण चक्रीय पदमार्ग छोटिएपछि मोहरेडाँडामा पर्यटकको चाप बढेको छ ।
याममा दैनिक ४०-५० देखि ८० जनाको हाराहारीमा पर्यटक आउने गरेका लजका कर्मचारी पुर्ख पुर्जाले बताउनुभयो । मोहरेडाँडाबाट सिस्ने, गुर्जा, धवलागिरि अन्नपूर्ण, माछापुच्छे्र, मनास्लु हिमशृङ्खला, सूर्योदय, सूर्यास्तको मनोरम दृश्यावलोकन, जङ्गल सफारी गर्न सकिन्छ ।
फेवाताल, मिर्मीमा कालीगण्डकी थुनेको बाँध, पोखरा बजारसँगै म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, गोरखा, कास्की, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुमलगायत जिल्लाका अग्ला पहाडका टाकुरा पनि देख्न पाउनु मोहरेडाँडाको अर्को विशेषता हो ।
नजिकै बस्ती नभएकाले पाहुनाको खाने-बस्ने सुविधाका लागि मोहरेडाँडामा समुदायले ८० जना क्षमताको सामुदायिक लज सञ्चालन गरेका छन् । नेपालको एक सयवटा पर्यटकीय गन्तव्यमा सूचीकृत भएको मोहरेडाँडामा लजको क्षमता बढाएसँगै दैनिक एक सय जनाभन्दा बढी बास बास्न सक्ने भएको अन्नपूर्ण धवलागिरि सामुदायिक पदमार्गका कोषाध्यक्ष रमन पुनले बताए ।
चारैतिर घना गुराँसको जङ्गल बीचको पहाडको टाकुरामा अवस्थित मोहरेडाँडमा राम्चेबाट केन्द्रीय लाइनको विद्युत् विस्तार गरेर लिफ्ट प्रविधिबाट खानेपानी व्यवस्थापन गर्न पहल गरिएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए ।



















प्रतिक्रिया