२९ मंसिर २०८२, सोमबार | December 16, 2025

सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण


१९ भदौ २०८०, मंगलबार  

247
Shares

धादिङ । राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरुआत गरेको छ । अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालिएको हो ।

यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । “धादिङ जिल्लामा पृथ्वी राजमार्गले लामो क्षेत्र ओगटेको छ । दिनहुँजसो दुर्घटना भइरहन्छन् । चालककै लापरवाही र स्वास्थ्य अवस्थाका कारण दुर्घटना भएको पाइन्छ”, उनले भने, “धादिङ जिल्लाले थालेको यो अभियानमा सबै जिल्लाले सुरु गर्नसके राजमार्गमा हुने दुर्घटना कम गर्न सकिनेछ ।”

अभियानअन्तर्गत बेनिघाट रोराङ गाउँपालिकाको प्राविधिक सहयोगमा चालकको उच्च रक्तचाप, आँखाको भिजन परीक्षणलगायत मानसिक तथा शारीरिक थकानको जाँच गरिएको छ । पृथ्वी राजमार्ग हुँदै देशैभरका सवारीसाधन सङ्घीय राजधानी आवतजावत गर्ने भएकाले अन्य जिल्लालाई पनि सन्देश दिने उद्देश्यले पनि अभियानको थालनी गरिएको हो । “सबै जिल्लाबाट आवतजावत गर्ने सवारीसाधनका चालक सहचालकको धादिङ जिल्लाले मात्रै स्वास्थ्य परीक्षण गर्न सम्भव हुँदैन । सबै जिल्लाका लागि सन्देश दिन पनि यो अभियान थालिएको हो”, उनले भने ।

स्वास्थ्य परीक्षण गरिएका चालक तथा सहचालकमध्ये धेरैमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । उनले भने, “स्वास्थ्य समस्या भएकामध्ये अधिकांशमा उच्च रक्तचापको समस्या भेटियो । स्वास्थ्य समस्या देखिएका चालक सहचालकलाई आराम गराउँदै उपचार गरेर पठाएका छौँ । सवारीधनीलाई फोन गरेर जानकारी दिने र सचेत रहन सल्लाह पनि दिएका छौँ ।”

दुर्घटना न्यूनीकरणका उपायमध्ये चालकको स्वास्थ्य परीक्षण पनि एक भएका कारण स्वास्थ्य परीक्षण सुरु गरेको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले बताए। उनले भने,“चालकको सामान्य त्रुटिबाट पनि ठूलो जनधनको क्षति हुनसक्छ, हरेक दिनजसो हुने दुर्घटना न्यूनीकरण गरी जनधनको क्षति कम गर्न अभियानकै रूपमा चलाएको हो ।”

यो अभियानसँगै जिल्लामा रहेका प्रत्येक ट्राफिक युनिटले दैनिक एक–एकवटा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । कारबाही गर्ने, राजस्व सङ्कलन गर्नेमात्र नभई चालक, सहचालक, यात्रुको गनासो सुन्ने र तत्काल ट्राफिक प्रहरीबाट हुनसक्ने समस्या समाधान खोज्ने लक्ष्य लिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । “नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर विशेष कार्ययोजना बनाएका छौँ, धादिङ जिल्लामा २४सै घण्टा जाँच पर्ने गरी ठाउँ–ठाउँमा भिन्दाभिन्दै कार्यक्रम गरिरहेका छौँ”, उनले भने ।

चालक र यात्रुले भने सडकमै जाँच गर्नुको सट्टा काउन्टरबाट सवारी छुट्नुअघि जाँच गर्दा अझ प्रभावकारी हुने बताएका छन् । बाटोमै सवारी रोकिँदा यात्रुलाई गन्तव्यमा पुर्याउन ढिलाइ हुने भएकाले सवारी छुट्ने ठाउँ बसपार्कमै यस्ता जाँच गर्न चालक मनोज कुमालले आग्रह गरे । यात्रुले भने प्रहरीको यो अभियानको प्रशंसा गरेका छन् । दिनानुदिन भइरहेका दुर्घटना रोक्न चालकको स्वास्थ्य परीक्षणले सहयोग पुग्ने र यात्रा सुरक्षित रहने यात्रु लोक थापामगरले बताए ।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ९ : ३० बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको