३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

पहिरोले पर्वत जलजलाका सात घर विस्थापित, बराहताल लेदोले पुरियो



पर्वत । जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पु¥याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।

असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म सात वटा घरपरिवार विस्थापित भएको जलजला–२ का निवर्तमान वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिए । “पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सात वटा परिवारले बस्दै आएको घर छाडेर अन्यत्र विस्थापित हुनुभएको छ” खत्रीले भने ।

उनका अनुसार नगेन्द्र कार्की, पदम कार्की, रवीन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबादुर कार्की गरी सात वटा घर जोखिममा छन् । दुई वटा परिवार काठमाडौं बस्न थालेपनि अहिले पाँच वटा परिवार बिचल्लीजस्तै अवस्था रहेको उनले जानकारी दिए । पाँच परिवार अहिले स्थानीय सामुदायिक भवन र आफन्तको घरमा शरण लिन बाध्य छन् । पहाड चिरा–चिरा परेर बसेका कारण पानी परेको समयमा त्यस क्षेत्रका बस्ती निकै खतरामा परेका छन् ।

कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको लेदोले आफ्नो मात्रै झण्डै ५० रोपनी बढी जमिन बगर बनेको पहिरोबाट विस्थापित पदम कार्कीले बताए । “पानी नपर्दाको समयमा आफ्नो घरमा खाना पकाएर खाए पनि रात बिताउन हामी नवजागरण महिला आमा समूहको सामुदायिक भवनमा जाने गरेका छौं”, उनले भने । पहिरोले गर्दा खेतबारीमा लगाएको मकै, सिमी, कोदो, धान नष्ट गरेको छ ।

“अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको छ”, पहिरोले पु¥याएको क्षति देखाउँदै कार्कीले भने, “अब के खाने, कहाँ गएर बस्ने ?” हालसम्म पहिरो रोक्न, विस्थापित भएकाको बासस्थानको उपयुक्त प्रबन्ध हुन नसकेको डम्बर खत्रीले गुनासो गरे ।

पहिरोकै कारण पूर्णगाउँमा रहेको बराहताल लेदोले पुरिएको छ । त्यहाँ रहेका कार्की र घर्तीका दुई मन्दिरमा क्षति पुगेको छ । त्यसैगरी मल्लाज हुँदै मालगाउँबाट म्याग्दीको नागीजाने सडक पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सडकको ठाउँठाउँमा ठूलाठूला खाडल बनेपछि उक्त सडकमा सवारीसाधन ठप्प भएको छ ।

जलजला गाउँपालिकाका निवर्तमान अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले मानवीय क्षति नभए पनि पहिरोले ठूलो भौतिक क्षति भएको बताए । उनले पहिरोले जलजलाको दुई वटा वडाको बस्तीलाई ठूलो क्षति पु¥याउने देखिएकाले दीर्घकालीन रुपमा बस्ती, खेतीयोग्य जमिन, बराह ताल, जिसी र कार्कीको कुल मन्दिर, दुई वटा वडाको ठूलो बस्ती जोगाउन गुरुयोजनाका साथ तीन वटै सरकार जुट्न आवश्यक देखिएको बताए ।

पहिरो नियन्त्रणका लागि भू–तथा जलाधार ब्यवस्थापन कार्यालय र पूर्वाधार विकास कार्यालयको स्टिमेटअनुसार प्रदेश सरकारले तत्काल केही बजेट विनियोजन गरेर संरक्षण तथा पहिरो नियन्त्रणको काम अगाडि बढ्ने पनि उहाँले जानकारी दिए ।

दुई कार्यालयका प्राविधिकसहितको टोलीले मङ्गलबार पहिरो र त्यसले पु¥याएको क्षतिको निरीक्षण गरेका थिए । भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेलले चर्किएको पहाडको डिललाई तत्काल व्यवस्थापन र संरक्षण गर्न सम्भव नरहेको बताए । उनले बाढीपहिरोबाट बस्ती, खेतीयोग्य जमिनमा थप क्षति हुन नदिन व्यक्तिको जग्गालाई मुआब्जा दिएर बाढी नियन्त्रण र संरक्षणको काम गर्नुपर्ने देखिएको पनि धारणा राखे ।

“कुवापानीको पहिरोलाई केही गर्न सकिँदैन, भूगर्वविद लिएर अध्ययन गर्नुपर्छ, एकसय मिटर चौडाइमा पहाड फाटेको छ, पानी पर्ने बित्तिकै जमिन बग्न थाल्छ”, उनले भने । “अहिले तत्कालका काम भनेकै विस्थापित भएकाको व्यवस्थापन, पहिरोबाट थप क्षति हुन नदिन संरक्षण, पुरिएको बराह तालको माटो फाल्ने र सडक स्तरोन्नति गर्ने नै हुन्”, पौडेलले भने ।

प्रकाशित मिति : १४ भदौ २०८०, बिहिबार  ३ : ५२ बजे

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने