६ पुस २०८२, आइतबार | December 21, 2025

देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन शुरु



बुटवल । लुम्बिनी विकास कोषले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको खयरडाँडामा उत्खनन शुरु गरेको छ । बुधबार कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका नगरप्रमुख धुर्व खरेलले संयुक्त रुपमा उत्खननको शुभारम्भ गरेका हुन् ।

देवदह नगरपालिका वडा न. ९ स्थित घोडाहा खयरडाँडामा लामो समयदेखि दरबारक्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयहरुले आवाज उठाउँदै आएका थिए । देवदहका स्थानीय समेत रहेका कोषाध्यक्ष भट्टराईले देवदहका स्थानीय र विभिन्न अभियान्ताहरुले दावी गरे अनुसार देवदहको खोजीका लागि उत्खनन महत्वपूर्ण बन्ने बताए ।

उनले कोषले बौद्धपुरातात्विक क्षेत्रहरुको उत्खनन र संरक्षणमा पुरातात्व महाशाखालाई बलियो बनाएर अभियान सञ्चालन गर्ने योजनामा रहेको बताए । उनले देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरुको पुरातात्विक उत्खनन गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले उत्खनन थालेको बताए । ‘देवदह कुन हो, त्यसका लागि पुरातात्विक रुपमा पुष्टि हुन बाँकी छ, तर खयरडाडा पुरातात्विक स्थल रहेकोमा कुनै शंका छैन’ उनले भने । उनले देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालिन पुरातात्विक स्थलका रुपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्विक स्थलहरुको संरक्षण गर्दै पर्यटकीय आर्कषणको केन्द्र बनाउन नगरपालिकाले काम गर्नुपर्ने बताए ।

उत्खनन शुभारम्भमा देवदह नगरपालिकाका नगरप्रमुख धुर्व खरेलले खयरडाँडाँ क्षेत्र नै कोलिय गणराज्यको राजधानीको दरवार क्षेत्र रहेको दावी गरे ।

उनले उत्तरतर्फ पुष्करणी दह, पश्चिमपट्टी रोहीणी नदी रहेकाले यहि क्षेत्र नै देवदह भएको आफुहरुको विश्वास रहेको बताए । उनले लुम्बिनी विकास कोषले खयरडाँडामा उत्खनन शुरु गरेर पुरातात्विक स्थल र बुद्धको मावली गाउँ देवदहको खोजीका लागि महत्वपूर्ण योगदान पु¥याउने बताए । नगरप्रमुख खरेलले खयरडाँडामा भेटिएका पुरातात्विक बस्तु र स्मारकहरुलाई नगरपालिकाले संग्रालय बनाएर राख्ने प्रतिबद्धता जनाए ।

लुम्बिनी विकास कोषका पुरातात्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा ७ जनाको टोली उत्खननमा खटिएको छ । लामो समयदेखि स्थानीयहरुको माग रहेपनि विविध कारण हुन नसकेको उत्खनन यो पटक शुरु गरिएको महाशाखा प्रमुख उप्रेतीले बताए । स्थानीयहरुको दावी अनुसार खयरडाँडा बुद्धको मावली कोलिय गणराज्यको राजधानी देवदहको दरवार क्षेत्र हो ।

पुरातात्विक रुपमा देवदहको पुष्टिका लागि उत्खननले महत्वपूर्ण प्रमाणहरु जुटाउने अपेक्षा गरिएको छ । उत्खनन शुभारम्भमा देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिरा केसि, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगर प्रवक्ता गणेश डुम्रे, वडाअध्यक्षहरू मोहन जिसि र कृष्ण अधिकारी, लुम्बिनी बौद्ध विश्वविद्यालयका उकेशराज भुजु लगायतको उपस्थिती थियो ।

बुधबारदेखि शुरु भएको उत्खनन आगामि असार १५ गते एक महिनासम्म चल्नेछ । उत्खननमा पुरातात्व महाशाखाका प्रमुख उप्रेती सहित नवराज अधिकारी, शुभेच्छा पोखरेल, निशा पन्थी, अम्बिका सुब्बा सहितको टोली खटिएको छ ।

यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातात्व विभागले भवानीपुरमा उत्खनन गरेको थियो । कोषले यहि आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार कपिलबस्तुको गोटिहवामा चैत २५ गतेदेखि जेठ ३ गतेसम्म उत्खनन गरेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  २ : ५८ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र