५ श्रावण २०८३, मंगलबार | July 21, 2026

पर्वतको जलजला आलुको बीउमा आत्मनिर्भर



पर्वत । वर्षौँ पहिलेसम्म पर्वतका विभिन्न स्थानमा आलु खेतीका लागि क्याङ, लेस्पार, बनौँ, लगायतका ठाउँमामा पुगेर बीउ ल्याउने प्रचलन थियो । चिसो र लेकाली भेगमा फलेको आलुको स्वाद मिठो हुने भएकाले ती ठाउँमा पुगेर चामलसँग आलुको बीउ विनिमय गर्ने चलन पुरानो हो ।

तर आजभोलि क्याङ, लेस्पार, बनौँ, लगायतका किसानले बाहिर निर्यात गर्ने भन्दा पनि आफ्ना लागि आवश्यक बीउ मात्रै राखेको प्रायः भेटिन्छ । हाइब्रिड जातका बीउले बजारमा बर्चश्व जमाएको बेलामा ती लेकाली भेगमा समेत आयातित बीउ प्रयोग हुने क्रम बढ्दै जान थालेको छ ।

रैथाने जातका आलुको बीउमा विभिन्न समस्या देखिएपछि जलजला गाउँपालिकाले आफै पूर्व मल बीउ र उन्नत जातको बीउ उत्पादनको काम गर्दै आएकोमा बीउमा आत्मनिर्भर बनेको गाउँपालिकाको कृषि शाखाका प्रमुख राजु गौतमले बताए । गाउँपालिकाले उत्पादन गरेको आलुको पूर्व मूल बीउबाट उत्पादन भएको आलुको बीउ कोल्ड स्टोरमा राख्नको लागि पठाइसकिएको छ । त्रिपन्न हजार दुई सय दाना बीउ लगाएकोमा त्यसबाट ६ हजार पाँच सय किलो उत्पादन भएको छ ।

उनले भने, “दोस्रो पुस्ताको उन्नत बीउ १० मेट्रिक टन लगाएकामा ७५ मेट्रिक टन उत्पादन गरेर कोल्ड स्टोरमा राखिएको छ । यही वर्ष पनि हामीलाई आवश्यक बीउ पुग्छ । केही निर्यात हुनसक्ने अवस्था रहला, अर्को वर्ष त हामीलाई आवश्यक भन्दा धेरै बीउ तयार भएको हुने छ ।”

पूर्व मूल बीउबाट पहिलो चरणमा उत्पादन भएको ६.१ मेट्रिक टन बीउ कोल्ड स्टोरमा राख्नका लागि पोखरा पठाइएको छ । उन्नत जातका रूपमा लिइएको खुमल उज्ज्वलको ‘हार्भेस्टिङ’ बाँकी नै रहेको भन्दै शाखा प्रमुख गौतमले यो जातको बीउ आठ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको बताए ।

असिनाका कारण खुमल सेतो १ मा ५० प्रतिशत उत्पादन कम हुँदा पनि करिब लक्ष्य अनुसारकै बीउ तयार हुने अवस्था रहेको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ मा ७५.५ मेट्रिक टन दोस्रो पुस्ताबाट उत्पादित बीउ आलु र आठ मेट्रिक टन मूल बीउबाट अन्य बीउ उत्पादन सुरु गरेपछि गाउँपालिकामा खपत हुन नसकेको बीउ निर्यात गर्ने अवस्था आउने गाउँपालिकाले जनाएको छ ।

करिब रु १० लाखको लगानीमा उत्पादन हुने उन्नत जातको बीउ किसानले आलु खेतीका लागि पाउने छन् । तर पूर्व मूल बीउ भने गाउँपालिकाको प्रत्यक्ष निगरानी र लगानीमा किसानले लगाउने छन् । यो बीउका लागि किसानको छनोट, आलुको प्लटिङ, लगानी, निगरानी लगायतका काम गाउँपालिकाले नै गर्ने छ ।

गाउँपालिकाका अध्यक्ष राजु आचार्यले गाउँपालिकाले यस वर्ष रु २५ लाख लगानी गरेकोमा अर्को आर्थिक वर्षसम्ममा करिब रु डेढ करोड लगानी गर्ने बताउँछन् । यसवर्ष मूल बीउ एक हजार पाँच सय र उन्नत जातको १५ हजार बोरा बीउ उत्पादन गर्न आफूहरू सफल हुनुले बीउमा आत्मनिर्भर बन्न सकिएको उनको भनाइ छ । गाउँपालिकाले रैथाने तथा परम्परागत जातका आलुका बीउको संरक्षणको प्रयास गरेको भए पनि रैथाने जातको बीउमा विभिन्न समस्या देखिएपछि किसान उन्नत जातको बीउमा आकर्षित भएको उनले बताए ।

“यहाँका बनौँ लगायतका क्षेत्रमा फल्ने आलुको बीउ लिनका लागि कहाँ कहाँदेखि सर्वसाधारण आउँथे । तर आजभोलि ती रैथाने जातको आवश्यक परीक्षण नहुनु, एउटै जातको बीउ धेरै वर्षसम्म प्रयोग हुनु, कीरा र कमिलाको प्रकोप बढी हुने लगायतका समस्याका कारण लगानी अनुसारको उत्पादन हुन सकेको छैन’, अध्यक्ष आचार्य भने, “हामीले नै तयार पार्ने उन्नत जातको बीउ अब हामीलाई बढी हुन्छ । रैथाने जातका आलु स्वादका लागि मीठो भए पनि किसानलाई आत्मनिर्भर बनाउन नसक्दा किसानको रोजाइमा परेको छैन ।”

आलुको बीउ उत्पादनलाई गाउँपालिकाले प्राथमिकतामा राखेको अवस्थामा संघीय सरकारले सहयोगको आश्वासन दिए पनि सहयोग भने नआएको गाउँपालिकाले जनाएको छ । जलजला गाउँपालिकाका विभिन्न स्थानको मौसम र माटोको अवस्था अनुसार कृषि प्राविधिकले कात्तिक र मङ्सिरमा आलु लगाउँदा जनकदेव र खुमल उज्ज्वल जातको तथा पुस र माघमा आलु लगाउँदा जनकदेव र खुमल सेतो–१ लगाउन सुझाव दिएका छन् । जनकदेव जातको आलुलाई असिना र प्रकोपको रूपमा आउने डढुवाले पनि धेरै क्षति गर्न नसक्ने भएकाले किसानलाई फाइदा हुने प्राविधिकको सल्लाह छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ४ : ४१ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं