३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

राजमार्ग विस्तारका लागि सहिदगेट भत्काइयो


१६ जेष्ठ २०८०, मंगलबार  

351
Shares

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त सहिदगेट भत्काइएको हो ।

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिदगेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । नेकपा (माओवादी) केन्द्रले उक्त सहिदगेटको निर्माण गरेको थियो । सहिदगेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका सहिदको विवरण समेटिएको थियो ।

मुग्लिन–पोखरा सडकखण्डलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिनबाट पोखरासम्मको खण्डलाई दुई भागमा ठेक्का सम्झौता गरी काम भइरहेको छ ।

 

मुग्लिन पोखरा सडक विस्तार : रु पाँच अर्ब ४२ करोड विनियोजन

सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा रु पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सडक विस्तारका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए ।

मुग्लिनबाट पोखरासम्म सडक चार लेनमा विस्तार गर्नका लागि काम भइरहेकामा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले बताए । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा २५ र जामुनेबाट कोत्रेसम्मको पश्चिम खण्डमा छ दशमलव शून्य पाँच प्रतिशत प्रगति हासिल भएको छ ।

पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रका लागि परीक्षण सुरु भइसकेको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ कामलाई अगाडि बढाइएको आयोजना प्रमुख नरेन्द्र सुवेदीले बताए ।

आँबुखैरेनी गाउँपालिका–१ स्थित बरादीस्थित सडकमा दुई सय मिटर दूरीमा परीक्षण गरिएको सुवेदीले बताए । उनले भने, “यसको जाँच गर्ने काम सुरु भएको छ, यसको मोटाइलगायतका पक्षको जाँचको प्रतिवेदन आएपछि कालोपत्र नै सुरु गर्ने तयारीमा छौँ ।” वैशाखमै कालोपत्र गर्ने तयारी गरिए पनि प्राविधिक कारणवश ढिलाइ भएको उनको भनाइ छ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १२ : ०३ बजे

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली