१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा



नवलपरासी । हुप्सेकोट गाउँपालिका-५ बागखोरकी २८ वर्षीया दिलमाया सोमै मगर झरी परेको दिन निदाउन सक्दिनन । दुई वर्षअघिको पहिरोसँगै आफू बस्दै आएको गाउँ नै भासिएपछि उनीसहित १८ घरपरिवार पूर्णरूपमा विस्थापित भएको त्रासदीपूर्ण दिनको सम्झाना अझै बल्झिरहेको छ ।

पहिरोपछि गाउँपालिकाले उद्धार गरेर विस्थापितलाई सुरक्षित स्थानमा राख्यो । तर अस्थायी शिविरमा आएपछि सुत्केरी भएकी दिलमायालाई आजभोलि तिनै विपद्का दिनसँगै सन्तान हुर्काउने चिन्ताले सताउने गरेको छ ।

“विस्थापित भएको दुई वर्ष भइसक्यो, दैनिकी कष्टपूर्ण बनेको छ”, उनले भनिन “यहीँ आएर सुत्केरी भए बच्चा पनि यहीँको भुइँमा हुर्किएर दुई वर्षको भइसक्यो । तर हाम्रो स्थायी बासको टुङ्गो लाग्न सकेन ।”

सोही स्थानका खेमबहादुर सोमै मगरले १३ रोपनी जग्गासहितको घर, खेतबारी अनि घाँस-दाउरा गरेका दिन सम्झना आइरहने बताए । “एकै रातको पानीले जमिन भासिने र पहिरो जाने भएपछि गाउँपालिकाले उद्धार गर्दा ज्यान त बाँच्यो अब कसरी बाँच्ने भन्ने चिन्ता रहेको छ”, उनले भने ।

प्राकृतिक विपत्तिले निम्त्याउने विविध समस्याको उच्च जोखिममा पर्ने हुँदा पहाडी र नदीतटीय क्षेत्रका बासिन्दालाई वर्षाको समयमा धेरै चिन्ताले सताउने गर्दछ । दुई वर्षदेखि अस्थायी टहरामा बस्दै आएका हुप्सेकोटका पहिरो प्रभावित भने सरकारले दिगो व्यवस्थापन गरिदिने प्रतिक्षामा छन् ।

विसं २०७८ असार २४ गते पहिरोले विस्थापित भएका घरपरिवारको यत्तिका समयसम्म पनि स्थायी बसोबासको टुङ्गो लाग्न सकेको छैन । पहिराका कारण पूर्णरूपमा विस्थापित भएपछि विद्यालय र सामुदायिक भवन हुँदै अहिले दुई कठ्ठाको सानो चौरभित्र १८ घरका बासिन्दा अटाइनअटाइ बसेका छन् । एकातिर दुर्गन्ध, अर्कातिर गाउँबासको चिन्ता, बालबालिकालाई हावापानी र सर्पको टोकाइबाट जोगाउनु चुनौतीमाथि चुनौतीको चांङ थोपरिएको यहाँका बासिन्दा वर्षात् र झरीमा झन् आत्तिने गरेका छन् ।

अहिले उनीहरू हुप्सेकोट–१ जुकेपानीको एउटा सानो चौरमा बस्दैआएका छन् । हुप्सेकोटले निर्माण गरिदिएको अस्थायी घरमा उनीहरू आश्रय लिइरहेका छन् । विस्थापित १८ घरपरिवारको दैनिकी अहिले ज्याला मजदुरी गरेर बितेको छ । ब्लक र टिन लगाइएको एक-एक कोठा र एउटा टेन्ट उनीहरूको बास काट्ने थलो भएको छ । बिहान-बेलुकाको छाक ज्याला मजदुरीकै भरमा काटे पनि यो बर्खा कसरी काट्ने चिन्ता उनीहरूमा छाएको छ । गत वर्ष पनि टेन्टकै भरमा खाली चौरमा जाडो काटेका उनीहरूलाई अहिले पनि टेन्ट सानो टहरो र खाली चौरमै काट्नुपर्ने बाध्यता छ ।

यो झरीमा खासगरी सुत्केरी महिला र ज्येष्ठ नागरिकको हेरचाहमा समस्या हुने गरेको तिलबहादुर सोमै मगरले बताए । “सानो एउटा कोठाभित्र आठदेखि १०-१२ जनाको परिवार बस्नुपर्ने बाध्यताले अहिले पिरोलिरहेको छ”, उनले भने “पहिरोपीडितको एउटै चाहना छ- कुनै एक ठाउँमा लगेर स्थायी बसोबासको व्यवस्था मिलाइदिए हुन्थ्यो ।”

उनीहरु बस्दै आएको गाउँमा प्रतिघर एकदेखि तीन बिघा जमिन थियो । अहिले ती जमिनमात्र खोसिएन बस्ने बास पनि खोसिएको छ । अरुको जग्गामा शरण लिएर बस्नुपरेको छ । पहिरोपीडितको एउटै स्वर छ- पहिराले विस्थापित भएपछि पुनः गाउँ फर्किएर जान सक्ने अवस्था छैन । विस्थापतिलाई अहिलेसम्म गाउँपालिकाले व्यवस्थापन गर्दै आएको छ । तर स्थायी व्यवस्थापनका लागि सङ्घीय र प्रदेश सरकारले पहल गर्नुपर्ने हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए ।

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  १० : ३३ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा