२८ जेष्ठ २०८३, बिहिबार | June 12, 2026

नारायणगढ–मुग्लिन सडकखण्डको मौरीखोला पहिरोको उच्च जोखिममा



चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मौरीखोला क्षेत्र पहिरोको दृष्टिकोणले उच्च जोखिममा देखिएको छ । विगत तीन वर्षयता वर्षात्को समयमा मौरीखोलामा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । डिभिजन सडक कार्यालय चितवनले वर्षात्को समयमा सो स्थानमा जुनसुकै समय पहिरो खस्न सक्ने भएकाले असारको २ गतेबाट एक्साभेटर तयारी अवस्थामा राखेको छ ।

कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर रमेशकुमार पौडेलका अनुसार विगत वर्ष अहिलेको अवस्था र अध्ययनलाई हेर्दा सो स्थानमा पहिराको जोखिम उच्च छ । विश्व बैंकका पहिरो विज्ञसहितको प्राविधिक टोलीले दुईपटक आएर अवस्थाको अध्ययन गरेर फर्किएको छ । उनका अनुसार यकिन जानकारी आइ नसके पनि टोलीले प्रारम्भिक अध्ययनका आधारमा मौरीखोलामाथिको एकापट्टि डाँडाको भाग नै झर्न सक्ने जोखिम औँल्याएको छ । सो ठाउँमा २५ हजार घनमिटर हाराहारी पहिरो खस्न सक्ने विज्ञ टोलीको अनुमान रहेको छ । प्रमुख डिभिजनल इन्जिनियर पौडेलले भने, “आठ–दश हजार घनमिटरसम्म त धान्न सकिन्छ । बढी भयो भने सडक रोकेर काम गर्नुपर्छ ।”

पुल भएको ठाउँमा माथि डाँडाबाट पहिरो खस्ने गर्दछ । गत साल ड्रोन उडाएर अध्ययन गर्दै गर्दा तीन सय मिटरभन्दा अग्लो डाँडा रहेको देखिएको थियो । डाँडामाथि बाटो खन्ने गरिएकाले पनि पहिरोको जोखिम बढ्दै गएको छ । सोही क्षेत्रमा सन् २००३ मा जाइकाले पहिरो रोक्नका लागि काम गरेको थियो । पछि पहिरोले तत्कालीन समयमा गरेको काम बगाएको थियो । सो सडकखण्डमा पहिराको समयमा काम गरेका ई शिव खनालका अनुसार भू–गर्भविद्ले गरेको अध्ययनमा सो क्षेत्रको झन्डै सात सय मिटर लम्बाइ क्षेत्र पहिरोमा संरचना बनेकाले चलायमान छ ।

यसै कारण जुनसुकै बेला पहिरो खस्न सक्ने विज्ञहरूले आकलन गरेको खनालले जानकारी दिए । सो सडकको चार किलो र १८ किलोमा पनि पहिराको उच्च जोखिम देखिएको छ । ती दुवै ठाउँमा तयारी अवस्थामा लोडर राखिएको छ । यस्तै सेती दोभान र सिमलताल पनि पहिराको जोखिममा रहेको छ । सडकका १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्ता काटिएका ठाउँमा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाइएको छ ।

उनका अनुसार ती ठाउँमा पुल बनाउँदै गरेको अनक कन्स्ट्रक्सनले पहिरो पन्छाउनका लागि साधन तयारी अवस्थामा राखेको छ । सो सडकका अन्य क्षेत्रमा साना–तिन पहिरो खसिरहने गर्दछन् । पौडेलले अन्यत्र भने ठूलो समस्या नहुने बताए । उनले भने, “जुनसुकै ठाउँमा पहिरो खस्नासाथ पन्छाउनका लागि स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर काम गर्न तयारी अवस्थामा हामी छौँ ।”

सडकखण्डमा निर्माण गरिँदै रहेको १९ पुलमध्ये चारवटाको निर्माण पूरा भएर हस्तान्तरण भइसकेको छ । चौधवटा पुलमध्ये केही सञ्चालनमा आएका छन् भने अन्य निर्माणाधीन रहेका छन् । नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात परियोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा विस्तारको काम गरिएको थियो ।

सन् २०१५ को अप्रिलमा ठेक्का सम्झौता भई रु दुई अर्ब ९० करोड खर्च गरी तीन वर्ष लगाएर सडक विस्तार गरिएको हो । सडक विस्तारपछि विश्व बैंककै सहयोगमा पुल निर्माण थालिएको हो । सोही क्रममा ३१ ठाउँका पहिरो नियन्त्रणका काम गरिएको थियो । अधिकांश ठाउँमा भित्ता काटिएको थियो । जसमध्ये सात ठाउँमा महत्त्वका साथ पहिरो रोक्ने काम गरिएको थियो । पहिरो रोक्ने कामका लागि मात्र रु ४० करोड खर्च भएको थियो । सडक विस्तारका क्रममा काटिएका भित्ता र ग्रामीण क्षेत्रमा जानका लागि खनिएका सडकका कारण धेरै ठाउँमा पहिराले दुःख दिने गरेको छ । यसै सडक हुँदै राजधानी काठमाडौँ, पोखरालगायतका क्षेत्र आवतजावत गर्ने गरिन्छ । यो सडकमा दैनिक १० हजार हाराहारी सवारी गुड्ने गर्दछन् । रासस

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १० : १६ बजे

क्यान्सरको औषधी सहजताका लागि तोकियो फार्मेसी, नेपालगन्जमा जानकी, भरतपुरमा राजदूत

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

खजुराको एउटै वडामा ७८ बालबालिका र ३१ गर्भवती कुपोषित

खजुरा । यातायात, स्वास्थ्य संस्था र शिक्षाको क्षेत्रमा सुगम मानिएको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत । पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट रु ३१ लाख ५१ हजारसहित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९यूएई० दुबईका